
८ चैत, विराटनगर । होटल रत्नामा रहेको सम्राट क्यासिनो बाहिर भएको झडपको अनुसन्धानका लागि प्रहरीले अपराधिक पृष्ठभूमिका अभिषेक गिरीका सहयोगी राजु श्रेष्ठलाई पक्राउ गरेको छ । झापा घर भएका ३८ वर्षीय श्रेष्ठ विराटनगर बस्दै आएका छन् । उनलाई बुधबार पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
आइतबार राति क्यासिनोमा प्रवेशको विषयमा विवाद हुँदा गिरीको समूहसँग अर्का अपराधिक पृष्ठभूमिका किरण लामा र रोनाल कँडेलको कुटाकुट भएको थियो ।
लामा एमालेको नवनिर्वाचित जिल्ला सदस्य हुन् । कँडेल कांग्रेसको तरुण दलमा आवद्ध छन् ।
झडपको घटनाको अनुसन्धानका लागि प्रहरीले क्यासिनो सञ्चालकको जिम्मेवारीमा रहेका ३८ वर्षीय श्रेष्ठसँग क्यासिनोको सिसीटिभी फुटेज मागेको थियो । तर उनले प्रहरीलाई फुटेज दिएनन् । अनुसन्धानमा सहयोग पनि गरेनन् ।
अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको छ ।
डिएसपी जोशीका अनुसार गिरी र श्रेष्ठ एउटै मुद्दामा कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।
२०७१ सालमा काठमाडौंमा गिरीले अच्युतप्रसाद रेग्मीलाई अपहरण गर्दा श्रेष्ठ सहयोगी थिए । रेग्मीसँग १० लाख फिरौती असुलेको आरोपमा २०७१ साल साउन तेस्रो साता गिरीसहित झापाका मिलन लिम्बू र राजु श्रेष्ठ, काठमाडौंकी शारदा सिलवाल भन्ने कवितादेवी शाक्य पक्राउ परेका थिए ।
शरीर बन्धक तथा अपहरण मुद्दामा गिरी र श्रेष्ठलाई ९ वर्ष कैदको फैसला भएको थियो । ९ वर्ष कैद भुक्तापछि गिरी २०७९ चैत ६ गते कारागारबाट छुटे ।
कारागारबाट छुट्दा गिरी चौकिदार थिए । गिरी छुटेको केही महिनापछि श्रेष्ठ पनि कारागार मुक्त भए ।
त्यसपछि उनी गिरीको समूहमा सक्रिय छन् । ‘कारागार भित्रैबाट विराटनगरमा गिरीले गतिविधि चलाउँदा श्रेष्ठ सहयोगी थिए । छुटेपछि उनीहरू सँगसँगै छन् ।’
पछिल्लो समय रत्नाको सम्राट क्यासिनोको सञ्चालकको जिम्मेवारी गिरीले नै श्रेष्ठलाई दिएको प्रहरी बताउँछ । ‘क्यासिनोमा देखिनेगरी अभिषेक गिरी छैनन्, उनले राजु श्रेष्ठलाई अगाडि सारेको छ,’ प्रहरी स्रोत भन्छ,‘ विगत हेर्ने हो भने अभिषेकको क्राइम पाटनर हुन्, राजु श्रेष्ठ ।’
चैत ३ गते आइतबार राति विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा गिरीसहितको समूहसँग किरण लामा र रोनाल कँडेलको कुटाकुट भएको थियो । कुटाकुटमा गिरी सामान्य घाइते छन् । कँडेल र लामा पनि घाइते छन् ।
घटनाको भोलिपल्ट गिरीका भतिज निकेश गिरीले आफूमाथि हातपात भएको भन्दै कँडेल र लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका थिए ।
कँडेलको परिवारबाट प्रहरीमा जाहेरी परेको छ ।
गिरीको समूहले मध्यरातमा घरमा प्रवेश गरी धम्की दिएको भन्दै उजुरी परेको हो ।
प्रहरीका अनुसार आइतबार रातिको झगडापछि राति लामा र कँडेल भागेका थिए । मध्यरातमै गिरीको समूह उनीहरुलाई खोज्दै दुवैको घरमा पुगेको थियो । घरमा पुगेर धम्की पनि दिएपछि कँडेलको परिवार प्रहरीसम्म पुगेको थियो ।
प्रहरीले दुवै समूहलाई पक्राउ गरेको छैन । राजनीतिक संरक्षणमा अपराधिक गतिविधि गरिरहेका उनीहरू विराटनगरमा छन् ।
प्रहरी भने दुवै पक्षलाई खोजिरहेको बताउँछ । ‘दुवै तर्फबाट उजुरी आएको छ, निवेदन दर्ता गरेर मान्छे खोज्दैछौं,’ मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले भने, ‘प्रहरीले आफ्नो ढंगले अनुसन्धान गरिरहेको छ ।’
२०७९ चैतमा कारागारबाट छुटेपछि अभिषेक गिरी सामाजिक काममा सक्रिय भएको देखाउँछन्, नेपाली कांग्रेसको राजनीतिमा पनि छन् ।
प्रतिक्रिया 4