+
आईपीएल २०२५ :

पहिलो सिजनदेखि आईपीएलको मैदानमा देखिइरहेका यी खेलाडी

२०८१ चैत  ८ गते १४:०६ २०८१ चैत ८ गते १४:०६
पहिलो सिजनदेखि आईपीएलको मैदानमा देखिइरहेका यी खेलाडी

८ चैत, काठमाडौं । शनिबारदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण सुरु हुँदैछ । सन् २००८ मा आईपीएलको पहिलो सिजन सुरु आउँदा धेरै अनिश्चिततासहित आएको थियो ।

त्यसकै अघिल्लो वर्ष महेन्द्र सिंह धोनीले भारतलाई टी-२० विश्वकप जिताएका थिए । त्यस्तै युवा विराट कोहली रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) को टोली सम्हाल्ने प्रयास गरिरहेका थिए र रोहित शर्मा मध्यक्रमको एक युवा ब्याट्सम्यान थिए।

अहिले २०२५ मा आइपुग्दा यी तीन अनुभवी सिनियर खेलाडीहरूसँगै अन्य केही खेलाडीहरू आईपीएलको पहिलो सिजनदेखि अहिलेसम्म पनि खेलिरहेका छन् ।

आज हामी आईपीएलको हरेक सिजन खेलेका ९ खेलाडीको बारेमा कुरा गर्दैछौं । यी अनुभवी खेलाडीहरू अझै पनि २०२५ को आईपीएलमा देखिँदै छन्, जसले उनीहरूको निरन्तरता र लिगमा महत्वपूर्ण योगदान देखाउँछ।

महेन्द्र सिंह धोनी (चेन्नई सुपर किंग्स)
खेल: २६४ | रन: ५२४३ | स्ट्राइक रेट: १३७.५३ | उपाधि: ५ (२०१०, २०११, २०१८, २०२१, २०२३)

धोनी आईपीएलको सबैभन्दा लोकप्रिय खेलाडीमध्ये एक हुन्। सन् २००८ मा चेन्नई सुपर किंग्सको पहिलो कप्तान बनेका उनी हालसम्म पनि टोलीको अभिन्न हिस्सा छन्।

उनले टोलीलाई पाँच पटक च्याम्पियन बनाउँदै, १० पटक फाइनलमा पुर्‍याएका छन्। बीचमा चेन्नईको टोली २ वर्ष प्रतिबन्धमा पर्दा उनी राइजिङ पुने सुपरजाइन्ट्समा थिए जहाँबाट पनि एक फाइनल पनि खेले ।

विराट कोहली (रोयल च्यालेन्जर्स बेंगलुरु)
खेल: २५२ | रन: ८००४ | स्ट्राइक रेट: १३१.९७ | उपाधि: ०

विराट कोहली पनि सन् २००८ को पहिलो संस्करणदेखि बेंगलुरुको टोलीबाट निरन्तर खेलिरहेका छन्। उनी आईपीएलमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्।

आठ वर्षसम्म टोलीको कप्तानी समेत गरेका उनले सन् २०१६ मा शानदार प्रदर्शन गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याए। तर, अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्।

रोहित शर्मा (मुम्बई इन्डियन्स)
खेल: २५७ | रन: ६६२८ | स्ट्राइक रेट: १३१.१४ | उपाधि: ६ (२००९, २०१३, २०१५, २०१७, २०१९, २०२०)

रोहित शर्माले २००९ मा डेक्कन चार्जर्सबाट खेल्दै पहिलो उपाधि जितेका थिए। त्यसपछि मुम्बई इन्डियन्सको कप्तान बन्दै उनले पाँच उपाधि थपे।

उनी आईपीएलमा ६ पटक उपाधि जित्ने एक मात्र खेलाडी हुन्। सन् २०२३ सम्म मुम्बईको कप्तानी गरेका उनले सन् २०२४ देखि कप्तानी छाड्दै हार्दिक पाण्ड्यालाई सुम्पिएका थिए ।

मनीष पाण्डे (कोलकाता नाइट राइडर्स)
खेल: १७१ | रन: ३८५० | स्ट्राइक रेट: १२१.१० | उपाधि: १ (२०१४)

मनीष पाण्डेले सन् २००९ को आईपीएलमा बेंगलुरुका लागि शतक प्रहार गरेका थिए ।

२०१४ मा कोलकाताबाट खेल्दा फाइनलमा उनले ९४ रन बनाउँदै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

अजिंक्या रहाने (कोलकाता नाइट राइडर्स)
खेल: १८५ | रन: ४६४२ | स्ट्राइक रेट: १२३.४२ | उपाधि: १ (२०२३)

अजिंक्या रहाने सुरुवातमा राजस्थान रोयल्सका खेलाडी थिए। त्यसपछि उनले कोलकाता, बेंगलुरु, चेन्नईलगायत विभिन्न टोलीबाट खेलिसकेका छन् ।

पछिल्ला वर्षहरूमा उनले आफ्नो ब्याटिङ शैली पनि बदलेका छन्। सन् २०२३ मा चेन्नईले आईपीएलको उपाधि जित्दा उनी टोलीमै थिए ।

यस संस्करणका लागि भने उनी कोलकाताका कप्तान छन्।

रविचन्द्रन अश्विन (चेन्नई सुपर किंग्स)
खेल: २१२ | विकेट: १८० | इकॉनमी: ७.१२ | उपाधि: २ (२०१०, २०११)

अश्विन सुरुवाती दिनहरूमा चेन्नईका बलर थिए। उनले त्यसपछि पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स लगायतको टोलीबाट खेलेका थिए ।

हाल उनी फेरि पुरानै टोली चेन्नईमा फर्किएका छन्। उनले धेरै पहिले चन्नईबाट खेल्दा २ पटक उपाधि जितेका छन् ।

रविन्द्र जडेजा (चेन्नई सुपर किंग्स)
खेल: २४० | रन: २९५९ | स्ट्राइक रेट: १२९.७८ | विकेट: १६० | इकॉनमी: ७.६२ | उपाधि: ४ (२००८, २०१८, २०२१, २०२३)

जडेजाले पहिलो उपाधि राजस्थान रोयल्सबाट खेल्दा सन् २००८ मा जितेका थिए। २०१२ मा चेन्नईमा आएपछि उनी टोलीको मुख्य खेलाडी बने।

उनले २०२३ को रोमाञ्चक फाइनल खेलमा अन्तिम बलमा चौका प्रहार गरेर चेन्नईलाई जित दिलाएका थिए।

इशान्त शर्मा (गुजरात टाइटन्स)
खेल: ११० | विकेट: ९२ | इकॉनमी: ८.२४ | उपाधि: ०

इशान्त शर्मा आईपीएलका लागि उपयुक्त बलर होइनन् भन्ने भनाइ पनि चर्चामा आइरहेको हुन्छ। २००८ मा सबैभन्दा महँगो बलरको रूपमा कोलकाता नाइट राइडर्सले उनलाई किनेको थियो ।

उनले दिल्ली, पञ्जाबलगायतका टोलीबाट खेलिसकेका छन् भने हाल गुजरातको टोलीमा छन् ।

स्वप्निल सिंह (रोयल च्यालेन्जर्स बैंग्लोर)
खेल: १४ | विकेट: ७ | इकॉनमी: ८.९२ | उपाधि: ०

स्वप्निल सिंह २००८ मा मुम्बई इन्डियन्समा अनुबन्धित भए पनि २०१६ मा मात्र आईपीएल डेब्यूको मौका पाएका थिए।

पछिल्लो सिजन उनले बेंगलुरुबाट राम्रो प्रदर्शन गर्दै प्लेअफसम्म पुर्‍याएका थिए।

-क्रिकइन्फोले तयार पारेको लेखका आधारमा

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय