
घटना १ : १ चेत २०८१ राती दुईपक्ष बीचको झडपले उग्र रूप लिएपछि बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधारगृह दिनभर तनावग्रस्त भयो । बालबिज्याइँकर्ता (बालक) हरूबीच (राति २ बजे) कुटाकुट भएको हो । कुटाकुटमा दर्जनौं घाइते भए । छ जना गम्भीर घाइते भए । बालबन्दीहरूले लत्ता कपडा, भाँडाकुँडा र फर्निचरमा समेत आगजनी गरे ।
बाँके प्रहरीका अनुसार बालबन्दीहरूले बालगृहभित्र अराजकता मात्र मच्चाएनन्, तल्लो तलामा आगजनी गरेर ध्वस्त बनाए । नियन्त्रणका लागि गएका प्रहरीमाथि इँटा प्रहार गरेर तीन जना प्रहरीलाई घाइते बनाए । सुरक्षार्थ खटिएका प्रहरीले सम्झाउने प्रयास गर्दा उल्टै लखेटा लेखेट गरे । प्रहरीले भागेर ज्यान जोगाउनु पर्ने अवस्था सिर्जना भयो । मूल गेट तोडेर बाहिर निस्किएका बालबन्दीहरूले पसलमा लुटपाटदेखि स्थानीयको परालको टौवामा आगजनी समेत गरे ।
घटना २ : ४ असोज २०८० जयेन्दु बाल सुधारगृहमै एकापसमा झडप हुँदा एक बाल बन्दीको मृत्यु भयो भने १० जना घाइते भए । त्यति वेला रूपन्देहीको कञ्चन गाउँपालिका–४ का २१ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो । उनी अदालतबाट जेल सजाय भएर १० असार २०७९ मा बाल सुधारगृह आएका थिए । लागूऔषध प्रयोगकर्ता र अन्य बन्दीबीचको विवादले त्यतीबेला तनाव सिर्जना भएको थियो ।
घटना ३ : २७ भदौ २०८० मा वीरगञ्जको बालसुधार गृहमा झडप भयो । झडपमा तीन प्रहरी, ११ बालक र किशोर घाइते भए । सो बालसुधार गृहमा भक्तपुरबाट लगेकासहित एक सय ४९ जना कैदी बन्दी थिए । भक्तपुर बालसुधार गृहमा झडप भएपछि उनीहरूलाई वीरगञ्ज लगिएको थियो ।
भक्तपुरबाट गएका कैदी बन्दी र पहिलादेखि वीरगञ्जमै रहेका कैदीबन्दीबीच पटकपटक झडप र विवाद हुने गरेको थियो । भक्तपुरबाट गएका कैदीहरूले त्यहाँका नाइकेमाथि आक्रमण गर्नुका साथै बालसुधार गृहमा समेत तोडफोड र प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।
यी प्रतिनिधिमूलक उदाहरण हुन् । यस्ता कैयन घटनाको पुनरावृत्ति भइरहेको छ । यस्तै प्रकारका घटनाहरू दोहरिनु गम्भीर र चुनौतीपूर्ण अवस्था सिर्जना हुनु हो । यसो हुनुमा बालगृहको दयनीय अवस्था, ठूलो संख्याका बालबन्दी र पर्याप्त सुरक्षा व्यवस्थाको अभाव जस्ता कारणहरू देखिन्छन् ।
जस्तो कि डुडुवा– ६ असमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा दुई सय ६५ बालबन्दी रहदै आएका छन् । सामान्यतया बाल सुधार गृहभित्र प्रहरीले बल प्रयोग गर्न पाउँदैन तर प्रहरीले हालै जयेन्दु बाल सुधार गृहमा बल प्रयोग नगरेको भए थप क्षति हुने सम्भावना प्रबल थियो । प्रहरी/प्रशासनले समयमै सुझबुझपूर्ण निर्णय लियो र गम्भीर क्षति हुन पाएन ।
५० जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि झन्डै १६/१७ घण्टापछि स्थिति नियन्त्रणमा आएको हो । यो घटनामा सुरक्षा अधिकारीले संयमता, विवेक र सजगता अपानाएकै हुन् । अन्यथा जे पनि हुन सक्ने स्थिति थियो । नियन्त्रणमा लिइएका मध्ये ४० जनालाई बाकेको नौबस्ता बाल सुधार केन्द्रमा राखिएको छ । सुधार गृहको भुइँ तलामा आगजनी गरिएका कारण तत्काल बस्न नमिल्ने अवस्था छ ।
