
८ चैत, काठमाडौं । विद्युत् प्राधिकरणको लापरबाहीका कारण अघोषित लोडसेडिङको मारमा परेका उद्योगहरूले वैकल्पिक व्यवस्था गरेर उद्योगधन्दा चलाइरहेका छन् ।
गत जेठदेखि नै अघोषित लोडसेडिङको मारमा परेका धागो उद्योगले डिजेलको व्यवस्था गरेर उद्योग चलाइरहेका हुन् ।
गत आइतबारदेखि देशमा सञ्चालित उद्योगहरूले दैनिक १२ घण्टा लोडसेडिङ बेहोर्न थालेपछि नेपालको औद्योगिक क्षेत्र चिन्तित बनिरहेको छ । तर, यही समयमा धागो उद्योग भने वैकल्पिक इन्धन प्रयोग गरेर भए पनि उत्पादन नघटाउने पक्षमा छन् ।
उसो त विद्युत प्राधिकरणले बिजुलीको माग र आपूर्तिबीच सन्तुलन मिलाउन नसक्दा देशमा औद्योगिक वातावरण नै बिथोलिएको छ । पछिल्लो समय देशभरिका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीविना विद्युत कटौती गरिएको छ । जसका कारण उद्योगहरूले आफैं वैकल्पिक उपायमार्फत् उत्पादनका काम गर्दै आएका छन् ।
धागो उत्पादनमा अग्रपंक्तिमा रहेको रिलायन्स स्पिनिङ मिल्सले केही वर्षदेखि नै सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको छ । रुफटपमा राखिएको सोलार प्यानलले ९ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । विगतदेखि नै अघोषित लोडसेडिङ भइरहने गरेकाले उद्योगले वैकल्पिक ऊर्जा व्यवस्थापन गर्नुपरेको हो ।
अहिले विनासूचना नै नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्ति कटौती गरेको समयमा सोही वैकल्पिक ऊर्जाबाट उद्योग सञ्चालन भइरहेको छ । यसबाट प्राधिकरणले विद्युत कटौती हुँदा व्यवसायीले वैकल्पिक ऊर्जा प्रयोग गर्न बाध्य भएका हुन् । सोलारले पनि नपुगेको अवस्थामा भने उद्योगले डिजेल प्रयोग गरेर ऊर्जा व्यवस्थापन गर्ने गरेको छ ।
उद्योगहरूले उत्पादन कटौती गर्दा त्यसको असर उद्योगलाई मात्र नपरेर हरेक नागरिकलाई पर्न जान्छ । रोजगारी कटौतीदेखि आर्थिक पाटोमा समस्या पर्ने अवस्था सिर्जना हुन्छ । तर, अहिलेको विषम परिस्थितिमा वैकल्पिक उपायबाट भए पनि उत्पादनलाई निरन्तरता दिएर निर्यात र रोजगारीमा संकुचन आउन नदिने रिलायन्स स्पिनिङ मिल्सको भनाइ छ ।
रिलायन्स स्पिनिङ मिल्समा ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । वैकल्पिक ऊर्जा खर्च गरेर उद्योग चलाउँदा ती सबैलाई सहज हुने र राज्यलाई पनि सहज हुने उद्योगको बुझाइ छ । यो उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै देशमा निर्यात गर्दै आएको छ ।
लोडसेडिङ भए पनि सबैमा निर्यात गराइरहने उद्योगले जनाएको छ । आफ्नो उत्पादनको ठूलो हिस्सा निर्यात गर्ने यस कम्पनीले निर्यात नबिथोल्नका लागि पनि वैकल्पिक ऊर्जा व्यवस्थापन गरी उद्योग चलाइरहेको हो ।
लोडसेडिङको मारमा जगदम्बा स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स लगायत पनि छन् । यतिमात्र नभएर प्राधिकरणको अव्यावहारिक नीति र अघोषित लोडसेडिङका कारण धेरै उद्योगले उत्पादन कटौतीदेखि कर्मचारी कटौती समेत गर्दै आएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातिको समयमा माथिल्लो तामाकोशी र कुलेखानी जस्ता आयोजना चलाउन सकिने भए पनि उद्योगीलाई नदिनकै लागि नचलाउने बताउँदै आएको उद्योगीहरूको आरोप छ ।
उद्योगी र सरकारसँग झगडा गर्दै मुलुकलाई अघोषित लोडसेडिङको भूमरीमा पार्दै आएका घिसिङले उद्योगीहरूलाई प्रभावित पार्ने गरी विद्युत आपूर्ति कटौती गर्दै आइरहेका छन् । घिसिङको यो कामबाट सरकार रुष्ट बनेको छ ।
प्रतिक्रिया 4