+
+
Shares

‘४० वर्षअघि मेरो परिवारले फेवातालको पानी पिउँथ्यो’ 

लेकसाइडलाई हामी बैदाम भन्दथ्यौं । फेवाताललाई बैदाम ताल भनिन्थ्यो । म २०४३ सालमा बिहे गरेर बैदाम आएकी हुँ । माइती तनहुँको भिमाद हो । त्यसबेला मेरो परिवारले पिउन र अन्य घरायसी कामका लागि यही तालको पानी प्रयोग गर्थ्यो ।

शान्ति पहारी, अध्यक्ष, खहरे आमा समूह शान्ति पहारी, अध्यक्ष, खहरे आमा समूह
२०८१ चैत ८ गते २०:४१

म २०४३ सालमा बिहे गरेर बैदाम आएकी हुँ । मेरो माइती तनहुँको भिमाद हो । उतिबेला पोखराको लेकसाइडलाई बैदाम भन्थ्यौं हामी । फेवाताललाई बैदाम ताल भन्दथे सबैले । त्यसताका पिउन र अन्य घरायसी कामका लागि यही तालको पानी प्रयोग गर्थ्यो मेरै परिवारले ।

नयाँ बेहुली भएर पहिलो पटक म यही फेवातालमै पँधेर गएकी हुँ । त्यसताका बैदाम सहित मासबार, रत्नचोक, सृजनाचोकदेखि न्युरोडसम्मका स्थानीयवासी पिउने पानी लिन गाग्री लिएर फेवाताल आउँथे । खानेपानी बोक्न ताल जाँदा पोखरा बजारका महिला दिदीबहिनीसँग भलाकुसारी हुन्थ्यो ।

त्यहीबेला केहीबेर टहलिन्थ्यौं हामी । मेरो त माइतीको आँगन छाडेर पराइ घर आउँदाका खिन्नताहरू पनि भुलाइदिएको ताल हो यो । दुईचार वर्षपछि हाम्रो बैदाम क्षेत्र र पोखरा बजारमा भोटीखोला खानेपानी आयोजनाको पानी घर–घरमा पुग्यो । धनीमानीले धारा जोडेर भोटीखोलाको पानी राख्दथे, नसक्नेले धेरै वर्षसम्म फेवातालकै पानी पिउने गर्थे ।

२०४६ सालदेखि फेवाताल धमिलो–धमिलो देखिन थाल्यो । अरूबेला फेवामा तैरिने माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलाका निर्मल छायाँहरू पनि विस्तारै हराउन थाले । घर–घरमा धारा पुग्नु, ताल वरपर होटल तथा बस्ती बढ्नु र तालमा फोहोर तीव्र बढ्ने क्रम शुरु हुनु लगभग एकैपटक भयो । मानिसका सुख–सुविधा बढ्दै जाँदा, फेवाले चैं झन्–झन् दुःख पाउन थाल्यो ।

उहीले एकपटक आएको विदेशी अर्को वर्ष पनि बिदा मिलाएर पोखरा आएकै हुन्थ्यो । पछि–पछि त त्यो क्रम पनि हराउन थाल्यो । मानिसहरू व्यावसायिक हुन थाले, यही ताल देखाएर बाहिर देशका पर्यटक, अन्य जिल्ला र शहरका पर्यटक बोलाउन थाले, तर ताल सफा गर्ने सुर कसैले गरेन । आजभन्दा भोलि फेवामा फोहोर तैरिने क्रम बाक्लिंदै गयो ।

बाहिर देशका पर्यटक फेवा किनारमा घन्टौं टहलिने देखिरहेका हामीलाई फेवाको फेरिंदो रूपले धेरै चिन्तित बनाउन थाल्यो । सबैभन्दा धेरै त घरमा धारा जोड्ने आर्थिक हैसियत नभएका स्थानीय पिउने पानी लिन कहाँ गए होलान्, पँधेरा जाँदा फेवा किनारमा भलाकुसारी गर्न टाढा टाढाबाट आएका साथीसँगी पानी बोक्न कहाँ धाउँदै होलान् भन्ने चिन्ता हुन्थ्यो हामीलाई ।

त्यसताका अहिलेको झैं, तालमा फोहोर फाल्न हुँदैन भनेर सजग गराउने संघ–संस्थाहरू पनि थिएनन् । २०५५ सालतिर तालको क्षेत्रफल र आकार घट्न थालेको बारे गाइँगुइँ हल्ला सुन्यौं । अनि त्यसताका देखि नै बैदामका आमा दिदी–बहिनीहरू समूहमा जुट्न थाल्यौं ।

शुरु–शुरुमा त हाम्रो समूह गाउँमा रत्यौली, भजन कार्यक्रममा भाग लिने, सामाजिक कामका लागि आवश्यक पर्ने भाँडाकुँडा जुटाइदिने, मठ–मन्दिर बनाउँदा श्रम सहयोग गर्ने लगायत काम गथ्र्यौं । पछि–पछि ताल सफाइ कार्यक्रमलाई विशेष चासो दिएर गर्न थाल्यौं ।