बाल सुधार गृह वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ । तथापि स्थानीयहरू भने त्रसित छन् । सुधार गृहमा पटक-पटक यस्ता घटना दोहरिन थालेपछि उनीहरूले यसलाई अन्यत्र सार्न माग गरिरहेका छन् । कुटपिट र आगजनीमा संलग्न २२ जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुई सय जनाको क्षमता रहेको सुधारगृहमा दुई सय ६५ जना रहँदै आएका थिए । जसमध्ये मुद्दा फैसला भइसकेका एक सय २९ जना छन् भने पुर्पक्षका लागि राखिएका एक सय ३६ जना छन् । बाल सुधार गृह प्रशासनका अनुसार १८ वर्ष भन्दा माथिका ७६ र १४ वर्षमुनिका एक सय ८९ जना छन् । अधिकांश लागूऔषध, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका छन् । सुधार गृहको व्यवस्थापन यूसेफ नेपाल नामक संस्थाले गर्दै आएको छ ।
दोहरिरहन्छन् झडपका घटना
यहाँ विवाद झिक्न र झगडा गर्नलाई खासै विषय नचाहिँदो रहेछ । बाल सुधार गृहमा किशोरहरू आपसमै कुटाकुटमा उत्रिएका घटनाक्रमले यो देखिन्छ । कर्तव्य ज्यान, जबरजस्ती करणी, लागूऔषध कारोबार लगायतको मुद्दामा सजाय भोगिरहेका बीचमा सामान्य विषयमा पनि झै-झगडा र विवाद भइरहने गर्दछ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार जयेन्दु बाल सुधार गृहमा स–सानो विषयमा दर्जन बढी घटना भइसकेका छन् ।
बाल सुधार गृहमा बर्दीमा प्रहरी राख्न नमिल्ने व्यवस्था छ । बालबालिका राखिएकाले त्यहाँ खटिँदा हतियार पनि बोक्न नपाइने प्रावधान छ । प्रहरीले बल प्रयोग गर्न सक्ने अवस्था नभएपछि प्रहरीलाई पत्याउने कुरै भएन । यसैको फाइदा उठाएर बालबन्दीले अराजक गतिविधि मच्चाउने गरेको सुरक्षा सम्बद्ध अधिकृतहरू बताउँछन् ।
बालबिज्याइँ मुद्दामा अदालतबाट सजाय पाएकाहरूलाई १८ वर्ष उमेरपछि पनि कारागार चलान नगरि बाल सुधार गृहमा राख्ने गरिएको छ । ठूलाले सानालाई हेप्ने, दुर्व्यवहार गर्ने र आफूले भनेको हुनुपर्ने अन्यथा कुटपिटमा उत्रिने क्रियाकलाप झै-झगडा र झडपको कारण बन्ने गरेको छ ।
लागूऔषध ओसार पसार र प्रयोग तनाव सिर्जना गर्ने अर्को कारण हो । सुरक्षाकर्मीको निगरानी कम हुँदा पनि बाल गृहमा लागूऔषध प्रयोग भएको बाल सुधार गृहमा भएकाका आफन्तहरूको आरोप छ । क्षमताभन्दा बढी संख्यामा राखिएकाले सहज सुत्न, शौचालय प्रयोग गर्न, नुहाउँन र लुगा धुन पनि समस्या हुने गरेको बालबालिकाहरू बताउँछन् ।
यी समस्या पनि झडप हुने कारणमा पर्छन् । बाँके मात्र होइन, पछिल्लो चरण अन्य बाल सुधार गृहमा पनि तनावको स्थिति सिर्जना भइरहेका छन् । भक्तपुर, वीरगञ्ज, मन्थली बाल सुधार गृहमा पनि झडप भइसकेका छन् । हाल देशभरि आठ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा यूसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालित छन् ।
घटना भइसकेपछि हामी जति चिन्ता गर्छौ, त्यस पूर्व सजगता अपनाउने सवालमा हामी संवेदनशील र जिम्मेवार बन्दैनौं । कतिपय घटनाले हामीलाई समीक्षा गर्न र आगामी रणनीति तयारी गर्न पनि पाठ सिकाइ रहेको हुन्छ । माथि उल्लिखित घटनाक्रमले बाल सुधार गृहको व्यवस्थापन र सुरक्षामा गम्भीर प्रश्नसँगै नयाँ बहस पनि उजागर गरेको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ ले अपराधमा संलग्न बालबालिकालाई बाल सुधार गृहमा राख्ने व्यवस्था गरको छ । ऐनको दफा २६ मा रहेको सजाय सम्बन्धी व्यवस्थामा कसुरजन्य कार्य गर्दा उमेर १० वर्षभन्दा माथि र १४ वर्षभन्दा कम भए बढीमा एक वर्षसम्म बाल सुधार गृहमा राख्ने भनिएको छ ।
सुधार गृहमा बस्नुपर्ने अवधि बाँकी हुँदा सम्बन्धितको उमेर १८ वर्ष पुगे अन्य बालबालिकासँग अलग हुने गरी राख्नुपर्ने भनिएको छ । नाबालक हुँदा गरेको कसुरमा सुधार गृहमा जाने बालबालिका बालिग भएपछि पनि त्यहीँ बस्नुपर्ने कानुनी व्यवस्था छ । नाबालक हुँदा गरेको अपराधको सजाय बाल सुधार गृहमै पूरा गर्नुपर्ने कानुनी व्यवस्थाका कारण पनि समस्या देखिएको बताइन्छ ।
कानुनी व्यवस्था एउटा पाटो होला तर राज्यका तर्फबाट गरिनुपर्ने दायित्व के कति पूरा गरिएको छ भनेर पनि हेर्नु पर्ने अवस्था छ । बालगृहको अवधारणा अनुसार सबै बालसुधार गृहहरूमा बालबालिकाहरूको उचित स्वास्थ्य उपचार, स्वस्थकर तथा पोसिलो खाना, अध्ययन व्यवस्था, बालमैत्री बोली–वचन तथा व्यवहार लगायतका सुविधा हुनु जरुरी छ । तर सबैजसो बालसुधार गृहहरूमा यस्तो वातावरण रहेको पाइँदैन ।
बाल सुधार गृहहरूमा सुरक्षा चुनौती पनि थपिँदै गएका छन् । झडप भइरहने घटनाले बाल सुधार गृहलाई असुरक्षित गृह बनाइदिएको छ । सुधार गृह अराजक अखडा मात्र हैन, विकृती विसंगती फैलिने र फैलाइने उर्वर थलो बन्ने डर छ । सुधार गृहमै व्यापक सुधार गर्नुपर्ने देखिन्छ । बाल सुधार गृहमा राज्यले लगानी र सुविधा बढाउनु पर्छ ।
बाल सुधार गृह सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याउनु पर्दछ । चुनौतीलाई सामना गर्ने दीर्घकालीन रणनीति बनाउनु पर्ने छ । अहिलेका बाल सुधार गृह र परम्परागत जेलमा कुनै तात्विक भिन्नता देखिएको छैन । सुधार गृहका कर्मचारीको व्यवहार र व्यवस्थापनका विषयलाई पनि सुधार गर्दै लैजानु पर्ने आवश्यक्ता छ ।
बालिग र नाबालिगलाई छुट्टै भवनमा राख्नतर्फ पनि ध्यान दिनुपर्छ । सुधार गृहलाई सुधार गृहकै रूपमा विकास गर्न आवश्यक भएको तथा सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक प्रतिवेदनमा छ ।
सो प्रतिवेदन अनुसार, सबै सुधार गृहहरूमा गुणस्तरीय शिक्षा, समय, परिस्थिति अनुसार खाना, उचित बस्ने स्थान, स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्दछ । बालमैत्री भवन, सोही अनुसारको सुत्ने कोठा, लत्ताकपडा आदिको उचित व्यवस्था मिलाउनुपर्छ । कानुनी विवादमा परेका बालबालिकाको मुद्दाको किनारा छिटो गरिनुपर्छ । बालबन्दीहरूको मनोविज्ञान बुझ्ने र उनीहरूलाई सिर्जनात्मक कार्यमा लगाउने बाताबरण बनाउन आवश्यक छ ।
प्रतिक्रिया 4