८ चैत, काठमाडौं । स्वास्थ्य सचिव नियुक्तिका विषयमा परेको रिटमा सर्वोच्च अदालतले नियुक्ति प्रक्रिया सम्बन्धी निर्णयको फाइल झिकाउने आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले दायर गरेको रिटमा आज पनि सुनुवाई भएको थियो ।
न्यायाधीश तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनुवाईपछि सचिव नियुक्तिको निर्णय फाइल झिकाउन सर्वोच्चले विपक्षी(प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ) कार्यालयलाई आदेश दिएको हो ।
वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा. मिश्राले चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनको रिटमाथि चैत ३ गते पहिलो सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पनि सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो ।
साथै छलफलका लागि दुवैपक्षलाई बोलाइएको थियो ।
२१ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो ।
देवकोटा सचिव भएपनि मिश्राले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी थिइन्।
१२ फागुनमा पूर्वसचिव डा.रोशन पोखरेलको ५ वर्षे कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा.मिश्रा, डा. विकास देवकोटा र डा.टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्ले डा. विकास देवकोटालाई नियुक्त गरेसँगै डा. मिश्राले बरिष्ठताका आधारमा सचिव आफू हुनुपर्ने भन्दै असन्तुष्टि जनाएकी थिइन् । उनले अनलाइनखबरसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूमाथि पटक—पटक अन्याय गरेको बताउँदै मन्त्रीको राजीनामा समेत मागेकी थिइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले डा. वाराकोटीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् ।
प्रतिक्रिया 4