
७ चैत, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाकै गृहनगरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ पराजित भएको छ ।
विराटनगरमा त्रिभुवन विश्वविद्यालयका तीन वटा आंगिक क्याम्पस छन् । सम्बन्धनसमेत गरी १० क्याम्पस छन् । तीमध्ये आंगिक क्याम्पसहरू महेन्द्र मोरङ, डिग्री कलेज, र नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भए । कुल १० मध्ये क्रान्तिकारीले ५ क्याम्पसमा विजयी हुँदा नेविसंघ ३ र अनेरास्ववियु २ मा खुम्चिए ।
नेता उत्पादन गर्ने थलोको रूपमा चिनिने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा नेविसंघका उम्मेदवार पराजित हुँदा मतान्तर ४३ मात्रै रह्यो । यसलाई कतिपय कांग्रेस नेताहरूले पार्टीभित्रको अन्तरकलहको कारण भनेका छन् ।
नेविसंघ भित्रकै विवादका कारण देशको प्रतिष्ठित क्याम्पसमा चुनावमा पराजित हुनु परेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अभिषेक भट्टराई बताउँछन् ।
‘संगठन भित्रको विवाद समाधान नगरी चुनावमा गइयो,’ उनले भने, ‘आधिकारिक उम्मेदवारविरुद्ध संगठन भित्रबाटै बागी उम्मेदवारी पर्यो, जसका कारण यस्तो परिणाम आयो ।’ बागी उम्मेदवारलाई संगठनले व्यवस्थापन गर्न नसक्दा आधिकारिक उम्मेदवार पराजित भएको उनको भनाइ छ ।
महेन्द्र मोरङमा नेविसंघ संस्थापन पक्षबाट प्रज्वल विष्ट उम्मेदवार थिए । डा. कोइराला पक्षबाट योगराज दाहालले प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए । विष्टलाई डा. कोइराला पक्षकै नेता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको पनि समर्थन थियो । अर्का उम्मेदवार दाहाललाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा डा. कोइराला पक्षकै नेता केदार कार्कीले समर्थन गरेका थिए ।
कार्कीलाई कोइरालाले आफ्नो पक्षबाट स्ववियुको निर्वाचन हेर्ने जिम्मेवारी दिएका थिए । नेताहरू भन्छन्, तर, महेन्द्र मोरङमा कार्कीले विवाद समाधान गर्न भूमिका खेलेनन्, उल्टै आफ्नो छुट्टै टिम नै खडा गरे । यही कारण नेविसंघको आधिकारिक उम्मेदवार पराजित भएको नेविसंघ संस्थापन पक्षका नेता बताउँछन् ।
अन्तिम मत परिणाम सार्वजनिक हुँदा स्ववियु सभापतिमा निर्वाचित अखिल क्रान्तिकारीका रोहित यादवले १ हजार १ सय १८ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी नेविसंघका प्रज्वलजंग विष्टले १ हजार ७५ मत । मतान्तर जम्मा ४३ को रह्यो ।
नेविसंघ इतर पक्षबाट सभापतिको उम्मेदवार बनेका योगराज दाहालले जम्मा ६० मत प्राप्त गरे । सामान्य जोडघटाउ हेर्दा यो मत नेविसंघ आधिकारिक उम्मेदवारलाई हराउन पर्याप्त देखियो ।
एमाले अनेरास्ववियु उम्मेदवार अनिश बोगटीले २ सय ३२ मत प्राप्त गरे । महेन्द्र मोरङको स्ववियुमा अखिल क्रान्तिकारीले सभापति र एक जना सदस्य मात्रै जितेको छ । बाँकी पदमा नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।
समानुपातिक तर्फ नेविसंघले एक हजार १११ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीले ८११ मत मात्रै प्राप्त गरेको छ । इतर पक्षको दाबी अनुसार ३ सय बढी त नेविसंघबाट क्रस भएर क्रान्तिकारी उम्मेदवार यादवलाई गएको छ ।
पराजयको अर्को कारण
यादवलाई समर्थन गर्नुको कारण नेविसंघ जिल्ला सभापति सरोज पोखरेलमाथिको आक्रमण पनि हो । इतर पक्षका सभापति पोखरेललाई स्ववियु सभापति जसवन्त पौडेलसहित संस्थापन पक्षका विद्यार्थीले निर्घात कुटपिट गरेका थिए । ‘क्याम्पस जाँदा मान्छे कुट्ने, इतर पक्षलाई पेलेर अघि बढेको परिणाम निर्वाचनमा देखिएको कोइराला पक्षको दाबी छ ।
‘संस्थापन पक्षले पेलेर अघि बढ्यो, पेलेर अघि बढेपछिको परिणाम हो यो,’ कोइराला पक्षका एक विद्यार्थी नेताले भने, ‘हिजो जसवन्त पौडेलले सभापति जित्दा हाम्रो टिमको सचिव उम्मेदवारलाई हराएर अनेरास्ववियुका उम्मेदवार सनिम ठकुरीलाई जिताए, यसपालि हामी जित्न सक्ने अवस्थामा त थिएनौं, तर हराउन पर्याप्त थियौं ।’
केदार कार्की पनि महेन्द्र मोरङको विवाद समाधानका लागि अर्काे पक्षले पहल नगरेको बताउँछन् । संगठन भित्रको समस्या समाधान नगर्दा नतिजाविपरीत आएको उनको भनाइ छ । इतर पक्षबाट सभापतिको उम्मेदवार बनेका योगराज दाहाल पनि संगठन भित्रको विवादका कारण परिणाम फरक आएको बताउँछन् ।
प्रतिक्रिया 4