+
+
Shares

उत्ताउला मोदी र लोभी ट्रम्प

यस्तो लहरले जनताको आँखामा अफवाहको पट्टी बाँधिदिन्छ। हामी हिटलरको स्वस्तिक चिह्नलाई विश्वास गर्न लाग्छौं, ट्रम्पको संरक्षणवादलाई अमेरिकाको रोजगारी जोगाउने हतियार ठान्छौं र मोदीको ‘विश्व गुरु’ नारालाई भारत कायापलट गर्ने मन्त्र मान्दछौं।

दीपक ओली दीपक ओली
२०८१ चैत ९ गते २०:१०

यतिखेरको अन्तर्राष्ट्रिय माहोललाई दुई साना-साना आँखीझ्यालबाट नियाल्ने हो भने त्यो राजनीतिक दाउपेच र उतारचढावपूर्ण देखिन्छ। त्यहाँ शक्तिको निर्मम प्रयोग अनि स्वार्थी राजनीतिक मनोदशाले मानवीय संवेदनालाई गाँजिराखेको कुरा सजिलै दृष्टिगोचर हुन्छ। आफ्ना कटु आलोचक र यतिखेरको विश्व राजनीतिमा ‘राइटिस्ट’ धारको नेतृत्व गरिराखेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न हाँप र जाँप गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुगे।

मानिसहरूले सजिलै अनुमान गर्न सक्थे कि यसरी आफूलाई मन नपराउने व्यक्तिलाई हतार-हतार भेट्न दौडनु र मन नपर्ने मोदीलाई सजिलै भेट्न तयार हुनुमा पक्कै दुवै पक्षका आ-आफ्ना विशेष ‘इन्ट्रेस्ट’ हुनुपर्छ।

मोदीलाई आफू विश्व शक्तिमा दरिन यति हतार भइसकेको छ कि उनले भारतीय समाजमा जकडिएर रहेका गरिबी, अशिक्षा र पीडा बुझ्न छोडिसकेका छन्। उनी यतिखेर अर्बौं अर्ब खन्याएर अत्यन्त शक्तिशाली मार गर्न सक्ने फाइटर जेट किनेर र लाखौं लाख मानिसलाई एकै पटकमा खरानी बनाइदिन सक्ने आधुनिक हातहतियारको संकलन गरेर नै भारतलाई विश्व गुरु र समृद्ध बनाउन सक्ने खालको सोच लिएर अगाडि बढेका देखिन्छन्।

फाइटर जेटकै कुरा गर्ने हो भने पनि हाल भारतसँग फ्रान्सबाट २०१९ मै ल्याएको ३६ राफेल, रसियासँग किनेको  र अमेरिकासँग किन्न लागेको सहित ६५० जति त्यस्ता जेट छन्। पाकिस्तानसँग पनि ४०० जति त्यस्ता फाइटर जेट छन् भने चीनसँग १५०० को हाराहारीमा फाइटर जेट छन् भन्ने मानिन्छ। चीनले यकिन तथ्यांक बाहिर नल्याउने भएकोले त्यो संख्या निकै बढी हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय द्वन्द्व विश्लेषकहरू लख काट्छन्।

‘पीएम’ मोदीलाई किन ‘कल्म्जी’ भनिएको होला ? यो प्रश्न पाठकको मनमा उठ्नु स्वाभाविक नै हो। पहिलो पटक प्रधानमन्त्री हुँदा शुरुआती दिनहरूमा मोदीले साँच्चै नै एक विशाल हृदय र महान् सोचका साथ अघि बढेको नेताको परिचय बनाउलान् जस्तो देखिएको थियो।

‘नेभरहुड फर्स्ट’ भन्ने नारा सहित नेपाल लगायतका धेरै छिमेकी देशमा भ्रमण गरेर सहअस्तित्व र सहयात्री जस्तो आत्मीय व्यवहार प्रदर्शन गरे। नेपालको संसद् भवनमा उनले गरेको भाषण अहिलेसम्म पनि सम्झनलायक भाषणमा पर्छ।

तर जब उनले छिमेकी राष्ट्रका आन्तरिक कुराहरूमा हस्तक्षेप गर्न लागे, ‘हमारा भारत महान्’, तिमीहरूभन्दा हामी उच्चकोटिका मानिस हौं भन्ने भाष्यका व्यवहार देखाउन लागे, उनलाई छिमेकीहरूले एक-एक गर्दै छोड्दै गए।

आज भारतसँग हित मिल्ने गरी नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान वा भनौं कुनै पनि नजिकका छिमेकी छैनन्। पाकिस्तान र चीनको त कुरै नगरौं किनकि राम्रो सम्बन्ध भएका छिमेकीसँगको सम्बन्ध त थाम्न नसकेको मोदी प्रशासनले पहिल्यै चिढिएका छिमेकीसँग सम्बन्ध सुधार गर्न के पहल गर्थ्यो ?

