यदि श्वास-प्रश्वासमा समस्या भयो, खोकी बारम्बार लाग्यो, छाती कसिलो भयो भने चिकित्सकले पहिला गर्ने परीक्षण हो, पल्मोनरी फंक्शन टेस्ट (पीएफटी)
के हो त यो पीएफटी परीक्षण विधि ? किन गरिन्छ ?
यो एउटा यस्तो प्रविधि हो, जसले फोक्सोले काम कस्तो गरिरहेको छ भनेर जाँच गरिन्छ । फोक्सोमा भएका समस्यादेखि फाेक्साेकाे समग्र स्वास्थ्यबारे यसले जानकारी दिन्छ । त्यसाे त फोक्सोले बाह्य वातावरणबाट हावाको रुपमा श्वास लिने र
छोड्ने काम गर्छ । यसै क्रममा शरीरलाई चाहिने अक्सिजन पनि ग्रहण गर्छ । पल्मोनरी फंक्शन टेस्टले हावा कति मात्रामा फोक्सोमा (रगतमा अक्सिजन पुर्याउन) पुगेको छ भनेर पनि पत्ता लगाउँछ ।
यो परीक्षणलाई पनि निम्न प्रकारमा वर्गीकरण गरिएको छ ।
पल्मोनरी फंक्शन टेस्टका प्रकार
स्पाइरोमेट्री
– यसले तपाईंले कति श्वास लिन र फाल्न सक्नुहुन्छ भन्ने मापन गर्छ।
-फोक्सोभित्र कति हावा रहन्छ भन्ने पनि अनुमान गर्छ।
फोक्सोको भोल्युम वा बडी प्लेथिस्मोग्राफी
– यसले फोक्सोमा विभिन्न अवस्थामा कति हावा रहन्छ भनेर मापन गर्छ।
– श्वास लिँदा र फाल्दा फोक्सोभित्रको हावाको मात्रा कति हुन्छ भनेर निर्धारण गर्छ।
ग्याँस डिफ्युजन अध्ययन
यसले फोक्सोबाट रगतमा अक्सिजन र अन्य ग्यासँहरू प्रवाह भएको मापन गर्छ ।
कार्डियोपल्मोनरी व्यायाम परीक्षण
यस परीक्षणले व्यायाम वा शारीरिक क्रियाकलाप गर्दा मुटु, फोक्सो र मांसपेशीहरू कसरी काम गर्छन् भनेर जाँच गर्छ । यी परीक्षणहरू फोक्सोको स्वास्थ्य मूल्यांकन गर्न, फोक्सोसम्बन्धी रोगहरू पत्ता लगाउन र उपचार प्रभावकारिता जाँच गर्न प्रयोग गरिन्छ । यी मध्ये स्पाइरोमेट्री परीक्षण सबैभन्दा बढी प्रयोग गरिन्छ ।
कस्तो बेलामा यी परीक्षण हुन्छन् ?
-खोकी लगातार लाग्नुसँगै खकार पनि जमेमा वा खोकी लागेसँगै खकार पनि आएमा ।
-छाती कसिलो, दुख्ने र चाप बढ्ने भएमा।
-श्वास फेर्न कठिन हुने वा छिटो-छिटो श्वास फेर्ने भएमा ।
– गहिरो श्वास लिँदा दुखेको वा असहज अनुभव हुँदा ।
– स्याँ स्याँ आइरहेमा ।
-कुनै समस्या नभए पनि नियमित परीक्षणका क्रममा यो परीक्षण गरी फोक्सोको अवस्था हेरिन्छ ।
यस बाहेक सास फेर्न समस्या भइरहेको छ तर कसरी भन्ने पत्ता नलागेको अवस्थामा पीएफटी गरिन्छ । श्वास–प्रश्वास तथा फोक्सो सम्बन्धी रोग लागेपछि उपचार गराइरहेको व्यक्ति फलोअपमा आउँदा पनि पीएफटी गरिन्छ । फोक्सोको क्षमतामा कत्तिको सुधार भइरहेको छ भनेर हेर्न यो जाँच गरिन्छ ।
धूम्रपान गर्ने मान्छे ४५ वर्षमाथिको छ र उसको अप्रेसन गर्नुपर्ने अवस्था आयो भने अप्रेसन गर्नुअघि त्यो व्यक्तिको पीएफटी गर्ने गरिन्छ ।
यो परीक्षणले श्वासनली साँघुरिएको पहिल्याउन, फोक्सोमा वायु प्रदूषणको प्रभाव हेर्न, धूम्रपान गर्नेको फोक्सोको अवस्था हेर्न र दीर्घ फोक्सो रोगबारे जानकारी दिन पनि मद्दत गर्छ।
अनिवार्य कति बेला ?
-दमको पहिचान
-क्रोनिक अब्सट्रक्टिभ फलमोनरी डिजीज (सीओपीडी), दीर्घ दम
-श्वासनलीको मांसपेशी खुम्चिँदा
कसले यो परीक्षण गर्छ ?
यो परीक्षण छाती तथा फोक्सो रोग विशेषज्ञ र श्वासप्रश्वास सम्बन्धी तालिम प्राप्त थेरापिस्टले गर्छन् ।
पीएफटी परीक्षणले कसरी काम गर्छ ?
यो परीक्षण हेर्दा असहज लागे पनि गर्न निकै सहज छ । यस परीक्षणका लागि एउटा विशेष उपकरणमा सास फेर्न लगाएर फोक्सोको हावाको मात्रा र दबाबलाई मापन गर्न मद्दत गर्छ। परीक्षणका क्रममा तपाईंको नाकलाई नरम क्लिपले बन्द गरिन्छ ताकि सास पूर्णरूपमा मुखबाट मात्रै आउन–जाउन सकोस्। एक विशेष नलीलाई मुखमा राखेर त्यसबाट श्वास तान्ने र फाल्ने गर्नुपर्ने हुन्छ।
परीक्षण अघि
-सासप्रश्वास सम्बन्धी औषधि खाइरहेको भए बन्द गर्नुपर्छ ।
-चुरोट पिउन हुँदैन ।
-सहज हुने खुकुलो लुगा लगाउनुपर्छ ।
-परीक्षणअघि भारी खानेकुरा वा क्याफिनयुक्त खानेकुरा खान हुँदैन ।
-भारी कसरत गर्न हुँदैन । यति गरेमा सही नतिजा आउँछ ।
परीक्षण गर्दा
-स्पाइरोमेट्री परीक्षण हो भने पहिले नाकमा नरम क्लिपहरू लगाइदिइनेछ । यी क्लिपहरूले मुखबाट सास फेर्न सुनिश्चित गर्छ ।
-स्पाइरोमिटरसँग जडान गरिएको सानो टुप्पोमा ओठ राख्नुपर्छ । त्यसपछि स्वास्थ्यकर्मीले श्वास भित्र लिन र बाहिर फाल्ने गर्न निर्देशन दिनेछन्।
-तपाईंले गहिरो श्वास भित्र तान्न र बाहिर फाल्नुपर्ने हुनसक्छ। कहिलेकाहीँ गहिरो श्वास तानेर सकेसम्म छिटो र बलपूर्वक बाहिर फाल्नुपर्ने हुनसक्छ।
बडी प्लेथिस्मोग्राफी गर्दा नाकमा क्लिप लगाइदिएर पारदर्शी बक्समा बस्न लगाइनेछ। त्यसपछि स्वास्थ्यकर्मीले ढोका बन्द गर्नेछन्। ढोका करिब पाँच मिनेटसम्म बन्द रहनेछ। यदि साँघुरो ठाउँहरूमा बस्न गाह्रो (क्लस्ट्रोफोबिया) लाग्छ भने, स्वास्थ्यकर्मीलाई भन्नुहोस्। चिकित्सकले सहज महसुस गराउन मद्दत गर्न सक्छन् ।
यसमा पनि सास भित्र लिन र बाहिर फाल्ने निर्देशन दिनेछन्। सास फेर्ने क्रममा स्पाइरोमिटरले बक्सभित्रको दबाब वा भोल्युम परिवर्तन मापन गर्छ, जसले फोक्सोको मात्रा पत्ता लगाउँछ।
ग्यास डिफ्युजन अध्ययनमा स्वास्थ्यकर्मीले नाकमा क्लिप लगाइदिनेछन्। चिकित्सकले सानो मात्रामा सुरक्षित कार्बन मोनोअक्साइड ग्यास सासमा लिन र बाहिर फाल्न निर्देशन दिनेछन्। स्पाइरोमिटरले बाहिर फालेको कार्बन मोनोअक्साइडको मात्रालाई मापन गर्छ, जसले फोक्सोले सो ग्यास कति मात्रामा अवशोषण गर्यो भन्ने जानकारी दिन्छ।
कार्डियोपल्मोनरी व्यायाम परीक्षण
स्वास्थ्यकर्मीले केही उपकरणहरू जडान गर्नेछन्, जसले मुटुको धड्कन, रक्तचाप, र रगतको अक्सिजन स्तर मापन गर्नेछन्।
यसमा ट्रेडमिलमा हिँड्नुहुनेछ वा स्थिर साइकल चलाउन लगाएर मुटु, फोक्सो, र मांसपेशीको कार्यक्षमता मापन गर्नेछन्।
कति समय लाग्छ?
यो परीक्षण पूरा गर्न १५ देखि ४५ मिनेटसम्म लाग्न सक्छ। यदि परीक्षणका क्रममा थकान महसुस भएमा स्वास्थ्यकर्मीलाई जानकारी दिएमा आराम गर्दै गर्न लगाइन्छ ।
के फोक्सो परीक्षण पीडादायी हुन्छ?
होइन, यो परीक्षणमा कुनै किसिमको अप्ठयारो र पीडा हुँदैन।
परीक्षणपछि
परीक्षणपछि रोकिएको कुनै पनि औषधि पुनः सुरु गर्न स्वास्थ्यकर्मीले अनुमति दिनेछन् । आफ्नो नियमित गतिविधिहरू जस्तै, व्यायाम गर्न सकिन्छ । यदि परीक्षणका क्रममा टाउको भारी भयो वा चक्कर आयो भने स्वास्थ्यकर्मीले तबसम्म निगरानी गर्नेछन् जबसम्म सामान्य महसुस हुँदैन । परीक्षणको नतिजा कहिलेसम्म आउँछ भन्ने जानकारी स्वास्थ्यकर्मीले त्यही बेला दिन्छन् ।
जोखिमहरू के हुनसक्छन् ?
यो परीक्षण सुरक्षित छ। तर, गहिरो सास फेर्दा वा जोडले फाल्दा चक्कर आउन सक्छ, टाउको हल्का लाग्नसक्छ वा थकान महसुस हुनसक्छ। यी लक्षणहरू परीक्षणपछि केही समयमै हराउने गर्छन्। कहिलेकाहीँ परीक्षणका क्रममा खोकी लाग्न सक्छ वा व्यायाम गर्दा थकान महसुस हुनसक्छ।
एकदमै दुर्लभ अवस्थामा मुटुको धड्कन बढाउन सक्छ । त्यसैले यदि तपाईंलाई भर्खरै मुटुको आघात भएको हो वा कुनै मुटुसम्बन्धी समस्या छ भने पहिला नै स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्छ ।
-डा.कलम थापा, छाती तथा फोक्सो रोग विशेषज्ञ
प्रतिक्रिया 4