
७ चैत, काठमाडौं । लेखक जीवा लामिछानेको नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण गरिएको छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा बुधबार आयोजित एक विशेष समारोहमा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतबीच पुस्तकका विषयमा विशेष अन्तर्संवादसमेत गरियो ।
लेखक बस्नेतले पुस्तकले अन्टार्कटिकाको सौन्दर्य, अनुसन्धान र वातावरणीय सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । ‘यो पुस्तक सीधा यात्रा संस्मरण होइन, रहस्यमय स्थानको रोचक शिल्प पनि हो,’ उनले भने, ‘यसको सरलता, भाषिक मिठास र उत्कृष्ट संयोजनले जोकसैलाई मोहनी लगाउँछ ।’
लामिछानेका यसअघि प्रकाशित कृतिभन्दा यो फरक शैलीमा लेखिएको पनि बस्नेतले जनाए । ‘यसमा लेखकले लेखनमा फरक शैली अपनाउनुभएको छ,’ उनले भने, ‘संस्मरणमा नयाँ प्रयोग गरेर पुस्तकको थप ओज बढाउनुभएको छ ।’ चिसो स्थानका कथा भए पनि यसले लेखनको न्यानोपन आभास गराउने बस्नेतको भनाइ छ ।
हिउँको साम्राज्य अन्टार्कटिका जानुअघि नै आफूले लेख्छु भनेर गएको र यात्राकै क्रममा २५ हजार शब्द लेखिसकेको लेखक जीवा लामिछानेले बताए । ‘म अन्टार्कटिका लेख्ने तयारीसाथ गएको थिएँ,’ उनले भने, ‘फर्किएर आएपछि केही स्रोतसामग्री अध्ययन गरें । र पुस्तक लेखनलाई तीव्रता दिइहालें ।’ त्यसैले पनि एक वर्ष हाराहारीको समयमा पुस्तक ल्याउन सम्भव भएको लामिछानेले जनाए ।
‘अक्षत अन्टार्कटिका’मा लेखकले सन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राका अनुभवहरू साझा गरेका छन् ।
उनका अनुसार, अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा–वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् ।
मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछाने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष हुन् ।
संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका लामिछानेका यसअघि ‘सरसर्ती संसार’ र ‘देश देशावर’ नियात्रासङ्ग्रह प्रकाशित छन् । ‘अक्षत अन्टार्कटिका’ उनको तेस्रो कृति हो ।
प्रतिक्रिया 4