+
+
Shares

३ महत्वपूर्ण कुरा, जसले जीवनलाई सुखी बनाउँछ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १७:०३

सुखी हुने इच्छा सबैमा हुन्छ, तर चाहना भएर मात्र सुख प्राप्त हुँदैन । सुख भन्ने कुरा न त कसैको वशमा हुन्छ न त कसैले इच्छा गर्दैमा पाइन्छ । त्यसैले मानिसको जीवनको अधिकांश समय कसरी सुखी हुने भन्ने उपायको खोजमा बित्छ । यस्तोमा जीवनलाई सुखी बनाउन स्वास्थ्य, सद्‍भाव र खुसी ३ कुराको सन्तुलन हुनुपर्छ ।

१‍.स्वास्थ्य

राम्रो स्वास्थ्यबिना जीवनको कुनै पनि लक्ष्य पूरा हुन सक्दैन। स्वास्थ्य राम्रो भएन भने कुशलतापूर्वक काम गर्न पनि सकिँदैन । स्वस्थ शरीरले मात्र कुनै पनि काम राम्रोसँग र निर्धारित समयभित्र गर्न सक्छ।

आफ्नो व्यस्त दिनचर्यामा अलिकति परिवर्तन गरेर स्वास्थ्यको ख्याल राख्न सकिन्छ । स्वस्थ रहनका लागि नियमित शारीरिक व्यायाम, योग, ध्यान, सन्तुलित आहार, राम्रो विचार, नियमित स्वास्थ्य परीक्षण, पर्याप्त मात्रामा निद्रा र आराम र सधैं खुसी रहने बानी, धैर्‍यता आदि आवश्यक हुन्छ ।

व्यस्त दिनचर्या, तनाव र सोसल मिडियाको लामो समयसम्म प्रयोगले हामीलाई सानै उमेरमा बिरामी बनाउँदैछ । जसका कारण काम गर्ने क्षमतामा असर परिरहेको छ । स्वास्थ्य राम्रो भएन भने यसले जीवनको धेरै पाटोमा असर गर्छ ।

आफ्नो व्यस्त दिनचर्यामा अलिकति परिवर्तन गरेर स्वास्थ्यको ख्याल राख्न सकिन्छ । स्वस्थ रहनका लागि नियमित शारीरिक व्यायाम, योग, ध्यान, सन्तुलित आहार, राम्रो विचार, नियमित स्वास्थ्य परीक्षण, पर्याप्त मात्रामा निद्रा र आराम र सधैं खुसी रहने बानी, धैर्‍यता आदि आवश्यक हुन्छ ।

यी विधिहरू राम्रो स्वास्थ्य प्राप्त गर्न उपयोगी हुन्छन्

पर्याप्त निद्रा

वयस्कहरूले कम्तिमा २४ घण्टामा ७–८ घण्टा सुत्न आवश्यक छ, प्रर्याप्त निद्राले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ र दिनभर उर्जाले भरिपूर्ण राख्छ । यसले मोटोपना, मधुमेह, हृदय रोग, उच्च रक्तचाप जस्ता धेरै गम्भीर रोगहरूबाट पनि टाढा राख्छ ।

नियमित व्यायाम

राम्रो स्वास्थ्यका लागि हरेक बिहान आधा वा एक घण्टा शारीरिक व्यायाम गर्नुपर्छ । नियमित व्यायाममा फटाफट हिँड्ने, दौडने, साइकल चलाउने आदि समावेश गर्न सकिन्छ। व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउँछ ।

नियमित व्यायाम गर्दा मांसपेशी स्वस्थ हुन्छ। शरीरमा रगतको प्रवाह सुधार हुन्छ र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । तनाव र डिप्रेसनजस्ता मानसिक रोगबाट टाढा राख्छ। तौल नियन्त्रण हुन्छ ।

साथै बुढ्यौलीको गतिलाई कम गरेर लामो समयसम्म जवान राख्न मद्दत गर्छ। मस्तिष्कले पनि सक्रिय रूपमा काम गर्छ । अल्ट्रा प्रोसेस्ड फूडबाट टाढा रहने र सन्तुलित आहार खाने।

धेरै मात्रामा क्यालोरी हुने अल्ट्रा–प्रोसेस्ड फूडहरूमा फाइबरको मात्रा कम हुन्छ र चिनीको मात्रा धेरै हुन्छ, त्यसैले यस्ता खानेकुरा खाँदा पेट भर्ने मात्र होइन, छिटो तौल पनि बढ्छ । भोक नलागेका बेला पनि यसको सेवन गरियो भने स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

