+
+
Shares

नेविसंघको किचलोले केन्द्रीय क्याम्पसमा स्ववियु चुनाव रोकिनु हुँदैन : अखिल क्रान्तिकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १८:५४
अखिल क्रान्तिकारीका उम्मेदवार प्रविण दाहाल

७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएकोप्रति नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को आधिकारिक उम्मेदवार सम्बन्धी अदालतमा चलिरहेको मुद्दालाई कारण देखाउँदै केन्द्रीय क्याम्पस कीर्तिपुरले ८ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित गरेपछि अखिल क्रान्तिकारीले आपत्ति जानाएको हो ।

स्ववियु निर्वाचनका लागि नेविसंघको तर्फबाट अध्यक्षमा दीपकराज जोशी र अनोज कार्की गरी दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको उम्मेदवारी खारेज गरेको थियो । उक्त विवाद हाल पाटन उच्च अदालतसम्म पुगेको छ ।

नेविसंघको आन्तरिक विवादमा रुमल्लिएर स्ववियु निर्वाचन नै बन्धकमा पर्ने कुरा स्वीकार्य नहुने अखिल क्रान्तिकारीका उम्मेदवार प्रविण दाहाल बताउँछन् ।

‘कुनै पनि हालतमा एउटा संगठनको किचलोका कारण लोकतन्त्रको हत्या गरेर निर्वाचन रोक्न हुँदैन । कुनै पनि हालतमा निर्वाचन हुनपर्छ भन्ने हो,’ दाहालले अनलाइनखबरसँग भने ।

स्ववियु निर्वाचन सार्नका लागि अदालतसम्म पुग्नु नेविसंघको गलत कार्य रहेको उनको जिकिर छ ।

‘स्ववियु सार्न अदालतसम्म पुग्नु नेविसंघको गलत भयो । यसले गर्दा टियूको क्यालेन्डर प्रभावित भएको छ । विद्यार्थीको कक्षा रोकिएका छन् । फेरि अदालतका पेसी सर्दैसर्दै जाला, त्यतिबेला हामीले मान्नु हुँदैन,’ उनले भने ।

उनले नेविसंघलाई आफ्नो आन्तरिक किचलो विश्वविद्यालयभन्दा बाहिर गएर गर्न पनि आग्रह गरे ।

नेविसंघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले अनोज कार्कीको रद्द गरेर दीपकराज जोशी आधिकारिक भएको निर्णय गरेको थियो ।

त्यसविरुद्ध कार्की पक्षका विष्णुबहादुर बडैला समेतले त्रिभुवन विश्वविद्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरी अन्तरिम आदेश माग गरेका थिए ।

बुधबार अल्पकालीन अन्तरिम आदेश जारी भए पनि बिहीबार मात्रै म्याद सूचना प्राप्त भएको त्रिविको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार नै अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरूको नाममा म्याद तामेल नभएकोले १० चैतमा अन्तरिम आदेशको म्याद तोकिएको छ ।

अन्तरिम आदेशबाट छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?