+

सिंगापुरविरुद्ध खेल्न नेपाली टोली तयार

२०८१ चैत  ७ गते २१:३४ २०८१ चैत ७ गते २१:३४
सिंगापुरविरुद्ध खेल्न नेपाली टोली तयार

७ चैत, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियासँग खेल्नुअघि नेपालले शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेलको लागि नेपाली टोली तयार रहेको मुख्य प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले बताएका छन् ।

बिहीबार भएको प्रि-म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले नेपाली टोलीबाट राम्रो प्रदर्शनको अपेक्षा राखेका छन् । ‘भोलि राम्रो प्रदर्शनको अपेक्षा छ । दुई साता ट्रेनिङ क्याम्प भएको छ’ रोसले प्रि म्याचमा भने,‘ नतिजा भोली हेर्नेछौं।’

यस्तै कप्तान किरणले पनि प्रशिक्षकले भनेजस्तै तयारी राम्रो रहेको बताए । ‘राम्रो तयारी गरेका छौँ । हामी दुई साता प्रशिक्षण गरेका थियौं । भोलिको खेल खेल्न उत्साहित छौं।’

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा विदेशी लिग खेलिरहेका दुई खेलाडी रोहित चन्द र लकेन लिम्बु पनि छन् । नेपाली टोलीमा यी दुई खेलाडी मिडफिल्डमा हेर्न लायक खेलाडी हुनेछन् ।

किनभने राष्ट्रिय टिममा डिफेन्समा खेल्दै आएका रोहितले इन्डोनेसियाको लिगमा मिडफिल्डको भूमिका खेल्ने गर्छन् । सिंगापुर जानुअघि प्रशिक्षक रोसले रोहितले मिडफिल्डमा खेल्ने बताएका थिए ।

बिहीबार अभ्यासका क्रममा नेपाली फुटबल टोली

यस्तै बिहीबारको प्रि म्याचमा उनलाई लकेनबारे सोध्दा रोसले लकेन मुख्य खेलाडी हुने प्रतिक्रिया दिएका छन् । लकेनले नेपालमा आएर खेल्नुअघि सिंगापुरमै फुटबल सिकेका थिए ।

‘लकेनलाई सिंगापुर फुटबल बारे थाहा छ । उनी भोलि हाम्रो लागि मुख्य खेलाडी हुनेछन् र मुख्य भूमिकामा हुनेछन् । लकेन दिल्ली एफसीमा खेलेर भर्खरै फर्केका हुन् ।’ रोसले भने ।

रोसले एसियन कप छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेकोले यसबाट धेरै कुरा थाहा हुने बताएका छन् । ‘एसिया कप छनोटको ठीक अगाडि यो खेल उपयुक्त अवसरका रूपमा आएको छ । टिममा भएको समस्या र त्यसको समाधान कसरी गर्न सकिनेछ, यो सबै यही खेलबाट थाहा हुनेछ’ उनले भने ।

मुख्य प्रशिक्षक रोसको लागि पनि सिंगापुर विरुद्धको खेल ऐतिहासिक हुनेछ । किनकी उनी कुनै पनि पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा यही खेलबाट डेब्यु गर्दैछन् । उनले सिंगापुर जानुअघि नै आफ्नो सपना पूरा हुने बताएका थिए ।

त्यस्तै सिंगापुरका प्रशिक्षक त्सुतोमु ओगुराले पनि सबै खेल उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै भने, ‘हामी हङकङविरुद्धको खेलको तयारीका लागि केही नयाँ प्रयास गर्न चाहन्छौं। सकेसम्म धेरै खेलाडीलाई अवसर दिन चाहन्छौं।’

त्यस्तै खेलाडी हार्हिस स्टेवार्टले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म राम्रो प्रदर्शन दिन चाहन्छु। टिमसँग फर्किन पाउँदा निकै उत्साहित र खुसी छु। हामी राम्रो खेल्नेछौं । अहिलेको लक्ष्य राम्रो नतिजा हासिल गर्नु हो।’

नेपाल र सिंगापुरबीचको खेल शुक्रबार साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ । खेल सिंगापुर नेसनल स्टेडियममा हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले ३६ वर्ष पछि सिंगापुरसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोट अन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो ।

यस्तै नेपाल र सिंगापुर पाँचौ पटक भिड्न लागेका हुन् । यसअघिको चार भेटमा नेपाल जितविहिन छ । सिंगापुरले ३ खेल जित्दा १ खेल बराबरीमा सकिएको थियो ।

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय