+
+
Shares
स्ववियु निर्वाचन २०८१ :

स्वतन्त्रको छलाङ, उत्साहित क्रान्तिकारी, निराश अनेरास्ववियु

चैत ५ गते भएको स्ववियु निर्वाचन अन्तर्गत ३८ आंगिक क्याम्पसको नतिजामा नेविसंघ पहिलो भएको छ । अनेरास्ववियु दोस्रो र अखिल क्रान्तिकारी तेस्रो स्थानमा छन् । यसपटक स्वतन्त्र उम्मेदवारहरुले शानदार इन्ट्री गरेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८१ चैत ७ गते १३:३६

७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनाव अन्तर्गत आंगिक क्याम्पसमा कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो भएको छ । ५ चैतमा भएको चुनावमा ३८ आंगिक क्याम्पसको नतिजामा नेविसंघले सबैभन्दा धेरै स्थानमा जितेर पहिलो भएको हो ।

३६ क्याम्पसको गणना सकिदा नेविसंघ १४ वटा क्याम्पसको अध्यक्षमा विजयी भएको छ । दोस्रो स्थानमा रहेको एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)ले १० वटा क्याम्पसमा जित हात पारेको छ ।

माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) ७ क्याम्पसमा विजयी हुँदा ४ वटा क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

एउटा क्याम्पसमा जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियनले जित हात पारेको छ ।

दुई वटा क्याम्पसको नतिजा आउन बाँकी छ । बाँकी दुबैमा अनेरास्ववियुका उम्मेदवार विजयी भए पनि नेविसंघलाई भेट्न सक्दैन र अखिल क्रान्तिकारीले सबै जिते पनि अनेरास्ववियुलाई भेट्न सक्दैन ।

ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्जमा मत गणना जारी छ । वीरगन्ज नर्सिङ क्याम्पसमा मतगणना रोकिएको छ । आचारसंहितामा विवाद हुँदा गणना रोकिएको हो । क्याम्पसका अनुसार सहमतिको प्रयास भइरहेको छ ।

त्रिविका ६२ वटा आंगिक क्याम्पसमा चुनाव हुनुपर्ने हो । तर क्याम्पसमा संगठनहरूको आन्तरिक विवादका कारण चुनाव हुन सकेको छैन । त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कतिवटा क्याम्पसमा चुनाव भयो र कतिमा नतिजा आयो यसको यकिन विवरण आएको छैन ।

आंगिक क्याम्पसका ३८ मध्ये ३६ को नतिजाको आधारमा अगाडि रहेको नेविसंघ उत्साहित छ । ‘यो नतिजाबाट सन्तुष्ट र उत्साहित भएका छौं । अझ योभन्दा राम्रो नतिजाको आंकलन गरेका थियौं,’ नेविसंघका सभापति दुजाङ शेर्पाले भने, ‘नेविसंघले लिएको नयाँ कार्यक्रम र नयाँ बाटोलाई विद्यार्थीहरूले अनुमोदन गर्नुभएको हो ।’

यसपटक अनेरास्ववियुले अघिल्लो पटक जितेका क्याम्पसहरु समेत गुमाउन पुग्यो । अनेरास्ववियुका अध्यक्ष समिक बडाल कोसी र काठमाडौं उपत्यकामा असर परेको बताउँछन् ।  ‘महाराजगन्ज नर्सिङ क्याम्पसमा मत बराबर भएर पनि नेविसंघलाई विजयी घोषणा गरियो । वीरगन्ज नर्सिङमा १० भोटले हामी अगाडि थियौं । त्यसपछि गणना नै रोकिएको छ । जनप्रशासनमा अनेरास्ववियु विरुद्ध लागेको छ । महाराजगन्ज क्याम्पसमा सबै फ्याकेल्टी लागेर हराइयो । यसपटक कोशी र उपत्यकामा असर पुगेको छ,’ अध्यक्ष बडालले भने ।

अध्यक्ष बडाल अनेरास्ववियुको मत भने नघटेको दाबी गर्छन्  । ‘गण्डकीमा मत बढाएका छौं । समानुपातिकमा हामी अगाडि नै छौं,’ उनले दाबी गरे ।

माओवादी निकट अखिल क्रान्तिकारीले यसपकट भने सुधार गरेको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्साहित भएका छन् । स्ववियुको नतिजाले  सचेत एवं बौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको प्रचण्डले जिकिर गरेका छन् ।

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ । कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ,’ प्रचण्डले फेसबुकमा लेखेका छन् ।

माओवादीको विद्यार्थी संगठनका फ्र्याक्सन इञ्चार्ज एवम् अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मा विचारमा स्पस्ट, संगठनमा एकता र परिचालनमा सकृयताले अखिल क्रान्तिकारीको ग्राफ बढेको दाबी गर्छन् । स्ववियुको नतिजाले माओवादी आगामी निर्वाचनमा एक्लै लड् भन्ने सन्देश दिएकौ उनको भनाइ छ ।

स्वतन्त्र उम्मेदवारले रचे इतिहास

विद्यार्थीको चुनावमा पनि स्वतन्त्र उम्मेदवारले इतिहास रचेका छन् । ४ वटा क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, चितवन इन्जिनियरिङ क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

भ्रातृसंस्थाका विद्यार्थी नेता विद्यार्थीहरूको प्रतिनिधिको रुपमा काम नगरेकाले स्वतन्त्रले छलाङ मारेका तर्क गर्छन् प्राध्यापकहरू । ‘पुराना पार्टीका भ्रातृसंस्थाप्रतिको वितृष्णा प्रकट भएको हो । भ्रातृसंस्थाका विद्यार्थी नेता विद्यार्थीको प्रतिनिधि भएनन् । पार्टीको प्रतिनिधि भएर काम गरे । विद्यार्थीको चासो र चिन्ताका साझा विषय उठाएनन् । जसका कारण एउटा झिल्को देखिएको हो । यो कसैले रोकेर रोक्न सकिँदैन, बढेर जान्छ,’ समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?