+

अन्तर्राष्ट्रिय जगतमा चिनाउन देउखुरी क्रिकेट मैदान उपयुक्त : सचिव खड्का

२०८१ चैत  ६ गते १६:५९ २०८१ चैत ६ गते १६:५९
अन्तर्राष्ट्रिय जगतमा चिनाउन देउखुरी क्रिकेट मैदान उपयुक्त : सचिव खड्का

६ चैत, दाङ । नेपाल क्रिक्रेट संघका सचिव पारस खड्काले देउखुरीमा रहेको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने बताएका छन् । बुधवार लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पीएम कपको स्थलगत निरिक्षण गर्दै खड्काले यस्तो बताएका हुन् ।

नेपाल सरकारले नयाँ बजेटमार्फत् लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्न नेपाल क्रिक्रेट संघ (क्यान)को तर्फबाट गम्भीर ध्यानाकर्षण सहित सम्पूर्ण सहयोग रहने उनको भनाइ छ ।

उनले यस मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्न थप एकवर्ष निमार्ण कार्य अगाडि बढाउन नेपाल सरकारले बजेट विनियोजन गर्न आवश्यक रहेको बताए।  क्रिकेट प्रतियोगिताले पर्यटनलाई प्रवर्द्धन गर्ने र खेलकुद पूर्वाधार निर्माण व्यवस्थापन र प्रतियोगिता गराउन सहज हुने उनले बताए ।

‘देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियान अन्तर्गत फेरि नेपाल सरकारबाट बजेट मार्फत प्राथमिकता पाउन जरुरी देखिन्छ’ सचिव खड्काले भने, ‘यो मैदान प्रति नेपाल क्रिक्रेट संघ (क्यान) सकारात्मक रहेको छ । यो मैदानले नेपाल क्रिक्रेट संघको ध्यान तानेको छ र यसप्रति हामी गम्भीर छौं।’

‘अब यस मैदानलाई संघको मातहतमा लैजानु पर्छ । त्यसको लागि स्थानिय सरकार, लमही नगर विकास समिति सकारात्मक हुनुपर्छ । क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो नेपाल क्रिक्रेट संघले देखाएको छ । (क्यान)को मातहतमा आइसकेपछि मैदानभित्रको खेलकुद पूर्वाधारको संरक्षण र संवर्द्धन संघले गर्नेछ’ उनले थपे ।

खड्काले देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउनका लागि देउखुरी क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान उपयुक्त भएको बताए । उनले खेलकुदको महत्वबारे बताउँदै, असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकूदको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । ‘जति बढी खेलाडी उत्पादन गर्न सक्यौं त्यति नै मात्रामा अनुशासित र असल नागरिक उत्पादन हुने कारणले गर्दा खेलकूदको महत्वलाई सबैले बुझ्नुपर्छ’ उनले भनेका छन् ।

सचिव खड्काद्धारा क्रिकेट मैदानको निरीक्षण

क्यानका सचिव पारस खड्काले लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्थलगत अवलोकन तथा निरिक्षण पनि गरेका थिए । खड्काले मैदानसहित मैदान परिसरमा निर्माण भएका भौतिक संरचना सहित क्रिकेट मैदान पुगेर पिच, आउट फिल्ड लगायतको स्थलगत अवलोकन तथा निरिक्षण गरेका थिए ।

उनले पछिल्लो समय लुम्बिनी प्रदेशभित्र क्रिकेटको क्रेज बढ्दै जान थालेको प्रति खुसी व्यक्त गर्दै क्रिकेट खेलका कारणले गर्दा पनि नयाँ खेलाडीहरुको समेत क्रेज बढ्न थालेको बताए ।

नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ्, सचिव कैलाश रोका, जिल्ला क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैंयाको अगुवाइमा सुरु भएको क्रिकेट खेल अहिले निकै अगाडि बढेकोमा पारसले खुसी व्यक्त गरे ।

सो क्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय मैदान क्रिकेट खेलकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

नगर प्रमुख चौधरी र सचिव खड्काबीच शिष्टाचार भेटघाट

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले नेपाल क्रिक्रेट संघ (क्यान)का सचिव पारस खड्कासँग शिष्टाचार भेटघाट गरेका छन् । लमहीमा जारी पीएम कप स्थलगत अवलोकन तथा निरिक्षण गर्न आएका सचिव खड्कासँग चौधरीले भेट गरेका हुन् ।

भेटघाटको क्रममा सचिव खड्काले देउखुरी क्षेत्रमा रहेको मैदानको विषयमा निकै चिन्तित रहेको बताएका थिए । सो क्रममा उनले यस मैदानको संरक्षणमा पहिलो प्रथामिकता स्थानिय सरकारको रहेको भन्दै, नेपाल क्रिक्रेट संघ (क्यान)ले नेपाल सरकार समक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

‘देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियकरण मैदान बनाए अन्य जिल्लामा वैकल्पिक मैदान बनाउन सकिन्छ’ सचिव खड्काले भनेका छन्,नेपाल क्रिक्रेट संघ (क्यान)को मातहतमा आउने भएपछि मैदानको पूर्वाधारको संरक्षण र सम्बद्र्धन गर्दै स्तरोन्नति गर्ने संघले उतिकै चासो पनि दिन्छ।’

यस्तै लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सबै प्रक्रिया पुर्‍याएर नेपाल क्रिक्रेट संघ (क्यान)को जिम्मेवारीमा सुम्पिने बताएका छन् । उनले अब चाँडै नै क्यानको मातहतबाट मैदान सञ्चालन हुने बताए ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान पारस खड्का
लेखक
शिवु खनाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय