
काठमाडौं । अभिनेत्री सरिता गिरी जीवन्त अभिनयका लागि परिचित छन् । भूमिकामा प्राण भर्ने कार्यमा उनको खास दक्षता हुने गर्छ । प्रदर्शन तयारीमा रहेको विपिन कार्की स्टारर ‘कर्मा’ अभिनेत्री गिरीको लागि यस्तै खास छ ।
यो फिल्ममा उनले अभिनेता कार्कीको आमाको भूमिकामा अभिनय गरेकी छन् । आयोजित पत्रकार सम्मेलनमा गिरीले आमाको रोल भन्ने वित्तिकै दर्शकमा जुन छाप परेको छ, त्यसलाई ‘कर्मा’ले मटाइदिने दाबी गरिन् ।
‘आमा चरित्रको ट्यागलाइनलाई यो फिल्मले मेटाउनेमा ढुक्क छु’ संचारकर्मीसँगको प्रश्नोत्तरमा उनी सुनिइन्, ‘आमाको चरित्र भन्ने वित्तिकै फिल्ममा दर्शकको बुझाइ त्यस्तै हुन्छ । यो भाष्यलाई कर्माले बदल्नेछ’ ।
निर्देशक सौरभ चौधरीले आफूलाई यो भूमिकामा प्रस्ताव गर्दा प्रभावित भएको उनले बताइन् । ‘सौरभजीले मलाई आमा होइन क्यारेक्टर चाहियो भनेर अफर गर्दा म इम्प्रेस भएँ’ उनले भनिन् ।
यसअघि धेरै फिल्ममा आमाको रोलमा अभिनय गरेपनि ‘कर्मा’मा चित्रण भिन्न रहेको उनले बताइन् । ‘मैले काम गर्न मन पराउने आमाको भूमिका पनि त्यस्तै छ’ उनी सुनिइन् ।
‘मैले अहिलेसम्म आमाको चरित्र धेरै गरेँ होला । तर, कर्मामा आमाको चरित्र मात्रै छैन’ भन्छिन्, ‘यसमा आमासँग धेरै कुरा छ । अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो चलचित्र रिलिज भएपछि हट्नेछ ।’
सरिताले पछिल्लोपटक ‘बसेनजी’मा अभिनय गरेकी थिइन् जुन सन् २०२३ मा रिलिज भएको थियो । उनी बधशाला, लप्पन छप्पन २, ऐंचोपैंचो, नीरफूल, रेड मनसुन, माछा माछा फिल्ममा शक्तिशाली भूमिकाका लागि परिचित छिन् । यसबाहेक उनले दर्जनौं नाटकमा अभिनय गरेकी छन् ।
‘कर्मा’मा उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव पन्त, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको पनि अभिनय छ । फिल्म नयाँवर्ष २०८२ को छेकोमा २९ चैतमा प्रदर्शन हुने अपेक्षा छ ।
यो फिल्म अभिनेता कार्कीको एक्सन फिल्ममा पुनरागमन फिल्म हो । यसअघि उनले एक्सन फिल्म ‘नाका’मा अभिनय गरेका थिए । ‘कर्मा’लाई आर्टिस्टिक इनटरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालले निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4