
काठमाडौं । थ्रीलर फिल्म ‘११ः५५ -डु नट ट्रस्ट एनिवन’ रिलिज तयारीमा छ । ‘कास्ट एण्ड क्रू’ प्रचारप्रसारमा ब्यस्त छन् । यसक्रममा आयोजित पत्रकार सम्मेलनमा कलाकारले आफ्नो भूमिकाबारे मिडियासँग विमर्श गरेका छन् ।
अभिनेत्री सृष्टि श्रेष्ठले आफूले प्रत्येक फिल्ममा भिन्न रोल गर्दै आएको बताइन् । यो फिल्ममा उनी विवाहित महिलाको भूमिकामा देखिएकी छन् । थ्रीलर आफ्नो मनपर्ने विधा भएकाले आफू यो फिल्म गर्न तयार रहेको उनले बताइन् । मध्यरातको ११ः५५ बजेतिर हुने घटनाको कथा वरपर फिल्म घुम्ने उनले बताइन् ।
‘आजसम्म मैले एकै खालको क्यारेक्टर गरिरहेको थिएँ । मेरा लागि यो फिल्मको क्यारेक्टर पनि भिन्न थियो । यसको मनोवैज्ञानिक संरचना पनि हेर्दा भिन्न थियो । त्यही भएर काम गर्न तयार भएँ’ उनले भनिन् ।
अर्की अभिनेत्री करिष्मा श्रेष्ठले फिल्ममा आफू ‘ग्रे’ चरित्रमा देखिएको बताइन् । ‘मैले यसअघि यस्तो क्यारेक्टर कहिल्यै गरेको थिइँन । यस्तो क्यारेक्टर गर्छु भनेर सोचेको पनि थिइन । त्यो क्यारेक्टर निर्वाह गर्न चुनौति भयो’ भन्छिन्, ‘मलाई चुनौति मनपर्छ । मेरो क्यारेक्टर दर्शकमाझ नोटिस हुन्छ भन्नेमा विश्वस्त छु ।’
प्रत्येक १५ मिनेटमा कथामा आउने घुम्तीले दर्शकमा उत्सुकता जगाउने उनको दाबी छ । अभिनेता महेश त्रिपाठी पनि फिल्मलाई लिएर उत्साहित सुनिए । ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’मा निर्वाह गरेका चरित्रबाट निकै प्रशंसा पाएका त्रिपाठीको लागि ‘११ः५५’ पनि विशेष हुनेछ ।
क्राइम थ्रीलरको कथावस्तुमा कमै फिल्म बन्ने भएकाले पनि आफू तयार रहेको उनले बताए । ‘यसमा मुख्य र सहायक भूमिका भन्ने नै छैन’ उनी भन्छन्, ‘सबै कलाकार मुख्य भूमिकामा भएकाले काम गर्न मजा आयो ।’
यो फिल्मबाट सागर खनालले डेब्यु गरेका छन् । पहिलो फिल्मको दबाब आफूले नलिएको उनले बताए । ‘मैले आजको दिनसम्म आउन निकै संघर्ष गरेको छु । यो कुराको लागि अलिकति रेडी पनि थिए । डेब्यु तयारीको लागि समय पनि लिएँ’ उनले भने, ‘पढ्नुपर्छ, बुझ्नुपर्छ भनेर पहिले नै थाहा पाएर तयारी गरेर आएकाले प्रेसर नलिएको हुँ ।’
विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा बनेको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ । कार्यकारी निर्माता अग्रज हुन् ।
प्रतिक्रिया 4