+

भुर्तेलको अलराउण्ड प्रदर्शनमा पुलिस पीएम कपको फाइनल नजिक

२०८१ चैत  ७ गते १६:५३ २०८१ चैत ७ गते १६:५३
भुर्तेलको अलराउण्ड प्रदर्शनमा पुलिस पीएम कपको फाइनल नजिक

७ चैत, काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ । बिहीबार बागमती प्रदेशलाई ९३ रनले हराउँदै पुलिस लगातार सातौं जितसहित फाइनल नजिक पुगेको हो ।

पुलिसको जितमा कुशल भुर्तेलले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा ८८ रन बनाएका उनले बलिङमा ३ विकेट लिए । पुलिसले दिएको २९८ रनको बलियो लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २०४ रनमा अलआउट भयो ।

बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । शुभ कंसाकारले ३६ तथा बिपिन आचार्यले २० रन बनाए ।

पुलिसका लागि ललित राजवंशीले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिए । भुर्तेलले ७.२ ओभरमा ५१ रन दिएर ३ विकेट लिए । करण केसीले २ तथा गुल्शन झाले १ विकेट लिए ।

त्यसअघि ओपनर कुशल भुर्तेल र कप्तान दिपेन्द्रसिंह ऐरीले शानदार ब्याटिङ गरेपछि एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २९७ रन बनाएको थियो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८८ रन बनाए । शतकको नजिक पुगेका उनी अगाडि बढेर शट खेल्ने क्रममा स्टम्प आउट भएका थिए ।

कप्तान दिपेन्द्रसिंह ऐरीले ६० रन बनाए । अमित श्रेष्ठले ४८ तथा आरिफ शेखले ३८ रन बनाए । ओपनर कुशल र अमितले पहिलो विकेटका लागि १२४ रनको शतकीय साझेदारी गरेका थिए।

बागमतीका लागि प्रतिश जिसीले १० ओभरमा ४६ रन दिएर ३ विकेट लिए । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र बिपिन आचार्यले १-१ विकेट लिए ।

अपराजित टिम पुलिसले ७ खेल जित्दै १४ अंक जोडेको छ र फाइनल खेल्ने लगभग निश्चित भइसकेको छ । बागमतीले भने ६ खेलमा २ जित मात्र निकालेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय