
काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिएका प्रत्येक चौकाबापत विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा अनुसार शैक्षिक सामग्री वितरण थालेको छ ।
यसै क्रममा मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयका ४ सय ४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको एनसेलले जनाएको छ ।
क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका बराबर चार शैक्षिक सामग्री वितरण गर्ने योजना गत मंसिरमा घोषणा गरेको थियो । यस पहलले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
मंगलबार कपिलवस्तु नगरपालिका–१० को राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलुमका २ सय ६० विद्यार्थीलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनिबिलिटी इन्टरिम डाइरेक्टर विशाखालक्ष्मी खड्काले शैक्षिक सामग्री वितरण गरेका छन् ।
त्यसैगरी राप्ती सोनारी गाउँपालिका–४ को बालकशान्ति प्राथमिक विद्यालयका १ सय ८६ विद्यार्थीलाई एनसेलका चिफ अफ स्टाफ स्टिभन रोड्रिगेजले शैक्षिक सामग्री हस्तान्तरण गरे ।
एनसेल सीईओ कायुमोभले शिक्षामा पहुँच बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भने, ‘गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको अधिकार हो । हामी विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन पाउँदा खुसी छौं ।’
विद्यार्थीहरूले प्राप्त गरेका सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटर लगायत स्टेसनरी सामग्री समावेश छन् ।
क्यानका सचिव पारस खड्काले एनसेलको यस सामाजिक उत्तरदायित्व कार्यक्रम शिक्षालाई सशक्त बनाउन महत्त्वपूर्ण रहेको बताए ।
एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६ सय ५३ चौकाको आधारमा २ हजार ६ सय १२ शैक्षिक सामग्री वितरण गर्ने छ ।
एनसेलकी मार्केटिङ इन्टरिम डाइरेक्टर खड्काले शैक्षिक सामग्री वितरणको यो अभियानलाई निरन्तरता दिने भन्दै अन्य विद्यार्थीलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
प्रतिक्रिया 4