६ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो हार व्यहोरेको छ । आर्मीलाई मधेश प्रदेशले ३ विकेटले हराएको हो ।
बलिङमा २ विकेट लिएका रुपेश सिंहले ब्याटिङमा क्यामिओ खेल्दै मधेशलाई जित दिलाए । आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
रुपेश २० बलमा ३८ रनमा अविजित रहे । १६९ रनमा ७ विकेट गएपछि रुपेशले निखिल सिंहसँग मिलेर साझेदारी बनाए । त्यसअघि कप्तान अनिल साहले ४५ रन बनाउँदा हरिशंकर साह र पवन सर्राफले समान ३७ रन बनाए ।
आर्मीका नरेन साउदले ३ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले २-२ विकेट लिए ।
त्यसअघि देउखुरीमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । भीम सार्कीले सर्वाधिक ८९ रन बनाए । पवन सर्राफको बलमा एलबीडब्लुमा फसेका उनी शतकबाट ११ रनले चुके ।
सन्तोष कार्कीले ३३ तथा कुशल मल्लले अविजित २४ रन बनाए । बिबेक यादवले १६, तृतराज दासले १४ तथा कप्तान विनोद भण्डारीले ११, बसिर अहमदले १० रन बनाए ।
मधेशका लागि कमल गुप्ताले १० ओभरमा २२ रन दिएर २ विकेट लिए । रुपेश सिंह र पवन सर्राफले २-२ तथा रन्जित कुमारले १ विकेट लिए ।
आर्मी यस प्रतियोगितामा ६ खेल खेल्दा आज पहिलो हार बेहोरेको छ भने मधेशले ५ खेलमा २ जित निकालेको छ ।
प्रतिक्रिया 4