+
+
Shares

उद्योगमा तत्काल विद्युत् नियमित गर्न परिसंघको अपिल

उद्योगहरूमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिसंघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १८:०९

७ चैत, काठमाडौं । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका उद्योगमा लोडसेडिङ गरिएको भन्दै नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केही समय अगाडि पनि नेपालका उद्योगमा लोडसेडिङ गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको आरोप समेत परिसंघले लगाएको छ ।

उद्योगहरूमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिसंघले जनाएको छ ।

‘उद्योगहरूमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर प्रताडित पार्ने काम प्राधिकरणबाट भएको छ, यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको छ,’ परिसंघले भनेको छ ।

सरकारले स्वदेशी उद्योग प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको परिसंघको भनाइ छ ।

मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगलाई पर्याप्त उपलब्ध नगराइ निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरूमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन भन्ने प्रश्न परिसंघले गरेको छ ।

विद्युत् कुनै पनि उद्योगका लागि कच्चापदार्थ रहेको र यसको अभावमा उत्पादन गर्न सम्भव नहुने भन्दै परिसंघले उद्योगलाई नियमित विद्युत् आपूर्ति हुने व्यवस्था तत्काल गर्न सरकार र सम्बन्धित पक्षसँग अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?