+
+
Shares
पुस्तक समीक्षा :

नेपथ्य : वियोग र संयोगको यात्रा वृत्तान्त

‘नेपथ्य, लोकप्रिय यात्राको अन्तरङ्ग’ पढिरहँदा नेपथ्य कताकता एउटा संगीतको पाठशाला जस्तो लाग्छ।

प्रशान्त लामिछाने प्रशान्त लामिछाने
२०८१ चैत ७ गते १०:०८

छेक्यो छेक्यो देउराली डाँडा

हुस्सु र कुहिरोले

छोडेन कहिल्यै जहाँ गए पनि

मायाको धुइरोले…

नेपथ्यको यो गीत म सानै हुँदा सुनेको थिएँ। मेरा लागि यस गीतसँग जोडिएको एउटा प्रसंग छ। जहिले पनि यो गीत बजिरहँदा मेरो त्यो बालपना याद आउँछ।

कुरा के भने, मेरो गाउँ पर्वतको ज्ञादी, अझ ठ्याक्कै हाम्रो घर नजिकै एउटा सानो डाँडा छ, देउराली। ‘क्यासेट’मा रेडियोमा यो गीत सुनिरहँदा आफ्नो गाउँको डाँडाको नाम आएको भ्रम पछिसम्मै मेरो दिमागमा परिरह्यो। गीतमा गायकले देउराली डाँडा भनिरहँदा म हर्षले पुलकित हुन्थेँ। अर्थात्, गीतको देउराली डाँडासँग म आफ्नै गाउँको देउराली जोड्न खोज्थेँ।

सायद नेपथ्यका गीतमा यसरी नै स्थानीयताहरु झल्किरहे। त्यो आज पर्यन्त जारी छ। मेरो त्यो बेलाको बालमनोविज्ञानमा नेपथ्यले पारेको स्थानीयताको प्रभाव थियो होला सायद। फिल्म, गीत वा समग्र साहित्यमा आफ्नो पन भेट्टाउँदा रोचक बनिदिन्छ। नेपथ्यले त्यो विशेषता बोकेको छ। यो गीतका रचनाकार सुक गुरुङ त बितेर जानुभयो। भेट भयो भने अमृत गुरुङलाई सोध्न मन छ, त्यो कहाँको देउराली डाँडा हो ? जसले मलाई नेपथ्यका गीतको पारखी बनायो।

९० को दशकका ब्यान्डका गीतमा मेरो रुचि हुनुमा अर्को प्रसंग पनि छ। हाम्रो विद्यालयमा प्रत्येक महिनाको अन्तिम शुक्रबार हाजिरीजवाफ प्रतियोगिता हुन्थ्यो। हाजिरीजवाफमा प्रश्न बनाउने एक ऊर्जावान युवा शिक्षक हुनुहुन्थ्यो आशोक केसी। सायद अशोक सरको गीत-संगीतमा लगाव थियो। यसैले उहाँले हरेक पटक एउटा प्रश्न समावेश गर्नुहुन्थ्यो, …यो गीत कुन ब्यान्डको हो, यसका गायक को हुन् ? यस्तै यस्तै।

हाजिरीजवाफ प्रतियोगताको उत्तर मिलाउनकै लागि भए पनि म रेडियोका सांगीतिक कार्यक्रम छुटाउँदिनथेँ। यसैको प्रभावले होला आज पर्यन्त गीत सुन्दा म रचनाकार, संगीतकारको नामसमेत हेर्ने गर्छु।

अहो! म अलिकति पुराना दिनमा बहकिएछु। लेख्नु थियो, सांगीतिक ब्यान्ड ‘नेपथ्य’ को भर्खरै प्रकाशित बायोग्राफीबारे। गिरीश गिरी लिखित यो पुस्तक नेपालयले प्रकाशन गरेको हो। जुन किताबमा यस ब्यान्डको स्थापनाकालदेखि हालसम्मका आरोह-अवरोहहरु गिरीले समेट्ने प्रयास गरेका छन्।

गिरीका ‘नेपथ्य, लोकप्रिय यात्राको अन्तरङ्ग’ सहित तीन किताब प्रकाशित छन्। उनले यसअघिका आफ्ना दुई किताबमा भन्दा यसको लेखनमा नयाँ प्रयोगको प्रयास गरेका छन्। लेखनको परम्परागत ढाँचाभन्दा केही पृथक शैली लेखकले यसमा अपनाउन खोजेको देखिन्छ।

