
७ चैत, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलाममा शैक्षिक पूर्वाधारको प्राथमिकता, आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तारको माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा उनले भविष्यका पुस्ताहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्न, सरकारको ठोस योजना र लगानी अपरिहार्य रहेको जिकिर गरे ।
‘हाम्रो भविष्यका पुस्ताहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्न, सरकारको ठोस योजना र लगानी अपरिहार्य छ,’ नेम्वाङले भने ।
सांसद नेम्वाङको गृहजिल्ला समेत रहेको इलामको साक्षरता दर ८३.६ प्रतिशत रहेको भए पनि ग्रामीण क्षेत्रहरूका विद्यालयहरूमा उचित कक्षाकोठा, पुस्तकालय, र आधुनिक प्रविधिको अभाव रहेको बताए ।
‘इलामलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न म सरकार समक्ष इलाममा शैक्षिक पूर्वाधारको प्राथमिकता, आधुनिक पाठ्यक्रम सुधार, र उच्च शिक्षाको पहुँच विस्तारका लागि माग गर्न चाहन्छु,’ सांसद नेम्वाङले भने ।
उनले आजबाट सुरु भएको एसईई परीक्षाको सफलताका लागि विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4