आजभोलि आलु खानुको सट्टा त्यसबाट बनेका प्रशोधित खानेकुराहरू जस्तै:- चिप्स वा फ्रेन्च फ्राइज आदि खाने गरिन्छ । यस्ता प्रशोधित खानेकुरा बनाउने प्रक्रियामा केमिकलको प्रयोगले गर्दा यिनीहरूको वास्तविक गुणस्तर बिग्रन्छ र यी खानेकुराहरु हानिकारक हुन सक्छन् ।

त्यसैले स्वस्थ रहन प्रशोधित खानेकुरा भन्दा प्राकृतिक र सन्तुलित आहार सेवन गर्नु धेरै महत्त्वपूर्ण हुन्छ । किनभने यसले पर्याप्त पोषण दिन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज जस्ता सबै आवश्यक पोषक तत्वहरू पाइन्छ ।

सन्तुलित आहारका लागि फाइबरयुक्त खानेकुरा जस्तै ताजा फलफूल, सलाद, हरियो सागसब्जी, दूध, अण्डा, दही, टुसा सम्रिएको सलाद, सिमी र ड्राइफ्रुटहरूलाई दैनिक आहारमा समावेश गर्नुपर्छ।

मोबाइलसँग कम समय बिताउने

आजभोलि बालबालिका होस् वा वयस्क सबैले आफ्नो अधिकांश समय मोबाइलमै बिताउँछन् । सबैले आफूलाई स्क्रिनको अगाडि कैद गरेका छन् । तर, यसको अत्याधिक प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ।

बालबालिकाले मोबाइलमा गेम खेल्ने भएकाले घरबाहिर खेल्न बिर्सिएका छन्, जसले गर्दा उनीहरूको शारीरिक विकास रोकिएको छ। उनीहरूको सिर्जनशीलता घट्दै गएको छ, बालबालिका सानै उमेरमा रोगको शिकार बनिरहेका छन्।

मोबाइलकै कारण वयस्कहरूले परिवार तथा साथीभाइसँग समय बिताउन बिर्सएका छन्। दिनभर फोनमा व्यस्त रहने बानीले स्वास्थ्य सम्बन्धी धेरै समस्या निम्तन थालेको छ। अत्याधिक समय मोबाइलमा बिताउँदा आँखाको समस्या, घाँटी र ढाड दुख्ने समस्या, अनिद्रा, डिप्रेसन आदि जस्ता समस्याहरू निम्तन थालेको छ ।

२.सद्‍भाव

जब हाम्रो स्वास्थ्य राम्रो हुन्छ तब मात्र हामी एक-अर्कासँग (जस्तैः- परिवार, साथीहरूसँग, कार्यालयमा) राम्रो सद्‍भाव वा समन्वय सिर्जना गर्न सक्षम हुन्छौँ । यदि परिवार र साथीभाइमा राम्रो समन्वय वा मेलमिलाप छैन भने तनाव हुन्छ र यसले मानसिक समस्या निम्तने जोखिम बढ्छ ।

सद्‍भाव भनेको कुनै पनि सम्बन्धको बीचमा पारस्परिक समन्वय हो। समन्वय जति राम्रो हुन्छ, जीवन त्यति सहज हुन्छ। जुनसुकै क्षेत्रमा चाहे त्यो परिवार होस्, श्रीमान्–श्रीमती होस्, कार्यालय होस् वा समाज, सबैतिर समन्वयको खाँचो हुन्छ ।

यदि एकअर्कासँग समन्वय कायम गर्न जान्ने हो भने जीवन खुसी भरिनेछ, तर समन्वयको यो अवस्था तब मात्र प्राप्त हुन्छ जब हामी एक-अर्कालाई समय दिन्छौँ। यदि त्यसो हुन सकेन भने तनाव उत्पन्न हुन्छ । त्यसैले परिवार, बालबालिका, समाज र आफ्नो कार्यक्षेत्रबीच समन्वय कायम गर्न जरुरी छ ।

सम्बन्ध जस्तोसुकै होस्, यसलाई राम्रो बनाउनका लागि पर्याप्त समय चाहिन्छ, तर आजकल समयको अभावले मानिसहरू सम्बन्धलाई जोगाउन पर्याप्त समय दिन सक्दैनन् ।