नेपथ्यको बायोग्राफी पढिरहँदा कतै गिरीले ‘कथा बाचन’ गरे जस्तो लाग्छ भने कतै नियात्रा पढेजस्तो। कहिलेकाहीँ ब्यान्डका गायक अमृत गुरुङले आफ्ना कथाको न्यारेसन गरिरहेको जस्तो। ९० को दशकमा देशभर संगीतको उभार चलिरहेको थियो। अझ भनौँ, पप संगीतको।

यसैको प्रभावमा पोखरेली युवाहरु अमृत गुरुङ, भीम पुन र दीपकजंग राणा पनि परिरहेका थिए, त्यसैमा त्यो बेलाको पोखरा। पोखरामा समय यस्तो पनि थियो, हरेक टोलमा आफ्नै ब्यान्ड बनाउन युवाहरु लागिपर्थे। यसै पनि गण्डक क्षेत्र गीत-संगीतका भाकाहरुमा अगाडि छ। यही छेकोमा लाहुरेहरुबाट पाश्चात्य गीत-संगीत र फेसन पनि यहाँ छिट्टै भित्रियो। बेलायत, हङकङ, सिंगापुरबाट फर्कनेहरुले पैसा कमाएर मात्र ल्याएनन् गीत-संगीत र साहित्य पनि भित्र्याए।

सायद यस्तै यस्तै प्रभाव त्यतिबेलाको पोखरामा परिरहेको थियो। उसबेलाका पोखरेली ब्यान्डका गीत आज पनि उत्तिकै लोकप्रिय छन्।

यही छेकोमा नेपथ्य पनि जन्मेको थियो। सुरुवात जस्तो भए पनि कालान्तरमा यसले आफ्नो गायनमा एउटा मौलिकता बनायो। आफूलाई लोक शैलीमा ढाल्यो। गाउँगाउँबाट भाका टिपेर ल्यायो।

किताबमा नेपथ्यले गाउँका पुराना भाका खोज्न कति मिहिनेत गरेको छ भन्ने प्रसंगहरु समेटिएका छन्। गीतको रचनागर्भले पनि किताब रोचक बनेको छ। त्यसमध्येकै प्रसंग हो, अमृत गरुङको संखुवासभा यात्रा। जुन यात्रामा ढिल्ले दमाई भेट हुन्छन्। त्यो भेटले नेपथ्यका लागि चर्चित गीत जन्माइदियो-

कोशीको पानी यो जिन्दगानी

सललल जाइजाने हौ हजुर

आमाको कोखमा बास मात्र लिएँ नि

कुन देशको मरण हौ हजुर…

डिल्ले दमाईले अमृतलाई सुनाएको यो हाक्पारे मात्र होइन, ब्यान्डका अरु गीतका कथाहरु किताबमा समेटिएका छन्। यसरी किताब पढिरहँदा घरिघरि संगीतको सोधपत्र जस्तो पनि लाग्छ।

नेपथ्यको यात्रा सरल रेखामा छैन। पटकपटक ब्यान्डको अस्तित्व नै सकिन लागेका नमिठा प्रसंगहरु यहाँ छन्। जापान होस् वा हङकङका पीडादायी यात्राहरुले नेपथ्यसँगै पाठकलाई पनि दु:खी बनाउँछ।

जापान, हङकङ पुगेका ब्यान्डका सदस्यहरु उतै बसिदिनु, आयोजकका मानिस बोकेर जापान गएका कुराहरु इमानदारीपूर्वक किताबमा समेट्नु महत्वपूर्ण पक्ष हो।

ब्यान्डले कहिले आफ्ना साथीहरुबाट धोका खाएको छ त कहिले आफ्नै सफलताले थिचेको छ। यस्ता यावत् प्रसंग गिरीश गिरीले किताबमा समेटेका छन्।

एउटा ब्यान्डको यात्रा पनि मानिसको जीवन जस्तै हुनेरहेछ। मानिस होस् वा संस्था, व्यवस्थापन कमजोर भयो भने जति नै क्षमता भए पनि त्यसले अप्ठ्यारो ब्यहोरिरहनुपर्छ। नेपथ्यको जीवनमा पनि त्यस्तो पटकपटक भएको किताब पढिरहँदा थाहा हुन्छ। त्यस्ता कयौँ घटनाले अमृतलाई करिब-करिब संगीतबाट अलग्याउन खोज्छ। असहजताले अमृत फोटोग्राफी र डकुमुनेट्री मेकिङमा लाग्न पुग्छन्। तर उनका साथी साथै व्याण्डका संस्थापक दिपकजंग हरेक अप्ठ्यारोमा आइपुग्छन्।

नेपथ्यको यात्रा सरल रेखामा छैन। पटकपटक ब्यान्डको अस्तित्व नै सकिन लागेका नमिठा प्रसंगहरु यहाँ छन्। जापान होस् वा हङकङका पीडादायी यात्राहरुले नेपथ्यसँगै पाठकलाई पनि दु:खी बनाउँछ।

