
७ चैत, बुटवल । नेपालबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका छनोट भएको नागरिक सहभागितामा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डको अनलाइन भोटिङ खुला भएको छ ।
स्पेनको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले १९औं संस्करणको ओआईडिपी अवार्डका लागि मागेको आवेदनमा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ मध्ये उत्कृष्ट ४० बीच अनलाइन भोटिङ खुला गरेको हो ।
उक्त अवार्डमा रुपन्देहीको तिलोत्तमा नगरपालिका फाइनल प्रतिस्पर्धाका लागि यसअघि नै छनोट भएको छ ।
अब ४० आवेदकबीच मार्च २८ सम्म हुने अनलाइनमार्फत हुने खुला भोटिङको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४औं ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड वितरण गरिने छ ।
नगरवासीको वृहत सहभागितामा हरेक महिनाको १ गते र १५ गते नगर सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानलाई २०७४ सालदेखि ८ वर्षसम्म निरन्तर सञ्चालन गरेकाले तिलोत्तमा नगरपालिकाका यो अवार्डको फाइनलमा पुग्न सफल भएको नगरप्रमुख रामकृष्ण खांणले बताए । नेपालको मात्र नभई सार्क राष्ट्रहरुमध्येबाट तिलोत्तमा मात्रै अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकाले अब विजेता बनाई नेपालको नाम संसारभर थप चिनाउन विश्वभर रहेका नेपालीलाई अनलाइन भोटिङ गरिदिन नगरप्रमुख खांण र उपप्रमुख जगेश्वरदेवी चौधरीले अपील गरेका छन् ।
‘विश्वभर पारिस्थितिक प्रणाली र वातारणको विषय ज्वलन्त समस्या बनेको छ, हामीले वृहत जनसहभागितामा हरियाली प्रवद्र्धन र नगर ससरफाईमा नमूना काम गरेका छौं,यसलाई नेपालभर र विश्वभर चिनाउन, देखाउन यो अवार्डले ठूलो भूमिका खेल्नेछ’–खांणले भने ।
उपप्रमुख चौधरीले तिलोत्तमाले ८ वर्षसम्म निरन्तर जारी राखेको जनसहभागितामा आधारित नगर सरसफाई र हरियाली प्रवद्र्धन अभियानकै कारण खुला पोलिथिनमुक्त वातावरणमैत्री नगर भएकोले यो उपलब्धीलाई थप उचाईमा पुराउन ओआईडीपी अवार्डमा नेपाल र विश्वभरका नेपालीबाट अनलाइन भोटको सहयोग आवश्यक रहेको बताइन् ।
नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले ओआइडिपीले विभिन्न पाँच विधामा अनलाइन भोटिङ गर्नुपर्ने नियम बनाएकाले एउटा मात्र विधामा भोट दिंदा रद्द हुने बताए । तिलोत्तमालाई पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा मत दिन सकिने उनले बताए ।
ओआइडिपीको वेबसाइटमै गएर इमेल खाता सिर्जना गरी मत दिन सकिने उनले बताए ।
तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाई तथा हरियाली प्रवर्द्धन अभियान आठौं वर्षमा निरन्तर चलाउँदै आएको छ । उक्त अभियानको १४० औं श्रृंखला सम्पन्न भएको छ ।
प्रतिक्रिया 4