८ चैत, काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।
सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १-० ले पराजित गरेको हो ।
नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टचमा गोल गरेका हुन् । जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन् । यसअघि गत नोभेम्बरमा अफगानिस्तान विरुद्ध मैत्रीपूर्ण खेलमा पनि जिलेस्पीले नेपालका लागि गोल गरेका थिए । उनले नेपालले खेलेको पछिल्लो चार मध्ये तीन खेलमा गोल गरेका हुन् । विश्वकप छनोट अन्तर्गत गत जुनमा साउदी अरेबियामा भएको यमन विरुद्धको २-२ को बराबरी खेलेमा पनि जिलेस्पीले गोल गरेका थिए ।
त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन ।
सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए ।
यसै खेलबाट नेपालका लागि दुई नयाँ खेलाडीले सिनियर टिममा डेब्यु गरे । पहिलो पटक राष्ट्रिय टिममा परेका सुमन श्रेष्ठ र सुबास बम ठकुरीले सिंगापुर विरुद्ध डेब्यु गरेका हुन् । दुवैले पहिलो पटक राष्ट्रिय टिममा पर्दा नै डेब्यु गर्ने अवसर पाए । डिफेण्डर सुमन श्रेष्ठले पहिलो रोजाईँमै खेल्दै डेब्युको अवसर पाएका हुन् । यस्तै युवा फरवार्ड सुबास बमले ७२औं मिनेटमा एरिक विष्टको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।
एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।
तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुब्ली कपमा नेपाल र सिंगापुरले बराबरी खेलेको थियो ।
नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।
प्रतिक्रिया 4