मोदीले हालै ट्रम्पसँग अर्बौंको अत्याधुनिक फाइटर जेटहरू किन्ने सम्झौता गरे, जुन कुरा हालको उनको देशको अवस्था र भूमण्डलीय अवस्थिति हेर्दा ‘भुइँको टिप्न खोज्दा पोल्टाको गुमाए’ जस्तै कुरा हो। खासमा आज भारतलाई कुनै खालको आधुनिक हातहतियारमा लगानी गर्न जरुरत नै छैन किनकि भारतसँग भएको विद्यमान सैन्य शक्तिले हालको उसले शत्रु राष्ट्र भनेर चिनेको एउटा देश पाकिस्तानलाई सहजै मात दिन सक्छ भने अर्को देश चीनलाई भारतको पूरै वर्षको बजेटको हतियार किने पनि युद्ध गरेर जित्न असम्भव देखिन्छ।

क्षेत्रीय शक्ति–सन्तुलनको दृष्टिकोणबाट हेर्दा पाकिस्तान लगायतका अन्य देशलाई डर देखाउन भारत यत्तिकै सक्षम छ, जुन पोल्टाभित्रको कुरा जस्तै भयो र त्यसबाहिर गएर चीनलाई पनि धमास दिन खोज्दा न त त्यो सम्भव देखिन्छ, न त अर्बौंको स्रोत विकास र गरिब जनताको सेवा र उत्थानमा प्रयोग गर्न सकिन्छ। घातक हातहतियार थुपार्नमा नै गरिब जनताले तिरेको करको ठूलो हिस्सा प्रयोग हुने अवस्था हाल भारतमा छ।

एक अर्को प्रसङ्गमा कुरा गरौं। सन् २०२३ मा दिल्लीमा आयोजना भएको ‘जी २०’ समूहको शिखर सम्मेलनमा गरिबी लुकाउने नाउँमा मोदीले हजारौं मिटर कपडाले दिल्लीका गरिब मानिसहरूका घरहरू ढाकिदिएका थिए, जसले गर्दा कति मानिसहरू आफ्नो काममा र किनमेल जान समेत पाएका थिएनन्। तर दिल्लीलाई बेहुली जस्तै गरी सिंगार्नको लागि भने अर्बौंका गमला, मोदीका तस्बिरका ठूला-ठूला फ्लेक्सहरू र अन्य सजावटका सामग्रीहरूको प्रयोग भएको थियो। मोदीजीले गरिब हटाउने होइन बरु गरिबी चाहिं हटाउने कुरा हो भन्ने कुरा विस्तारै भुल्दै गएको देखिन्छ।

देश र जनताको आवश्यकता एकातिर मोदीको उडान युद्धपोत विमान थुपार्ने, उत्ताउलिए मिस्टर प्रेसिडेन्ट ‘ट्रम्प’ लाई भेट्न पुग्ने, हिन्दुसापेक्षिक राज्यको निर्माणमा पृष्ठपोषण, अनि विपक्षी, अल्पसंख्यक र अन्य धार्मिक अनुयायीको दपोट गर्नेतिर। त्यसैले उनी कल्मजी देखिएका हुन्।

अब लागौं मिस्टर ‘प्रेसिडेन्ट’ कसरी ‘कनिंग’ वालोभी हुन् भन्नेतिर। अमेरिकाका ठूला व्यापारी भएकोले उनी नाफा-घाटा हेरेर काम गर्छन् भन्ने कुरामा कुनै विवाद नै भएन। उद्योगी वा व्यापारी मान्छेले राजनीति गरेको र देशको राष्ट्रपति बनेको कुरामा पनि कुनै मोलाहिजा हैन।

