
८ चैत, काठमाडौं । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई पुनः निरन्तरता दिने संकेत अमेरिकाले गरेको छ ।
शुक्रबार भारत भ्रमण सकेर स्वदेश फर्केकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सहयोग परियोजना एमसीसीबारे अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गिलसँग कुराकानी गरेको जानकारी गराइन् ।
भेटवार्ताका क्रममा गिलले एमसीसी परियोजना निरन्तर कायम रहनेमा आफूहरू आशावादी रहेको जानकारी गराएको परराष्ट्रमन्त्री राणाले बताएकी छिन् ।
‘एमसीसीको बारेमा अमेरिकाले पुनर्मूल्यांकन गरिरहेको र यो सहयोग निरन्तर कायम रहनेमा आशावादी छौं भन्ने जानकारी गिलले गराउनुभएको छ,’ परराष्ट्रमन्त्री देउवाले भनिन् ।
उनले यस्ता सहयोग रोकिँदा नेपालजस्ता अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौतीको सम्बोधन गर्न आग्रह गरेको बताइन् ।
‘नेपाल सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौतीहरूको सम्बोधन गर्न सहयोगको लागि अनुरोध गरेँ,’ राणाले भनिन् ।
हाल अमेरिकी सहयोग नियोग (युएसएड)अन्तर्गतका अधिकांश कार्यक्रम रद्द गरिएका छन् ।
त्यस्तै, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को सहयोग पनि ९० दिन स्थगनमा परेको छ ।
विपिनबारे अमेरिका गम्भीर
त्यस्तै, परराष्ट्रमन्त्री राणाले हमासको समूहले बन्धक बनाएर राखेका नेपाली विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न अनुरोध गरेको पनि बताइन् ।
७ अक्टोबर २०२३ देखि विपिनलाई हमासले बन्धक बनाएको छ । उक्त विषयमा गिललाई जानकारी गराइएको राणाले जानकारी गराइन् ।
‘अमेरिकाको ह्वाइट हाउसमा नै बन्धकहरु हेर्ने एउटा युनिट रहेछ । त्यो युनिटले अमेरिकी बन्धकसँग विपिन जोशीको रिहाइमा पनि काम गरिरहेको रहेछ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।
‘उहाँ सकुशल हुनुहुन्छ भने जसरी अमेरिकी नागरिकका लागि पहल गरेका र्छौं, विपिन जोशीका लागि पनि गर्छौं भन्ने प्रतिबद्धता प्राप्त भएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।
युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाससँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रुपमा रहेका ७ जना नेपाली नागरिकहरूको तत्काल रिहाइ र स्वदेश फिर्ताको सहजीकरणका निम्ति अनुरोध गरेको देउवाले जानकारी दिइन् ।
युक्रेनी परराष्ट्रमन्त्रीले त्यसका लागि तत्कालै आवश्यक प्रक्रिया सुरु गर्ने प्रतिवद्धता गरेको पनि उनले जनाइन् । सो क्रममा नेपाल र युक्रेनबीच कूटनीतिक, अफिसियल तथा सर्भिस पासपोर्टका लागि भिसा छुट सम्झौतामा हस्ताक्षर भएको छ ।
भारत भ्रमणमा रहँदा देउवाले भारतीय विदेशमन्त्री डा एश जयशंकर, मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरु तथा संयुक्त राष्ट्र अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँग भेटेकी थिइन् ।
प्रतिक्रिया 4