+
+
Shares

संवेदनशील हुनसक्छ लवजमाथिको टिप्पणी

कलाकारमाथि हुनसक्ने कुनै पनि हिंसा रोक्नु त समाजको पहिलो दायित्व हो। यद्यपि, हामीले एकतर्फी रूपमा कटाक्ष गरेर मात्र हुँदैन, अरूको खुट्टामा उभिएर पनि हेर्न सक्नुपर्छ।

अभिषेक सुवेदी अभिषेक सुवेदी
२०८१ चैत ९ गते २०:२०

दृष्टान्त एक : कक्षा ७/८ पढ्दाको कुरा हो, शाक्य थरको अन्तर्मुखी स्वभावको मिल्ने साथी थियो। कक्षाकार्य, खानपिन, खेलकुदमा हामी सधैं सँगै हुन्थ्यौं। स्कूलभित्रका कुनै पनि कार्यमा हामी एकअर्काको सहयात्री थियौं।

तथापि; क्षेत्री, मगर, बाहुन, लामा विभिन्न समुदायका हामी साथी उसको बोलीलाई लिएर जिस्क्याउने गर्थ्यौं। वरपर त्यसै भइरहेको देखेको र रमाइलो गरी लिएको मजाकले उसलाई पछिसम्म एउटा लघुताभाषमा धकेल्न सक्नेछ भन्ने कुराको बोध १२/१३ वर्षका हामीलाई भएन।

त्यसताका उसमा गीत गाउने, कविता लेखेर वाचन गर्ने प्रतिभा थियो भने हाम्रै कारण ऊ कक्षाको स्टेजसम्म पुग्न हच्किएको पनि हुनसक्थ्यो। मनमा धेरै गुनासो थियो होला। तर तमाम साथीका अगाडि आफू समस्याका रूपमा नदेखिन उसले प्रतिवाद गरेन। शायद यस्तै हो भनेर अभ्यस्त भइसकेको थियो।

आजभोलि सतहमा आएका नेवा लवज सम्बन्धका विभिन्न प्रकरणमा हुने पक्ष-विपक्षका कमेन्ट पढ्दा उसले स्कूल जीवनमा हामीसँगै भोगेका क्षण सम्झिँदो हो। वर्षौंदेखि भेट नभएको उसँग भेट हुनपुगेछ भने अब कसरी क्षमा माग्ने होला भन्ने बेलाबखत सोच आउँछ।

दृष्टान्त दुई : कक्षा चारका विद्यार्थीलाई पढाउने क्रममा एक दिन श्रेष्ठ थरको विद्यार्थीले नेपाली (खस नेपाली) शब्द उच्चारण गर्दा उसको मातृभाषाको लवज आयो। अगाडि-पछाडि बेञ्चका साथीहरू हाँस्न थाले। मैले यसरी उच्चारण गर्नू भनें। उसले तत्कालै ‘सर, मेरो मदर टङ नेवारी हो नि त। त्यसैले यस्तो सुनिन्छ’ भन्यो।

आफू शिक्षकलाई प्रतिरोधको भाषामा विद्यार्थीले जवाफ फर्काएकोमा सुरुमा त थोरै चस्को पस्यो। तर विस्तारै आफ्नो टोनबारे हुने टिप्पणी सुन्दासुन्दा ऊ आफैं बलियो हुनुपर्छ भन्ने अवस्थामा पुगेछ भन्ने लाग्यो। साथै अरूले दोस्रो भाषा बोल्दा हुने उच्चारणको त्रुटिलाई निर्देशनात्मक शैलीमा होइन समानुभूतिकै शैलीमा सिकाउनुपर्ने रहेछ भन्ने महसुस भयो।

पछिल्लो समय एक जना गायकको लवजलाई लिएर गरिएको एक कलाकारको प्रस्तुति हेर्ने सम्बन्धमा सामाजिक सञ्जाल धेरै हदसम्म ध्रुवीकृत भएको छ। कानूनी रूपमा मुद्दा दर्तादेखि कलाकारलाई आक्रमणकै डर पैदा हुनेसम्मको स्थिति बन्यो। केही वर्षअघि अर्का एक कलाकारका केसमा पनि यस्तै भएको थियो। कमेडियनमाथि खरो उत्रिएको आरोपमा एउटा सिंगै समुदायमाथि असामाजिक तथा साम्प्रदायिक भएको आरोप समेत लाग्यो।