तर अमेरिकाको राष्ट्रपति जो घोषित वा अघोषित रूपमै विश्व नेता हो, विश्वभरिका मानिसहरूको अभिभावक हो, उसले हरेक वार्ता, अन्तरक्रिया, नीति र व्यवहारमा नाफा मात्रै हेर्‍यो भने के होला? मानवअधिकार, मानवीय संवेदना, मानव मूल्यलाई व्यापारको तुलोमा राखेर जोख्न खोज्यो भने कस्तो नतिजा आउला ? अहिले भएको त्यस्तै छ। त्यसैले ट्रम्प कनिंग हुन्।

केही दिन अगाडिसम्म भारतको भन्सार नीतिमार मोदीका व्यवहारमा कडा आलोचना गरिरहेका ट्रम्पले जब भारतले आफ्ना फाइटर जेट र हातहतियार किन्छ भन्ने थाहा पाए, एकाएक मोदीलाई भेट्न तयार मात्रै भएनन् बरु मोदीको प्रशंसा समेत गर्न पुगे। उनलाई अमेरिकी हतियारको बिक्री प्रवर्धनमा ठूलो ‘इन्ट्रेस्ट’ छ भन्ने सबैलाई थाहा भएकै कुरा हो तर हिजोसम्म आलोचना गरेको मानिसको आजै प्रशंसा गर्ने गरी लोभी देखिनु अमेरिकी राष्ट्रपतिको लागि सुहाउने विषय थिएन।

अमेरिकी राष्ट्रपतिको निर्वाचन अघि एउटा भाष्य निर्माण भएको थियो, जसले ठूलो-ठूलो स्वरमा उद्घोष गरेको थियो कि ट्रम्प राष्ट्रपति भए भने दुई दिनभित्रमा छुमन्तर गरेर हाल चलिरहेका सबै युद्धहरू सदाको लागि अन्त्य हुनेछन्। युक्रेन युद्ध, प्यालेस्टाइन युद्ध लगायत सबै युद्धमा अनाहक ज्यान गुमाइराखेका निर्दोष र निर्बल बालबालिका, महिला, वृद्ध वा युवा सबै मानिसले राहत पाउने छन् र सन्तोषको सास फेर्न पाउने छन्। तर त्यसो भएन।

प्यालेस्टाइनमा युद्ध झन् चर्किने अवस्था बन्यो किनकि ट्रम्पका चुनावी योगदानकर्ताहरूलाई त्यो मान्य भएन। युक्रेनमा अझ धेरै मानिसले मृत्युवरण गरिरहनुपरेको छ किनकि उनले युद्ध रोके बापतको इनामको रूपमा युक्रेनको खनिज प्रयोग गर्न नपाउने भए। अर्थात् अमेरिकीहरूले युक्रेनी खनिजसँग युक्रेनी जनताको जीवन साटिरहेका छन्।

अर्कोतिर युक्रेनी राष्ट्रपति जिलेस्कीले सकेसम्म आफ्नो राष्ट्रको स्वाभिमानलाई अक्षुण्ण राख्न सक्दो प्रयास गरे। ‘ओभलहाउस’मा वार्ता गर्ने क्रममा ट्रम्पले जिलेस्कीलाई गलाउन साम-दाम-दण्ड-भेद सबै प्रयोग गरेको प्रष्ट देख्न सकिन्छ तर जिलेस्की गलेनन्।

यद्यपि जब उनले आफ्ना सहयोगी तथा समकक्षी युरोपेली मित्रहरूसँग कुरा गरे तब उनलाई लाग्यो कि ट्रम्पसँग सिंगौरी खेल्नु वा आफ्नो देशको खनिजको संरक्षण गर्नु भन्दा मानिसको जीवनको मूल्य धेरै महत्वपूर्ण छ।

त्यसैले उनले लचकता देखाउँदै खनिज समेत प्रयोग गर्न दिने गरी ट्रम्पसँग फेरि वार्ता गर्न चाहेका छन्। उनले व्यापारिक लाभ, राष्ट्रियताको नारा र आत्मसम्मानलाई भन्दा मानिसको जीवन र मानवतालाई बढी महत्व दिन खोजेको देखिन्छ, जुन आफैंमा सकारात्मक कुरा हो।

ट्रम्पकालमा अमेरिकाले आफ्नो देशका उद्योग र रोजगारीको संरक्षण गर्ने नाममा भन्सार शुल्क अत्यधिक बढाउने नीतिलाई मुख्य रूपमा अंगीकार गर्न खोजेको देखिन्छ। जसले गर्दा विदेशी सर-सामान महँगो पर्न गई तिनीहरूको बिक्री घट्ने, स्वदेशी सामानको बिक्री बढ्ने र सोही अनुसार स्वदेशी व्यवसाय उकासिन गई रोजगारी पनि बढ्ने आकलन ट्रम्प र उनका सल्लाहकारहरूले गरेका छन्।

