
६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्राकृतिक रूपमा जन्मिएको यो सरकार धेरै अगाडि जान नसक्ने बताएका छन् ।
केही दिनदेखि स्थगित ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’को क्रममा बाराको सिमरामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यो सरकार चल्न नसक्ने र टिक्न पनि नसक्ने बताएका हुन् ।
‘सबै राम्रो काम हुँदै गर्दा दलाल र बिचौलियाहरुले अनेक षड्यन्त्र गरेर मेरो नेतृत्वको सरकार ढाले र यो सरकार बनाए । तर, त्यो टिक्ने र चल्ने वाला छैन,’ उनले भने, ‘अप्राकृतिक तरिकाले जन्मेको सरकार भएकाले धेरै अगाडि जाने वाला छैन । यसले राष्ट्र र जनताको पक्षमा काम गर्न पनि सक्दैन ।’
एमाले–कांग्रेसबीचको गठबन्धनबाट बनेको वर्तमान सरकारको जन्म नै भ्रष्टाचारीलाई बचाउन भएको भन्दै प्रचण्डले जनताले बुझिसकेकाले पनि सरकार लामो समय नजाने बताए ।
‘प्रचण्ड सरकारले भ्रष्टाचारी सबैलाई सखाप पार्ने भयो । आफ्ना सबै वरिपरिका दाताहरूलाई सिध्याउने भयो भनेपछि उनीहरूको रक्षाका लागि आत्तिएर यो सरकार बनेको हो, त्यसैले यो सरकार लामो जाने सम्भावना छैन,’ उनले भने ।
उनले आफू नेतृत्वको पछिल्लो सरकारले जनपक्षीय काम गरेको दावी पनि गरे । ‘पछिल्लोपटक सरकारको नेतृत्व गर्दा मैले भ्रष्टाचारविरुद्ध अहिलेसम्मकै ठूलो अभियान छेडेको थिएँ । सामाजिक न्यायको पक्षमा काम थालेको थिएँ । लाखौं युवा नागरिकताविहीन थिए, मिटरब्याजपीडितका समस्या समाधान गर्न पनि काम गर्दै थियौं । विदेश जाने र देशभित्र पनि काम गर्ने श्रमिकको लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रयास सार्थक बन्दै थियो । सरकार ढालियो,’ उनले भने ।
प्रतिक्रिया 4