समाजको विविध पक्षबारे हामी संवेदनशील भएनौं भने भविष्यमा पनि यस्ता घटना दोहोरिनेछन्। हामीले गर्दै आएका र रमाउने गरेका अधिकांश कमेडी नै एउटा पक्षलाई होच्याउने, खिसीटिउरी गर्ने विषयवस्तुमा आधारित हुने गर्छन्।

सिनेमामा सानो कदका, अपाङ्गता भएका, बोल्दा मातृभाषाको लवज आउने मधेशी तथा नेवा समुदायलाई हाँसोको पात्रका रूपमा हेर्दै आएका हामी आज पनि कालो वर्णका व्यक्तिदेखि सार्वजनिक सवारीका सहचालकसम्मलाई होच्याएका प्रस्तुति हेर्न अभ्यस्त छौं। बहुविवाह तथा डिभोर्समा संलग्न कलाकारको तिनकै अघि मजाक बनाउँदै गर्दा त्यो तिनका सन्तानले पनि हेर्छन् भन्नेमा हामी सचेत छैनौं।
घरबेटीलाई खलनायक बनाएर हामीले काफी किस्सा लेखेका छौं र स्टेज प्रस्तुति दिएका छौं। कताकता नजानिंदो पाराले त्यसले नेवा समुदायका व्यक्तिलाई समस्याका रूपमा देखाएको हुनसक्छ।

पछिल्लो पुस्तामा त डार्क ह्युमर र डार्क कमेडीका नाममा जुनसुकै स्तरको अपमानलाई पनि इन्डोर्स गर्ने प्रवृत्ति बढेको दु:खद् अवस्था छ।

गाउँ र शहरका मानिस बीचको फरक भनेर सिर्जना गरिएका साहित्यमा तोकेरै निश्चित समुदायमाथि नलेखे पनि शहरका सबै कुरा नकारात्मक रूपमा प्रस्तुत गरिंदा उपत्यकावासी नेवारको मनमा केही त खल्लो पर्छ नि!

उचित मुआब्जा नदिई गरिएका सार्वजनिक बाटो विस्तारदेखि गुठी विधेयकसम्मले नेवा समुदाय राज्यबाट त्रसित रहँदै आएको छ। राज्यबाट निरन्तर रूपमा भाषिक उत्पीडन समेत भोगेको आक्रोश फेरि पनि यसरी कला, साहित्य, अभिनयका नाममा भाषा, लवजमाथि प्रहार हुँदा कुनै न कुनै रूपमा अभिव्यक्त हुन पुग्छ।

कलाकारमाथि हुनसक्ने कुनै पनि हिंसा रोक्नु त समाजको पहिलो दायित्व हो। यद्यपि, हामीले एकतर्फी रूपमा कटाक्ष गरेर मात्र हुँदैन, अरूको खुट्टामा उभिएर पनि हेर्न सक्नुपर्छ। हामीलाई खिसीटिउरी प्रेरित अभिनयबाट यति बानी परिसकेको छ कि, कसैको शारीरिक स्वरूप, वर्गीय धरातलदेखि बोल्ने शैलीमाथि मजाक बनाउनु आज अति सामान्य भइसकेको छ।

नेताको बोल्ने शैलीलाई मजाक बनाएकोमा प्रश्न गरिंदा उनीहरूको कामको अक्षमता जोडेर जस्टिफाई गर्न खोज्छौं। दुई फरक समुदायलाई लिएर गरिने टिप्पणीलाई पनि एउटै डालोमा हालेर कसैलाई फराकिलो हृदयको र कसैलाई असहिष्णुका रूपमा व्याख्या गरेका छौं।

सकभर कोही कसैलाई उसको जातिगत विशेषता जोडेर नाम लिने, गिज्याउने अभ्यास ठिक होइन। तथापि, स्कूलमा शिक्षा लिंदादेखि लोकसेवा आयोगको परीक्षासम्म विल्कुल अर्को भाषामा प्रवेश गर्न बाध्य समुदायको पीडा आफ्नै चस्माले हेर्दा बुझिंदैन।

विभिन्न क्षेत्रमा राज्यबाट संरचनात्मक उत्पीडन भोगेको र मानव विकास सूचकांकमा अगाडि भए पनि भाषिक, सांस्कृतिक रूपमा सीमान्तकृत रहेको समुदाय अनि तिनै क्षेत्रमा काफी प्रिभिलेज्ड रहेको समुदायमाथि हुने मजाक, टिप्पणीको चोट र त्यसप्रतिको प्रतिक्रिया स्वाभाविक रूपमा समान हुँदैन।

यद्यपि स्वभाव, प्रवृत्ति व्यक्तिमा भरपर्ने हुनाले समुदाय लक्षित टिप्पणी कहिल्यै पनि सही हुँदैन। बरु हाम्रा केही उखान यति जातिद्वेषी छन् कि तिनले व्यक्तिसँगका भोगाइलाई पूरै समुदायप्रतिको दृष्टिकोण निर्माणमा कग्निटिभ वायसलाई बल पुर्‍याउन भूमिका खेल्छन्।

वाक्यपिच्छे सजग हुँदै बोल्नुपर्ने अवस्थाको कठिनाइ बेग्लै छ। भाषिक लवजमाथिको अपमानलाई मजाकका रूपमा लिने हाम्रो प्रवृत्तिकै कारण कला-साहित्य-संगीतमा कति प्रतिभा अघि आउन हच्किए होलान्। प्राविधिक क्षेत्रमा असाधारण प्रतिनिधित्व भएको र उल्लेख्य जनसङ्ख्या भएको मधेशी समुदायको नेपाल आइडल र द भोइस अफ नेपाल जस्ता रियालिटी शोमा न्यून उपस्थिति हुनुमा पनि मूलतः यस्तै कारण जिम्मेवार हुन सक्छन्।

पछिल्लो पुस्तामा त डार्क ह्युमर र डार्क कमेडीका नाममा जुनसुकै स्तरको अपमानलाई पनि इन्डोर्स गर्ने प्रवृत्ति बढेको दु:खद् अवस्था छ।

गाउँको पानीको स्वादै मिठो भनेर हामी एकछिनको सम्झनामा आनन्दित हुन्छौं। शासन-सत्ताको फेरबदलसँगै स्वायत्तता गुमेपछि विस्तारै नासिंदै गएका हिती(हिटी)को भग्नावशेष देख्दा यहाँका उपत्यकावासीलाई कस्तो हुँदो हो।

काठमाडौं आगमनपछि वर्षौं विताएर हामीले पीपलको चौतारी मिस गरेका कविता लेख्दै गर्दा यहाँका दशकौं पुराना फल्चा लोप हुँदै थिए। यस्तो उराठलाग्दो परिवेशमा भर्खरै उपत्यका प्रवेश गर्न थालेका मित्रहरूले आफ्नो थातथलोमा सयौं वर्षदेखि बोल्दै आइरहेको भाषा र लवजलाई गिज्याउँदा मन कति कुँडिदो हो।

भनिन्छ, आफूले भोगे जस्तो अपमानको शिकार सन्तान हुनु नपरोस् भनेर धेरै नेवा समुदायका बाबुआमाले बालबच्चालाई मातृभाषा नै नसिकाई सिधै नेपाली सिकाउन थालेका छन्। यस्तोमा हामी थोरै पनि संवेदनशीलता नअपनाई जोकलाई जोककै रूपमा बुझ भन्छौं भने त्यो वास्तवमै असह्य हुन्छ।
मधेशी पात्रको लवजलाई लिएर त कति कार्यक्रम बनिरहेकै छन्, उनीहरूले यसरी मुद्दा हाल्दैनन् त भन्दै जस्टिफाई गर्न खोजिएको देखिन्छ। व्यक्ति, समुदाय प्रतिरोधमा उत्रिने आफू बलियो भएसँगै हो। मधेश आन्दोलन हुनुमा यस्ता कारण पनि पक्कै जिम्मेवार छन्।

व्यक्तिसँगका तिता भोगाइलाई सिंगो समुदायसँग जोड्ने उखान, विम्बहरूको प्रयोग गर्न छोडौं। कलाकारले पनि क्षणिक मनोरञ्जनका लागि समाजमा हुँदैआएका पोलिटिकल्ली इनकरेक्ट कन्टेन्टलाई वैधानिकता दिने प्रस्तुति होइन थप जिम्मेवार र इन्क्लुजिभ बन्दै आफ्ना सिर्जना पस्किने गरौं।

हामीमा हुने गरेका अन्तरजातीय विवाह र सांस्कृतिक अन्तरक्रियाले त यस्ता विकृति रोक्न मद्दत पुर्‍याइरहेकै छन्। अब सबैले बोल्दा, अरूमाथि टिप्पणी गर्दा विचार पुर्‍याउने गरौं र सन्तानलाई त्यसै अनुसार प्रशिक्षित गरौं ताकि यस्ता प्रकरण आगामी दिनमा दोहोरिनु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?