तर विश्वमै दोस्रो ठूलो निर्यातकर्ता ($२.०२ ट्रिलियन, २०२४) रहेको अमेरिकाले सबैलाई चिढ्याउँदा आफ्नो व्यापार कसरी वृद्धि होला र आफ्ना उद्योग कसरी फस्टाउलान् ? अमेरिकामा आयात हुने सामान मध्येमा कच्चा पदार्थको हिस्सा ठूलो छ, जसले गर्दा अमेरिकी उद्योगका सामानको मूल्य पनि ह्वात्तै बढ्नेछ। एक सर्वेक्षणको आकलन अनुसार सन् २०२५ को अन्त्यसम्ममा अमेरिकी नागरिकको ‘कस्ट अफ लिविंग’ झन्डै २००० डलरले बढ्नेछ।

हाल चीनको निर्यात मात्र अमेरिकाको भन्दा बढी छ। चीनले अन्तर्राष्ट्रिय व्यापारमा १४ प्रतिशत भन्दा बढी हिस्सा लिन्छ भने अमेरिकाको हिस्सा लगभग ८.५ प्रतिशत जति छ। चीनको प्रगतिको इर्ष्याले गोलमटोल खाले निर्णय गर्दै जानु भनेको ‘जुम्रा पर्‍यो भनेर कपालमा आगो लगाउनु’ जस्तै हो।

यसले कसैलाई भलो गर्दैन र अन्तर्राष्ट्रिय रंगमंचमा अमेरिका एक्लिंदै जाने लगभग पक्का छ। भर्खरै फ्रान्सका एक सांसदले संसद् भवनमा बोल्दै ‘अमेरिकी जनतालाई ट्रम्पबाट जोगाउनुपर्ने’ बताएका छन्।

आज हामी विश्वभरका मानिसहरू रोजगारी र व्यावसायिकताको संरक्षण गर्ने नाममा ‘राइटिस्ट’ अथवा नश्लीय र पुरातन सोच भएका मानिसहरूलाई सत्तामा ल्याउन उद्यत देखिन्छौं। चाहे त्यो बेलायती ‘ब्रेक्जिट’ होस् वा अमेरिकन ‘ट्रम्प’ वा फ्रान्सेली ‘मारी लु’ वा भारतीय मोदीको रूपमा नै किन नहोस् ?

राष्ट्रवादको नारा र नश्लीयताका सोचहरूले राम्रालाई होइन हाम्रालाई, विकासलाई होइन नारालाई, मानवतालाई होइन राष्ट्रवादलाई महत्व दिन्छ। गौरवशाली इतिहासको हवाला दिन्छ र उहिलेका तथाकथित गौरवहरूको खोल ओढ्छ। आफ्नो पहिचानमा गौरव र अरूको पहिचानमा जातीयता देख्छ।

यस्तो लहरले जनताको आँखामा एकखाले अफवाहको पट्टी बाँधिदिन्छ। हामी हिटलरको स्वस्तिक चिह्नलाई विश्वास गर्न लाग्छौं, ट्रम्पको संरक्षणवादलाई अमेरिकाका व्यापारी र रोजगारी जोगाउने हतियार ठान्छौं, मोदीको ‘विश्व गुरु’ नारालाई भारतलाई कायापलट गर्ने मन्त्र मान्दछौं र नेपालको चुच्चे नक्शालाई राष्ट्रवादको महान् द्योतक देख्छौं।

त्यसपछि हामी सहिष्णुता र सहअस्तित्वलाई एकातिर थन्क्याएर भटाभट हिटलरलाई भोट खन्याउँछौं, आफू-आफूमै काटमार शुरू गर्छौं, नश्लीय सफायाको अभियान चलाउँछौं, मानव समुदायले हजारौं वर्ष लगाएर प्राप्त गरेका उपलब्धिहरू नामेट गरिदिन्छौं, र समाजलाई सयौं वर्ष पछाडि धकेल्छौं।

लेखक
दीपक ओली

डोल्पाको समाज, जीवन र सामाजिक द्वन्द्वबारे अध्ययनरत लेखक आर्थिक-सामाजिक विषयमा कमल चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?