
८ चैत, काठमाडौं । यो साता सेयर बजार ६७ अंक अर्थात् २.४४ प्रतिशत घटेको छ । गत साता २७३६ अंकमा रहेको बजार यो साता २६६९ अंकमा झरेको हो । गत साता पनि बजार ८२ अंक (२.९ प्रतिशत) घटेको थियो ।
यो साता कारोबार भएका पाँचै दिन बजार घटेको छ । पहिलो दिन आइतबार २१.६४ अंक घटेको बजार सोमबार १०.१४, मंगलबार ७.६६, बुधबार १४.८३ तथा बिहीबार १२.८४ अंक घट्यो ।
आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोडको भयो । मंगलबार ४ अर्ब ३४ करोड, बुधबार ५ अर्ब १४ करोड तथा बिहीबार ४ अर्ब ५६ करोडको कारोबार भयो ।
बजारमा भारित औसत मूल्यका आधारमा अन्तिम सेयर मूल्य कायम हुनेगरी गणना विधि पनि यो सातादेखि लागू भएको छ । बिहीबारदेखि लागू भएको यो विधिमा २ : ४५ बजेदेखि ३ : ०० बजेसम्म कारोबार भएको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य तय हुन थालेको हो ।
त्यसअघि अन्तिम पटकको कारोबार मूल्य नै अन्तिम मूल्य हुने गरेको थियो । यो व्यवस्थाले अन्तिममा मूल्यमा चलखेल गर्ने क्रम रोकिएको छ ।
विशाल बजारले बढायो व्यापार, अरु सबै घटे
व्यापार सेक्टरमा जम्मा दुई कम्पनी मात्रै छन् : विशाल बजार र साल्ट ट्रेडिङ कर्पोरेसन । साल्ट ट्रेडिङको पूँजीकरण न्यून छ तर विशाल बजार सबैभन्दा धेरै पूँजीकरण भएको कम्पनी हो ।
त्यसैले विशाल बजारको जस्तो ट्रेन्ड जस्तो हुन्छ व्यापार सेक्टरको पनि उस्तै हुन्छ । यो साता विशाल बजारको मूल्य सामान्य बढेकाले नै व्यापार समूह धनात्मक रह्यो ।
विशाल बजार १.१२ प्रतिशत बढ्दा व्यापार समूह १.५५ प्रतिशत बढ्यो । गत साता यो सेक्टर ४ प्रतिशत घटेको थियो । यो साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ४.१९ प्रतिशत घट्यो । गत साता पनि यो सेक्टर ४.०६ प्रतिशत घटेको थियो ।
प्रतिक्रिया 4