जसले गर्दा सम्बन्धको मिठास कतै घट्दै गएको छ जसका कारण आजभोलि संयुक्त परिवार टुट्दै गएको छ। श्रीमान्-श्रीमती बीच सम्बन्ध विच्छेद भइरहेको छ । अभिभावकहरू बालबालिकाबाट टाढिँदै गएका छन् ।

धेरै व्यक्तिहरूले अहिले आफ्नो अधिकांश समय मोबाइलमा बिताउँछन् जसका कारण उनीहरू आफ्ना प्रियजन र परिवारबाट टाढिँदै गएका छन् । पहिले जुनसुकै समस्या पनि परिवारसँगै बसेर समाधान गर्थे। जसका कारण परिवारका सदस्य एक-अर्कासँग जोडिइरहन्थे । तर आजकल त्यसका अभावले धेरै व्यक्ति एक्लो हुँदै गएका छन् ।

३.खुसी

जीवनलाई सुखी बनाउन खुसी हुनु पनि अत्यन्तै जरुरी हुन्छ। जीवन तनावले घेरिएको छ भने खुसी हुन गाह्रो हुन्छ । त्यसैले जीवनलाई सुखी बनाउन तनाव व्यवस्थापन गरेर खुसी हुनु जरुरी हुन्छ ।

जीवनमा खुसी हुन सकिएन भने अरु सबैकुरा बेकार लाग्छ। अर्थात खानपिन, मोजमस्ती, भेटघाट, घुमफिर, स्वास्थ्य सबै राम्रो हुन्छ जब मन खुसी हुन्छ।

भनिन्छ, पैसाले सबै थोक किन्न सक्छ तर खुसी हुन सक्दैन । त्यसैले, खुसीका लागि, आफ्नो खुसीलाई चिन्नुपर्छ । हरेक व्यक्तिले फरक तरिकाले खुसी प्राप्त गर्छ ।उदाहरणका लागि, कसैले राम्रो खाना खाएर, कसैले राम्रो लुगा लगाएर, कसैले यात्रा गरेर, कोही घरको बगैँचामा काम गरेर, कोही मन्दिरमा गएर सेवा गरेर खुसी प्राप्त गर्छन् ।

कोही पढेर लेखेर, कोही परिवारसँग समय बिताएर, कोही संगीत सुनेर खुसी हुन सक्छन्, कोही पैसा कमाएर, कोही बैंक ब्यालेन्स बढाएर आदि । खुसी हुनका लागि आफ्नो खुसीलाई चिन्नुपर्छ । त्यसैले कुन कुराले खुसी बनाउँछ भनेर पहिचान गर्न महत्त्वपूर्ण हुन्छ ।

खुसी रहने उपाय

आफ्नो हेरचाह गर्ने

कहिलेकाँही आफ्नो हेरचाह र अरूको हेरचाहले पनि ऊर्जावान र आनन्दित बनाउन सक्छ । परिवारसँग गुणस्तरीय समय बिताउने, प्रकृतिसँग नजिक हुने र आफूलाई मनपर्ने काम गर्दा खुसी प्राप्त हुन्छ ।

सकारात्मक हुने

खुसी हुन, सन्तुष्ट रहनुपर्छ र आफ्नो सोच सकारात्मक राख्नुपर्छ। अरूबाट धेरै आशा गर्नु हुँदैन । प्रायः हामी अरूबाट धेरै अपेक्षा गर्छौं र जब त्यो पूरा हुँदैन, हामी निराश र दुःखी हुन्छौँ । निराशाले हाम्रो खुशीलाई असर गर्छ ।

परिवारसँग समय बिताउने

आजभोली केही समय फुर्सद हुने बित्तिकै पनि मोबाइलसँग समय बिताइन्छ। जसको कारण पनि आजभोली मानिसहरु एक्लोपनको सिकार भइरहेका छन् । यदि यस्तो अवस्थाबाट बच्ने हो भने केही समय परिवार, बालबालिका र साथीहरूसँग बिताउँनुपर्छ ।

उनीहरूसँग भेटघाट, ठट्टा, गफ, घुमफिर, खानपिनमा समय बिताउन सकिन्छ । यस्ता केही खुसीका पलहरूलाई सम्झनामा समेटेर खुसी रहन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?