+
नेपाली फुटबल टोली :

नेपाल भर्सेस् सिंगापुर : स्तर नाप्ने अवसर

२०८१ चैत  ८ गते १६:३१ २०८१ चैत ८ गते १६:३१

दुवै टिमले यो मैत्रीपूर्ण खेललाई चार दिन पछि हुने एसियन कप छनोटको तयारीको रुपमा लिएका छन् ।

नेपाल भर्सेस् सिंगापुर : स्तर नाप्ने अवसर

८ चैत, काठमाडौं । झण्डै पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । सन् २०२७ को एएफसी एसियन कपको लागि अन्तिम चरणको छनोट खेल्नुअघि नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुवै टिमले यो मैत्रीपूर्ण खेललाई चार दिन पछि हुने एसियन कप छनोटको तयारीको रुपमा लिएका छन् । एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले आफ्नो पहिलो खेल मार्च २५ मा मलेसिया विरुद्ध खेल्नेछ । सोही दिन समूह सी मा रहेको सिंगापुरले हङकङसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

त्यसअघिको यो मैत्रीपूर्ण खेल दुवै टिमका लागि स्तर नाप्ने अवसर हुनेछ । ‘एसिया कप छनोटको ठीक अगाडि यो खेल उपयुक्त अवसरका रूपमा आएको छ । टिममा भएको समस्या र त्यसको समाधान कसरी गर्न सकिनेछ, यो सबै यही खेलबाट थाहा हुनेछ’ नेपालका मुख्य प्रशिक्षक म्याट रोसले भनेका छन् ।

म्याट रोस प्रशिक्षक नियुक्त भएपछि नेपालले करिब दुई साताको ट्रेनिङ क्याम्पपछि सिंगापुर गएको हो । नेपालले करिब साढे चार महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।

पछिल्लो पटक ताजिकिस्तान भ्रमणमा हुँदा मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २-० ले पराजित गरेको थियो । त्यसअघि ताजिकिस्तानसँग भने नेपाल ४-० ले पराजित भएको थियो ।

नेपालले फिफा विन्डोलाई सदुपयोग गर्न नसक्दा पछिल्लो एक वर्षको अन्तरमा धेरै खेल खेल्न पाएको छैन । यो एक वर्षको अन्तरमा नेपालले विश्वकप र एसियन कप संयुक्त छनोटको दोस्रो चरणको चार खेल र ताजिकस्तान र अफगानिस्तानसँगको मैत्रीपूर्ण खेल गरी ६ खेल खेलेको छ ।

जसमा जम्मा एक खेल जितेको नेपालले चार खेल हारेको थियो भने यमनसँग एक खेल बराबरी खेलेको थियो । नियमित खेल्न नपाएको नेपाली फुटबल टोलीका लागि सिंगापुर विरुद्धको खेल आफ्नो स्तर नाप्ने र एसियन कपका लागि तयारी गर्ने अवसर हुनेछ ।

यस्तै नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक म्याट रोसको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्दैछ । जसले गर्दा प्रशिक्षक रोससँगै नेपाली टोली पनि उत्साहित छन् ।

रोसले राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा पनि यसै खेलबाट डेब्यु गर्दैछन् । उनका लागि पनि यो खेल महत्वपूर्ण हुनेछ । यस्तै नेपाली टिममा तीन नयाँ खेलाडी पहिलो पटक समावेश भएका छन् । परवार्ड सुबास बम ठकुरी, डिफेण्डर सुमन श्रेष्ठ र गोलकिपर अन्जल श्रेष्ठले पहिलो पटक सिनियर टिमसँग टुर गर्ने अवसर पाएका छन् । उनीहरु डेब्युको पर्खाईमा हुनेछन् ।

कप्तान किरण कुमार लिम्बुसहित रोहित चन्द, अन्जन विष्ट, भरत खवास र अनन्त तामाङ नेपाली टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । किरणले नेपालका लागि सर्वाधिक १०२ क्याप जितेका छन् । उनी नेपालका लागि एक सय खेल खेल्ने पहिलो खेलाडी समेत हुन् ।

यस्तै फरवार्ड अन्जन विष्टले नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका छन् । अन्जन सामु पनि सर्वाधिक गोल कर्ता बन्ने अवसर छ । यदी उनले सिंगापुर विरुद्ध गोल गरेमा हरि खड्का र निराजन रायमाजीलाई सर्वधिक गोल गर्नेमा पछि पार्ने छन् । तीनै खेलाडीले समान १३ गोल गरेका छन् ।

यसैगरी सिंगापुरमै फुटबल कला सिकेका मिडफिल्ड लकेन लिम्बु नेपाली टिममा छन् । उनी टिममा मुख्य खेलाडीको रुपमा रहने मुख्य प्रशिक्षक म्याट रोसले प्रि म्याच कन्फ्रेन्समा बताइसकेका छन् । लकेनसँगै रोहित चन्दले मिडफिल्ड सम्हाल्नेछन् ।

त्यस्तै सिंगापुरले पनि नेपालसँगको खेललाई हङकङविरुद्ध हुने खेलको तयारीको रुपमा लिएका छन् । सिंगापुरका प्रशिक्षक त्सुतोमु ओगुराले पनि सबै खेल उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै भने, ‘हामी हङकङविरुद्धको खेलको तयारीका लागि केही नयाँ प्रयास गर्न चाहन्छौं। सकेसम्म धेरै खेलाडीलाई अवसर दिन चाहन्छौं ।’

त्यस्तै खेलाडी हार्हिस स्टेवार्टले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म राम्रो प्रदर्शन दिन चाहन्छु। टिमसँग फर्किन पाउँदा निकै उत्साहित र खुसी छु । हामी राम्रो खेल्नेछौं । अहिलेको लक्ष्य राम्रो नतिजा हासिल गर्नु हो।’

नेपाल र सिंगापूरबीच ३६ वर्ष पछि अन्तर्राष्ट्रिय फुटबल हुन लागेको छ । यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोट अन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो । जहाँ दुई लेगको खेलमा नेपाल ३-० र ५-० ले पारजित भएको थियो ।

नेपाल र सिंगापुर पाँचौ पटक भिड्न लागेका हुन् । यसअघिको चार भेटमा नेपाल जितविहिन छ । सिंगापुरले ३ खेल जित्दा १ खेल बराबरीमा सकिएको थियो । सन् १९८२ मा किंग्स कपमा पहिलो पटक भेट हादा नेपाल २-० ले पराजित भएको थियो ।

यस्तै १९८६ मा दशरथ रंगशालमै भएको सिल्भर जुब्ली कपमा नेपालले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो । यस खेललाई भने औपचारिक वा अनौपचारिक के मान्ने भन्नेबारे अन्योल नै छ ।

नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाली फुटबल टोली मैत्रीपूर्ण फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय