
६ चैत, काठमाडौं । जातीय विभेदकै कारण थर ढाँटेर काम गर्न बाध्य भएको घरेलु श्रमिक महिलाले गुनासो गरेका छन् । सोमबार काठमाडौंमा आयोजित ‘दलित घरेलु श्रमिक महिला सबाल’ विषयक छलफल कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
भेदभावकै कारण देशको राजधानीमा समेत आफूहरुले जात, थर ढाँटेरै काम गर्न वाध्य भएको महिलाहरुले बताए ।
घरेलु श्रमिक मञ्चले आयोजना गरेको यस कार्यक्रममा बोल्दै घरेलु श्रमिक नारायणी पुर्कोटीले आफ्नो जात, थर भनेर आत्मसम्मानपूर्वक काम गर्ने वातावरण नभएको सुनाइन् । जातीय भेदभावलाई कानुन नै बनाएर दुरुत्साहन गरे पनि गाउँघरमा मात्र नभई शहरमा समेत भेदभाव कायमै रहेको उनको भनाइ छ ।
उनले भनिन् ‘महिला÷पुरुषले गर्ने समान कामका लागि समान ज्याला, सामाजिक सुरक्षाकोषसँग जोड्ने, सरकारले तोकेको न्युनतम तलब पाउने कुरा त टाढाको कुरा हो’ पुर्कोटीले भनिन्, ‘जातका कारण अपमानित हुनुपर्ने पिरलो बोकेर श्रम गर्न बाध्य छौँ ।’
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले समाजमा अझै पनि अभ्यासमा रहेको जातीय भेदभावको व्यवहार निक्कै निन्दनीय कार्य भएको बताए । त्यसविरुद्ध उजुरी दिएर आफ्नो हकको लडाईं लड्न उनले सुझाव दिए ।
अखिल नेपाल महिला सङ्घकी महासचिव पेम्बा शेर्पाले नेपाली समाजमा व्याप्त यसका खालका परम्परा अन्त्य गर्न लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।
एक्टीभ डोमेस्टीक वर्कर कन्सलटेन्सीका संस्थापक प्रशान्त डंगोलले दलित घरेलु महिला श्रमिकले समाजमा दोहोरो मात्र नभई, तेहेरो समस्या झेल्न बाध्य भइरहेको बताए ।
नेपालमा श्रमको सम्मान गर्ने सँस्कृति बसाल्ने अभियानमा काम गर्दा दलित भएकै आधारमा घरेलु श्रमिकले दुःख र विभेद खेप्नुपरेको यथार्थ घटनासँग आफू हरेक दिन जस्तै जुध्नु परेको उनले जानकारी दिए ।
डंगोलले स्थानीय तहले घरेलु श्रमिकको लागत राखी उनीहरुको सम्मान र समाजिक सुरक्षामा ध्यान दिनुपर्ने बताए । यसमा बूढानीलकण्ठ नगरपालिकाले राम्रो काम गरेको भन्दै उनले उदाहरण प्रस्तुत गरे ।
प्रतिक्रिया 4