
६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो मानिने पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत १० गते हुने भएको छ ।
आगामी आइतबार (चैत १०) गते बिहान ८ बजेदेखि निर्वाचन हुनेगरी समय तय गरिएको क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले जानकारी दिए ।
अखिल छैटौंको चुनाव चिह्न विबना मतपत्र छापिएपछि विवाद भएको थियो । सोही विवादका कारण रोकिएको मतदान आगामी आइतबार हुने भएको हो ।
समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौंको चुनाव चिह्न थिएन । मतपत्रमा चुनाव चिह्न छुटाएर निर्वाचन समितिले चुनाव प्रभावित पार्न खोजेको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाएका थिए ।
९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव जित्दै आएको छ । यसपटक संगठनहरु विरासत जोगाउने र भत्काउने रणनीतिमा छन् ।
पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीहरुले साथ दिएका छन् ।
प्रतिक्रिया 4