७ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजन आउँदो शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगिता सुरु हुनुअघि सबै १० टिमका कप्तानहरू बिहीबार मुम्बईमा भेटघाट गरेका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मुम्बईस्थित मुख्यालयमा केही नयाँ जानकारी दिनका लागि बैठक समेत राखेको थियो । सो क्रममा सबै टिमका कप्तानहरूसँगै टिम म्यानेजरहरू पनि उपस्थित थिए ।
बैठकमा सँगै भलाकुसारी गरेका कप्तानहरूले आ-आफ्नो खेलका लागि सम्बन्धित ठाउँमा फर्कनुअघि रमाइलो गफगाफसँगै एकअर्कालाई शुभकामनासहित सामूहिक तस्वीर पनि खिचाएका छन् ।
आज भएको बैठकबाट केही नयाँ नियमहरूबारे पनि कप्तानलाई जानकारी गराइएको थियो । नयाँ नियमअनुसार अब खेलाडीहरूले बललाई चम्काउन थुक प्रयोग गर्न पाउनेछन् भने दोस्रो इनिङमा दुई नयाँ बलको नियम पनि लागु हुनेछ । यसअघि कोभिड महामारीपछि बलमा थुक लगाउन रोक लगाइएको थियो ।
आईपीएल २०२५ को उद्घाटन खेलमा शनिबार साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् ।
प्रतिक्रिया 4