दीपकको बारेमा भने किताब प्राय:मौन छ। अमृतलाई अप्ठ्यारो परेको बेला साथ दिन मात्रै दीपक आउने/हुने वा ब्यान्डमा उनको अरु भूमिका पनि थियो भन्नेबारे पाठक निरुत्तर हुन पुग्छन्।

दीपक जस्तै अर्का संस्थापक भीम पुनले जर्मनीबाट फर्केपछि एउटा गीतमा कोरस दिएका छन्। अमृतले पुनलाई हङकङ फोन गरेर फेरि कन्सर्टका लागि आउने कि भन्दै आग्रह गरेका प्रसंग पनि समेटिएको छ।

किताब पढिरहँदा लेखकले ब्यान्डका अमृतबाहेक अन्य संस्थापक र पूर्व सदस्यहरुसँगबाट सूचना नलिएको हो कि भन्ने पर्न जान्छ।

कताकता लेखक ब्यान्डका प्रमुख गायक अमृत गुरुङमा बढी केन्द्रित भएका हुन् कि भन्ने स्वभाविक प्रश्न उठ्छ। किताब पढिरहँदा कतिपय अवस्थामा अमृतको बायोग्राफी हो या ब्यान्डको भन्ने प्रश्न नउठ्ने होइन, तर सरल तरिकाबाट लेखकले किताबलाई ब्यान्डसँगै जोड्ने प्रयास गरिरहन्छन्।

‘शान्तिको लागि शिक्षा’, ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानका उद्देश्यहरुबारे खुलेर लेखिएको छ किताबमा। यी अभियानले नेपथ्यलाई फेरि बौरिन ठूलै मद्दत गरेको देखिन्छ।

हङकङ र जापान नेपथ्यका लागि बियोगान्त छ। यहाँ पुग्दा नेपथ्यले वियोग बेहोरेको छ। आयोजकबाट सास्ती पाएको छ। तेस्रो वियोग पनि हङकङमा नै भएको छ। यसको कनेक्सन नेपालयसँग जोडिन्छ। जसै अमृत गुरुङले ब्यान्ड व्यवस्थापनको जिम्मा नेपालयलाई दिए, त्यसपछि भने सहजता आएको किताबले बोलेको छ। तर नेपालयसँगको सहकार्यका सुरुका दिनमा ब्यान्डकै सदस्यहरुको असन्तुष्टि देखिन्छ। बेमेलका कारण नरेश र रत्न जस्ता हस्तीले ब्यान्ड नै छोड्न पुग्छन्।

किताब पढिरहँदा अरुण थापाका कठिन र अन्तिम दिनहरु कारुणिक लाग्छन्।

कन्सर्ट आयोजकहरूबाट कलाकारले पाउने दु:ख नौला होइनन्। तर अमृतले ती दु:ख र दु:ख दिनेहरुबारे खुलेर बोलेका छन्। गीत गाउन जानकै लागि ‘डन’हरुका धम्कीदेखि टिकटका लागि दादाहरुका बलजफ्तीसम्मले पुराना दिनहरु ताजा हुन्छन्।

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैँटेका धम्की हुन् वा पोखरामा मारिएका पुरा ‘डन’ टंकेले टिकट फ्रिमा नपाउँदा गरेको लफडा पढिरहँदा संगीत क्षत्रेमा समेत डनगिरीले कति सास्ती पाएको रहेछ भन्ने पाटो खुल्छ।

जापान, बुटवल, सिक्किममा आयोजकबाटै पाएका दु:खका शृङखलाहरुले संगीतप्रति केही मानिसको विकृत चेतनाको ऐना देखाउँछ।

अम्बर गरुङदेखि ईश्वर गुरुङसम्म गीतबारे अमृतले राखेका अडानले उनको स्वाभिमान झल्काउँछ।

किताब पढिरहँदा नेपथ्य कताकता एउटा संगीतको पाठशाला जस्तो पनि लाग्छ। एउटा रोमाञ्चकतामा ब्यान्डको स्थापना हुन्छ, स्थापनाका समय जसका सदस्यसँग पर्याप्त संगीतको ज्ञान थिएन। यसै कारण उनीहरु हार मान्नेवाला पनि छैनन्। निरन्तर प्रयास नै नेपथ्यको जीवनमा देखिन्छ। सिकेर गरेकोभन्दा पनि गर्दै सिक्दै र सुधार्दै यसको जीवन अगाडि बढेको किताबले बताउँछ।

लेखक
प्रशान्त लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?