त्यतिबेला म ढोरबाराही आमा समूहको सदस्य थिएँ । शुरु–शुरुमा महिना, वर्ष दिनमा एकपटक ताल किनारमा भेला भएर फोहोर बटुल्दै हिंडेको आमा समूह पछिपछि डुंगा लिएरै ताल सफा गर्न थाल्यौं । त्यतिबेला महिला दिदी–बहिनीले गरेको काम देखेर एउटै क्षेत्रमा पनि धेरै सामाजिक समूह बन्न थालेका थिए ।

२०७० सालमा हामीले अर्को ‘खहरे आमा समूह’ गठन गर्‍यौं । सामाजिक संस्थाको रूपमा सरकारी निकायसँग पनि सहकार्य गर्दै ताल संरक्षण गर्ने यो समूहको मुख्य उद्देश्य थियो । तत्काल सरकारकै ढोकामा पुग्न भने सकेनौं । सरकारी बजेट ल्याउन त्यतिखेर गरेको दौडधुप सम्झन्छु म ।

अहिलेको जति आइडिया त्यतिबेला भएको भए, कति बजेट पाउँथ्यौं होला जस्तो लाग्छ । किन भने त्यतिबेला हामीलाई नपत्याउने कोही थिएनन् । तर अहिले त विभिन्न निकायले चिनेर पनि नचिने झैं गरिदिन्छन् । सामाजिक काम गर्दा पारिश्रमिक लिएरै गरे जस्तो व्यवहार गर्छन् ।

आफ्नो संस्थाको पैसा थपथाप पारेर हल्लन चोकदेखि गैराको चौतारासम्म फेवा किनारमा धुपी रोप्यौं । तर त्यसमा पनि हामी विस्तारै हार खान थालेका छौं ।

कुरै कुरामा एउटा घटना सम्झिन मन लाग्यो । हाम्रो आमा समूह भर्खर–भर्खर गठन हुँदा, ताल सफा गर्न हामी दिनहुँ बिहान–बेलुका आधा/एक घन्टा डुल्थ्यौं । एक दिन बिहान अलि छिटै ताल पुगेको थिएँ, एक जना मानिसले बोरामा घरायसी फोहोर ल्याएर किनारमा घोप्ट्याउनुभयो । मैले उतिबेलै ‘ए भाइ यहाँ किन फोहोर फाल्नुभयो’ भनेर सोधें । ‘एकछिनपछि खहरे आमा समूहले सोहोरिहाल्छ नि ! तपाइँलाई किन चिन्ता’ भन्दै उनी त लुरुक्क त्यहाँबाट हिंडे ।

यस्ता घटना सम्झने हो भने कति छन् कति । एक पटक हामीलाई ठूलै कार्यक्रम गरेर ताल सफाइका लागि अरूलाई दबाब दिनुपर्छ भन्ने लाग्यो । रत्यौली, भजन गाएर जम्मा गरेको रकमले सप्ताहव्यापी सफाइ अभियान, वृक्षरोपण, तार–जाली बार लगाउने लगायत काम गर्‍यौं ।

परार साल पनि हामीले तीन महिना दौडधुप गरेपछि पहिलो पटक सबैभन्दा धेरै रकम, १४ हजार रुपैयाँ वडा कार्यालयबाट पाएका थियौं । त्यसमा आफ्नो संस्थाको पैसा थपथाप पारेर हल्लन चोकदेखि गैराको चौतारासम्म फेवा किनारमा धुपी रोप्यौं । तर त्यसमा पनि हामी विस्तारै हार खान थालेका छौं ।

ताल घुम्न आएका मानिसले जान–अन्जानमा ती रूखका मुना चिम्टिंदै फाल्दै गरेको देख्दा पनि वरिपरिका पसलेहरू केही बोल्न सक्थेनन्, उल्टै तपाइँले सारेको रूख–बिरुवाले हाम्रो पसल अगाडि फोहोर भयो भन्दै धम्की दिन्थे । एक दिन त ताल छेउमा टहरो राखेर रक्सी–मासु बेच्ने व्यापारीले तालमा फोहोरका पोका फालेको हामीले रंगेहात समात्यौं ।

उत्तिबेलै हामीले वडाको सिफारिश लिएर पोखरा महानगरपालिका कार्यालय गयौं । भोलिपल्ट नगर प्रहरी आएर त्यो पसलेका सामान जफत गर्‍यो । यति गरेपछि त अब ताल किनारमा लापरबाही गर्न मानिसहरू डराउँछन् भन्ने लागेको थियो ।

तर, भोलिपल्ट नै महानगरपालिकाले त्यो पसलेको सामान फिर्ता दियो भन्ने थाहा पायौं । अनि सुस्केरा हाल्दै हात बाँधेर बस्नु बाहेक हामीसँग अरू विकल्प रहेन । आजकाल त ताल जोगाउन उतिविधि जाँगर पनि लाग्न छोड्यो । तर हामीलाई थाहा छ यो नगरी नहुने काम हो ।

(पोखराको खहरे आमा समूहकी अध्यक्ष पहारीसँग पत्रकार स्मिता अधिकारीले गरेको कुराकानीमा आधारित ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?