
काठमाडौं । विपिन कार्की र उपासनासिंह ठकुरी स्टारर फिल्म ‘कर्मा’को डान्सिङ ट्रयाक ‘सारी लगाइदेऊ’ युट्युबमा सार्वजनिक भएको छ । भास्कर स्वारको संगीत, सुष्मा सिग्देलको शब्द र सलिना बिकको स्वर समावेश छ ।
रत्यौली संस्कृतिमा तयार पारिएको गीतको अडियो र भिडियो दुबै आकर्षक छन् । वैवाहिक समारोहको सेटिङमा खिचिएको यो गीतमा विपिनलाई फकाउन उपासना र उनका साथीहरूले प्रस्तुत गरेको नृत्यको सन्दर्भ कम्पोज गरिएको छ ।
मायाप्रेम दर्शाउँदै व्यङ्ग्य प्रस्तुत गरिएको गीतले मर्दपनको पनि कुरा गर्छ । प्रेम र व्यङ्ग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माताको विश्वास छ ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा महिलाको पहिरन र मेकअपमा विपीन देखिँदा गीत ठठ्यौली र रमाइलो पनि देखिएको छ । फिल्ममा मुकुन भुसाल, सरिता गिरी, दिब्यदेव पन्त, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ ।
‘कर्मा’ चैत २९ गतेदेखि नेपाल र विदेशमा रिलिज हुँदै छ । एक्सन जनरामा निर्माण भएको फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
प्रतिक्रिया 4