+
+
Shares

सुडानको राष्ट्रपति कार्यालय फेरि सेनाको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १७:३३

८ चैत, काठमाडौं । सुडानी सेनाले राजधानी खार्तुममा राष्ट्रपति भवनलाई पुनः नियन्त्रणमा लिएको छ । बीबीसीका अनुसार त्यहाँको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बाट राष्ट्रपति भवन फिर्ता लिएको सैन्य नेताहरूले पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो र तस्बिरहरूमा सैनिकहरूलाई खुसीले आफ्ना बन्दुकहरू हावामा नचाउदै, नारा लगाउँदै र प्रार्थना गर्दै गरेको देख्न सकिन्छ।

दुई वर्षअघि, र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले सुडानी सेनालाई राजधानी खार्तुमबाट बाहिर निकालेको थियो।

हालसम्म आरएसएफले यस घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन।

सेनाका प्रवक्ता नबिल अब्दुल्लाहले सरकारी टेलिभिजनमार्फत भने, ‘हाम्रो सेनाले राष्ट्रपति भवन र केन्द्रीय खार्तुममा रहेका मन्त्रालयका भवनहरूमा नियन्त्रणमा लिएको छ।’

उनले अगाडि थपेका छन्, ‘हाम्रो सेनाले शत्रुका लडाकुहरू र उपकरणहरूलाई पूर्ण रूपमा ध्वस्त पारेको छ र ठूलो मात्रामा हतियार तथा उपकरणहरू कब्जामा लिएको छ।’

उनले पूर्ण विजय नभएसम्म लडाइँ जारी राख्ने बताएका छन् ।

खार्तुमबाट दुई वर्षअघि सुडानको गृहयुद्ध सुरु भएको थियो र त्यहाँ केही सबैभन्दा ठूला युद्ध लडिएका थिए।

युद्ध सुरु भएदेखि नै आरएसएफले राजधानी खार्तुम र सुडानको पश्चिमी भागमा नियन्त्रण कायम गरेको थियो।

संयुक्त राष्ट्रसंघका अनुसार, यो युद्ध विश्वको सबैभन्दा ठूलो मानवीय संकटमा परिणत भइसकेको छ । यस युद्धमा सेना र आरएसएफ दुवै पक्षलाई मानव अधिकार उल्लङ्घनको गम्भीर आरोप लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?