+
+
Shares

तीन अस्पतालमा मस्तिष्क पक्षाघातको औषधि उपलब्ध हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १८:०६

७ चैत, काठमाडौं । तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ ।

अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने जनाएको छ ।

औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मस्तिष्क पक्षाघातमा आवश्यकपर्ने महँगो औषधि उपलब्ध गराएकामा संस्थाप्रति आभार व्यक्त गरे ।

उनले भने, ‘यो औषधि राज्य कोषबाट किनेर आवश्यकपर्नेलाई उपलब्ध गराउन गाह्रो थियो । आवश्यकताअनुसार अरु अस्पतालमा पनि वितरण गर्ने लक्ष्य छ । दातृ संस्थासँग अरु महँगा औषधि पनि माग गरेका छौं ।’

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा. पवनजङ्ग रायमाझीले मस्तिष्क पक्षाघातमा अत्यावश्यक र ज्यान जोगाउन सकिने औषधि प्राप्त भएको बताए । उनका अनुसार ८०० भाइल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको छ।

उनले भने, ‘मस्तिष्कमा रहेका रक्तनलीमा अकस्मात् रगत जम्दाखेरी मस्तिष्क पक्षाघात हुने सम्भावना हुन्छ । यदि यस्तो व्यक्तिमा साढे चार घण्टाभित्र यो औषधि प्रयोग गर्न सकेमा बिरामीको ज्यान जोगिन्छ ।’

डा. रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको ७० हजार रुपैयाँ पर्दछ ।

उनले भने, ‘यो औषधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मी (न्युरोलोजिस्ट) को आवश्यकता पर्दछ । त्यसैले सुरुआती चरणमा तीन वटा अस्पतालबाट दिने सोचेका छौँ । पछि आवश्यकताअनुसार सबै प्रदेशका सङ्घीय अस्पतालमा उपलब्ध हुन्छ ।’

उनले यो औषधिलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको ‘कोल्ड चेन’मा २ देखि ८ ‘सेन्टिग्रेड’मा भण्डारण गरिएको र आवश्यकताअनुसार उपलब्ध गराइने जनाए । नेपालमा एक वर्षमा ३०० देखि ४०० को सङ्ख्यामा पक्षाघातका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?