+
+
Shares

‘मान्छे र प्रकृति दुवैबाट पोखराका ताल जोगाउन चुनौती छ’

पोखरा ताल–बगैंचाको शहर हो । त्यसैले तालहरूको संरक्षण विना यो शहरको सांस्कृतिक सम्पदाको संरक्षण हुनसक्दैन । पोखरा ताल–तलैया र सम्पदाका कारण विश्व प्रसिद्ध भएको हो । तर पछिल्ला दिनमा यिनको संरक्षण कसरी गर्ने भन्ने चुनौती थपिएको छ ।

विश्वप्रकाश लामिछाने, ताल अध्येता विश्वप्रकाश लामिछाने, ताल अध्येता
२०८१ चैत ८ गते १९:४०

पोखरा तालहरूको राजधानी हो । ताल र पोखरीहरूकै कारणले त्यो शहरको नाम पोखरा रहेको हो । पोखरामा तालहरूको ऐतिहासिक, सांस्कृतिक महत्व छ । सबैले यसको संरक्षणमा ध्यान दिनुपर्छ । फेवा ताल मात्रै होइन, पोखरावासीको अपनत्व पनि हो ।

फेवाताललाई रामसार क्षेत्रमा सूचीकृत गरिसकेपछि यो अन्तर्राष्ट्रिय सम्पदा भइसकेको छ । फेवातालका साथसाथै लेखनाथमा अरू सात वटा ताल छन् । अहिले माछापुच्छ्रेको छायाँ फेवातालमा पर्ने भएकाले विश्वभरका पर्यटकहरू आकर्षित हुन्छन् । त्यो दृश्यका लागि पर्यटकहरू लालायित हुन्छन् ।

यस्तै कारणले पोखरालाई पर्यटकको राजधानी भन्छौं । पोखराको पूर्वपट्टि रहेको लेखनाथ सात तालको बगैंचा शहर हो । त्यहाँका तालहरूको संरक्षण विना शहरको सांस्कृतिक सम्पदाको संरक्षण हुनसक्दैन । पोखरा तालतलैया र सम्पदाका कारण विश्वप्रसिद्ध बनेको हो । तर पछिल्ला दिनमा यिनलाई जोगाउने चुनौती थपिएका छन् ।

पोखराका तालहरू अतिक्रमण हुँदै जानुमा प्राकृतिक एवं मानव सिर्जित कारणहरू छन् । पोखरा नेपालको सबैभन्दा बढी पानी पर्ने क्षेत्र हो । यहाँ वर्षायाममा बाढीपहिरोका कारणले खोलानालाहरू तालमा आएर मिसिने अनि उसले ल्याउने ढुंगा, गिटी, बालुवा र लेदोले ताल भरिने गरेका छन् । त्यसले तालको आकार घटाउन भूमिका खेलेको छ ।

२०२८ सालमा फेवातालको बिरुवा फाँटमा सर्भे अफ इन्डियाले गरेको सर्वेमा फेवातालको क्षेत्रफल १०.३५ वर्गकिलोमिटर थियो । फिनल्याण्ड सरकारको सहयोगमा भएको एउटा अध्ययनले एक लाख ४० मेट्रिक टन ढुंगा, गिटी र बालुवाको लेदो हर्पन र अँधेरी खोलाबाट प्रत्येक वर्ष फेवातालमा आएर थुप्रिने देखाएको थियो ।

त्यसरी ढुंगामाटोले पुरिएको ठाउँ मैदानमा परिणत भएको छ । फिनल्याण्डको सहयोगमा भएको अध्ययनले फेवातालमाथिको प्राकृतिक अतिक्रमण नरोक्ने हो भने ताल साँघुरिंदै जाने चेतावनी दिंदै वरपरका खोला खहरेबाट तालमा जाने ढुंगा, माटो र लेदो रोक्न पहल गर्नुपर्ने सुझाव दिएको थियो ।

पोखरा महानगरभित्र त्यस्तो मैदानको जग्गा निकै मूल्यवान् हुने भइहाल्यो । त्यसले तालको जग्गा सिमसार क्षेत्र, खेल हुँदै बसोबास गर्ने ठाउँमा परिणत भए । अहिले घडेरी र आवास क्षेत्रको रूपमा विकास भइसकेका छन् । कतिपय ठाउँमा तालका किनाराहरू घडेरी बनेका छन् । त्यसैले पोखराका तालहरू प्राकृतिक र मानवीय चपेटामा परेका हुन् ।

अहिले विश्वमा विकसित भएका प्रविधिले कृत्रिम ताल र पोखरी निर्माण हुनु कुनै आश्चर्य रहेन । पानीको संरक्षण, मूलको संरक्षणदेखि जलविद्युत् उत्पादनमा यसरी कृत्रिम ताल बनाउने गरिएको छ । तर हाम्रा यी प्राकृतिक जलभण्डारहरूको महत्व तीनवटै सरकारले बुझ्न नसकेको देखिन्छ ।

पोखराका ताल–तलैयाहरूले वातावरण संरक्षणमा योगदान दिएका छन् । खानेपानीको उपयुक्त स्रोत बनेका छन् । तर हामीले ताल संरक्षणमा बेवास्ता गरिरहेका छौं । अहिले उपभोक्ता समिति बनाएर बाटोघाटो निर्माण गर्ने हो भने अनुदान आउँछ । त्यसले कुनै न कुनै रूपमा वातावरणीय क्षति हुन्छ र पोखराको तालतलैयालाई पनि असर गरेको छ ।

यस्तै ठेक्कापट्टाबाट आर्थिक स्रोत जुट्छ, उस्तै परे कमिसन पनि आउने भयो । त्यतातिर आकर्षित भएका मानिसहरूले ताल संरक्षणबाट कुनै प्रतिफल पाउँदैनन् । अनि उनीहरू किन ताल संरक्षणमा लाग्ने ? खासगरी स्थानीय जनप्रतिनिधिहरूले तालको महत्वबारे जनचेतना फैलाउनुपर्ने अनि ताल संरक्षणका योजना बनाउनुपर्ने थियो ।

कसैले ध्यान दिएन भन्दैमा हामीले ताल संरक्षणमा कुनै सम्झौता गर्नुहुँदैन । तालहरूको संरक्षणलाई प्रमुख प्राथमिकतामा राखेर अरू नीति बनाउनुपर्छ । तालहरूको बहुउपयोग गर्न सकिन्छ । त्यहाँ मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गरेर त्यसबाट हुने आम्दानीलाई तालको संरक्षणमा लगाउन सकिन्छ ।

(फेवाताल अतिक्रमणबारे अध्ययन गर्न सरकारले २०६९ सालमा गठन गरेको समितिका संयोजक रहेका लामिछानेसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?