
७ चैत, काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल) का संस्थापक एवं प्रबन्ध निर्देशक युवराज संग्रौलामाथि विद्यार्थी दुर्व्यवहारको आरोप लागेपछि गठित समितिले छानबिन गर्न नसक्ने भन्दै प्रतिवेदन बुझाएको छ ।
पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिका सदस्यहरुले संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न नसक्ने भन्दै बुधबार कलेज सञ्चालक समितिलाई प्रतिवेदन बुझाएका हुन् । बिहीबार त्यसबारे निर्णय हुने कलेज स्रोतले बताएको छ ।
समितिलाई बुझाएको संक्षिप्त प्रतिवेदनमा संग्रौलामाथि लागेको आरोप छानबिनको विषय उनीहरुको ‘क्षेत्राधिकारभित्र नपर्ने’ भनिएको छ । संयोजक भट्टराईका अनुसार, उनलाई समितिमा राख्नु पहिले सामाजिक सञ्जालसँग सम्बन्धित एउटा विषयमा समितिमा बसेर जाँच गरिदिन भनेर सोधिएको थियो ।
‘मेरो विज्ञताको विषय सामाजिक सञ्जाल र विद्युतीय अपराध भएकाले हुन्छ भनेको थिएँ तर, पछि टिओआर हेर्दा हामीले छानबिन गर्न सक्ने क्षेत्राधिकार भन्दा बाहिरको विषय रहेछ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि त्यो कमिटीले हेर्नसक्ने विषय होइन भनेर लेखेर दिएका छौं ।’
केएसएलले आइतबार पत्रकार सम्मेलन गरेर संग्रौलामाथि आरोप लागेपछि पूर्वन्यायाधीश भट्टराईको नेतृत्वमा ‘तटस्थ जाँचबुझ समिति’ गठन गरिएको जानकारी दिएको थियो । त्यसबेला केएसएलका प्राध्यापक अञ्जनकुमार दाहालले पूर्वजिल्ला न्यायाधीश भट्टराई नेतृत्वको समितिमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको भनेका थिए ।
तर, लैंगिक विभेद विज्ञ भन्दै सदस्य राखिएकी धामीले पहिल्यै संग्रौलाको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको खुलेपछि समिति सुरुवात्मै विवादमा मुछिएको थियो ।
‘कलेजमा सन् २००२ देखि आबद्ध भइ शैक्षिक तथा व्यवसायिक यात्राको कखरा सिकेको प्राज्ञिक संस्था तथा त्यसका अभिभावक श्रदेय गुरु डा. युवराज संग्रौलालाई लगाइएको अशोभनीय आरोपले म लगायत यस कलेजका पूर्वविद्यार्थीहरूको समेत अपमान भएको महसुस गरेको छु’, उनले स्ट्याटसमा भनेकी थिइन्, ‘गुरु युवराज संग्रौलाको निस्वार्थ सेवा, अथक परिश्रम अनि लगनशीलताको प्रतिफल हामीले आर्जन गरेको पेशागत सफलता नै हो, त्यसैले यसको हामी विद्यार्थी ऋणी छौं ।’
धामीले सामाजिक सञ्जाल फेसबुकमा केएसएलका विद्यार्थीहरुले भट्टराई नेतृत्वको समितिबाट समेत निष्पक्ष जाँच हुनेमा शंका गर्दै प्रश्न उठाएकी थिइन । पछि समितिबाट उनलाई हटाएर अधिवक्ता पूर्णिमा गुरागाइँलाई सदस्य राखिएको थियो ।
समितिका सबै सदस्यहरु एकठाउँमा बसेर छलफल गरेपछि केही गर्न नसक्ने निष्कर्षमा पुगेको पूर्वन्यायाधीश भट्टराईले बताए । समितिका सदस्य कोइरालाले पनि प्रारम्भिक दृष्टिमै छानबिन गर्न नसकिने देखिएकोले सो विवरण उल्लेख गरेर प्रतिवेदन बुझाइएको बताए ।
समितिको पहिलो बैठक मंगलबार बसेको थियो, बुधबार पनि केही विषयहरुमा छलफल भएको थियो । त्यसपछि प्रतिवेदन बुझाइएको थियो ।
गएको आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले यो स्वतन्त्र छानबिन भएको भन्दै त्यसलाई सहयोग गर्न आफू त्यतिञ्जेल तटस्थ बस्ने बताएका थिए । उनले भनेका थिए, ‘यो काममा मेरो कुनै हस्तक्षेप हुँदैन ।’
उनले समितिमा कलेजका व्यक्तिहरू नभएको भन्दै भनेका थिए, ‘उहाँहरूले सोधेको कुरा मलाई जानकारी दिने अधिकार छ, केही दर्जन विद्यार्थीले गरेको (दुर्व्यवहार) छ भनेको छ त्यो भए कलेजमा अहिले ११०० विद्यार्थी छन्, उनीहरूलाई पनि सोध्नुपर्छ ।’
कलेजको पाँचौ वर्षमा अध्यनरत् एक विद्यार्थीले ‘संग्रौलाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कलेजका छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको’ सार्वजनिक गरेकी थिइन् ।
यो मामला सार्वजनिक भएपछि सामाजिक सञ्जालमा केएसएल पढेका अन्य कतिपय विद्यार्थीहरुले समेत ऐक्यबद्धता जनाउँदै आफ्नो अनुभवहरु लेखेका थिए । पछि केएसएलका १०० जना विद्यार्थीले शुक्रबार साँझ संयुक्त वक्तव्य जारी गर्दैै त्यसमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि माग गरेका थिए ।
प्रतिक्रिया 4