
१९९० सालबाट सुरु भएको तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) को रूपमा आज (चैत ७) बाट सुरु भएको छ ।
परीक्षामा नेपालभरिका ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यीमध्ये २ लाख ५७ हजार ७३० छात्रा र २ लाख ५६ हजार ३११ छात्र तथा ३० अन्य परीक्षार्थी रहेका छन् ।
एसईईमा ३५ प्रतिशत नम्बर नल्याउने विद्यार्थी फेल हुनेछन् वा उनीहरूको एनजी (एनजी) आउनेछ। न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने हुन्छ। नयाँ लेटर ग्रेडिङ निर्देशिकाअनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको छ।
यसो त, नेपालभरिका सबै विद्यालयमा सबै कक्षाहरूको अन्तिम परीक्षा सुरु भएको छ वा हुँदैछ। निर्दिष्ट मूल्यांकन प्रणालीअनुसार कक्षा ३ सम्म सम्पूर्ण रूपमा आन्तरिक मूल्यांकन गर्ने, कक्षा ४ देखि कक्षा ८ सम्म आन्तरिक र बाह्य मूल्याङ्कन ५०-५० प्रतिशत तथा कक्षा ९/१० मा आन्तरिक २५ प्रतिशत र बाह्य ७५ प्रतिशत गरी मूल्यांकन गर्नुपर्ने निर्दिष्ट गरिएको छ।
विद्यार्थीको सिकाइ र बुझाइको मापन गर्न, उपलब्धि देखाउन, लक्ष्य प्राप्तिमा सहयोग गर्नका लागि परीक्षा लिने गरिन्छ। हरेक विद्यार्थीको एउटै लक्ष्य हुन्छ कि परीक्षा कसरी पास गर्ने, कसरी राम्रो अंक ल्याउने। यही कुरामा जोड दिन्छन्, अभिभावक र शिक्षकले पनि।
हाम्रो परिवेशमा परीक्षाका बेला बालबालिकाहरूमा एक प्रकारको मानसिक तनाव सिर्जना हुन्छ। अझ फरक विद्यालयमा गएर परीक्षा दिने कुराले धेरैजसो बालबालिकामा मनोवैज्ञानिक त्रास उत्पन्न हुने गर्छ। यो मूलत: हाम्रो परीक्षा प्रणालीको कारणले हो। परीक्षा आयो भनेर शिक्षक, अभिभावक तथा आफन्तले तनाव दिइरहेको समेत भेटिन्छ। परीक्षामा फेल कि पास हुने भन्ने दबाब आम बालबालिका, अभिभावक, शिक्षक र विद्यालय परिवार सबैमा छ ।
बालबालिकालाई जीवनमा हालसम्म (करिब १२ वर्ष) धेरै परीक्षामा सहभागी भएको र आगामी दिनमा थुप्रै कठिन परीक्षा दिनुपर्ने कुराको बोध गराउन जरूरी छ। उनीहरूलाई तनावमुक्त गराएर परीक्षा हाउगुजी होइन, बरु सिकाइको मूल्यांकन हो भन्ने कुरा स्पष्ट बनाउन सकेमा उनीहरूले सफलता प्राप्त गर्न सक्छन्।
परीक्षा भनेको त आफूले सिकेका कुराहरू प्रश्न-उत्तरको शैलीमा व्यक्त गर्ने माध्यम हो। परीक्षा डर र त्रास सिर्जनाका निम्ति निर्माण गरिएको कुरा होइन । यो त निरन्तर सिकाइ र अनुभवका लागि निर्माण गरिएको विषय हो । फेल र पास गर्ने/बनाउने त हाम्रो परीक्षा प्रणाली अर्थात् शिक्षा प्रणाली हो ।
आजैबाट एसईई परीक्षा चलिरहेको अवस्थामा परीक्षार्थीले के–कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा केही कुरा राख्न चाहन्छु ।
परीक्षार्थीले ध्यान दिनुपर्ने विषय
- पर्याप्त पानी पिउने तथा आलश्यर कब्जियतबाट बच्न जंकफुडबाट टाढा रहने ।
- पढ्दै गर्दा समय–समयमा ब्रेक लिने, शरीरलाई सक्रिय र गतिशील बनाउने तथा गीत सुन्ने।
- सम्भव भएसम्म साथीसँग बसेर पढ्ने तथा पढेको कुरासेयर गर्ने ।
- परीक्षा तयारी गर्दा सकेसम्म लेखेर, सूची तयार पारेर वा चित्र (डायग्राम) बनाएर पढ्ने।
- परीक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री (कलम, ज्यामिति बक्स, स्केल लगायत) को उचित व्यवस्थापन गर्ने।
- परीक्षालाई सामान्य रूपमा लिने वा परीक्षासँग नडराउने, परीक्षाबारे अनावश्यक तनाव नलिने।
- पहिलो दिन आधा घण्टा अगाडि र अरू दिन कम्तीमा १५ मिनेट अगाडि परीक्षा केन्द्रमा पुग्ने।
- कहिलेकाहीँघरबाट परीक्षा केन्द्र जाँदै गर्दा प्रवेशपत्र बिर्सिएर घर फर्कंदा हतार र तनावमा दुर्घटना हुनसक्ने वा मानसिक दबाब हुने भएकोले परीक्षा केन्द्रमा पुगेर अभिभावक वा विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्ने ।
- परीक्षा हलमा मुस्कानसहित निरीक्षकलाई नमस्कार वा कुनै अभिवादसहित प्रवेश गर्ने।
- उत्तरपुस्तिकामा सिम्बोल नम्बर (अंक र अक्षरमा), मिति, विषय, परीक्षा केन्द्र लगायत आवश्यक विवरण स्पष्टसँग लेख्ने।
- प्रश्नपत्र राम्रोसँग पढ्ने र सुरुमा आफूलाई सजिलो लाग्ने प्रश्नको उत्तर लेख्ने।
- मर्यादित रशालिन ढंगले परीक्षामा सहभागी हुने तथा नबुझेका प्रश्नहरू निर्धक्कसँग निरीक्षकसँग सोध्ने ।
- सबै प्रश्नको उत्तर लेख्न कोसिसगर्ने अर्थात् सकेसम्म कुनै पनि प्रश्न नछोड्ने ।
- उत्तर लेख्ने क्रममा कुनै प्रश्नको उत्तर अस्पष्ट भएमा विषय शिक्षकले कक्षामा पढाउँदै गरेको सम्झने र उत्तर लेख्ने कोसिस गर्ने।
प्रतिक्रिया 4