+
+
Shares

बेहुली भृकुटीलाई अन्माउँदा दिइएका आशीर्वादहरू

भृकुटीदेवी जन्मभूमि नेपालका नेपाली मूल्य, मान्यता, विश्वास प्रणाली ब्रह्माण्डभरि गुञ्जायमान छन् । 

शैलेन्द्रबहादुर थापा शैलेन्द्रबहादुर थापा
२०८१ चैत ९ गते १४:१४

(व)स्रोङ(व)त्सन(स) गमपोले वि.सं. ६८९ (सन् ६३२) सम्ममा ल्हासाको करीब करीब आधारशिला खडा गरी शक्तिशाली तिब्बत (ट्युवो) अधिराज्यको स्थापना गरे । त्यही वर्ष दक्षिण (नेपाल) र चीनका राजाकी छोरीसँग कूटनीतिक पारिवारिक विवाह गर्ने इच्छाको सुन्दर योजना बनाए ।

सर्वप्रथम नेपाल (खोपासी क्षेत्र) का राजा उदयदेव (ह्वेशार गोचा) र रानी भद्रावतीको गर्भबाट वि.सं. ६८१ (सन् ६२४) मकर संक्रान्ति (माघ वदी १) मा जन्मिएकी ९ वर्षीया छोरी भृकुटी (ल्हाच्हिग ठ्रित्सुन) लाई बिहे गरी रानी बनाउने निर्णय लिए । (शिवाकोटी, प्रा.डा.गोपाल, २०७५, अन्तर्वार्ता) ।

त्यसै कामका लागि तिब्बती मन्त्रीका अङ्गरक्षकहरू, राजाका तीन वटा सन्देश–पत्रहरू, दोभाषे सहित मन्त्रीद्वय गार तोङ्सेन युलसुङ् र थोनमी सम्भोटालाई भृकुटी जन्मस्थल खोपासी (कुर्पासी) तर्फ पठाए । मन्त्रीद्वय केरुङको बाटो भएर खोपासी आउने तयारी स्वरुप वि.सं. ६८९ को आश्विन अन्तिम हप्ता (तिब्बती पात्रो अनुसार अटम महिनाको ८) तिर ल्हासाबाट हिंडे ।

यो विवाह प्रतिनिधिमण्डल ६८९ साल मंसिरको तेस्रो हप्ता तदनुसार सन् ६३२ को डिसेम्बर अन्तिमतिर केरुङ–रसुवागढी हुँदै नेपाल आइपुगेको देखिन्छ (थापा शैलेन्द्रबहादुर, ‘सिपाही वार्षिक’ वर्ष ५७ (५८), २०८१ : ५) ।

(व)स्रोङ(व)त्सन(स) गमपोद्वारा लिखित ‘मणि काबुम भोलुम क’ सँग सम्बद्ध आवश्यक विषयवस्तुलाई तिब्बती अनुवादक बुरिङ चेनद्वारा नेपालीमा गरिएको अनुवाद सुनौंः (व)स्रोङ(व)त्सन(स) गमपोले मन्त्री गार तोङसेन मार्फत पठाएको सुरक्षा कवच भृकुटीलाई उपहार दिए ।

उदयदेवले १० कुशल धर्मको देश नेपालका राजाको छोरी भएकाले तिब्बतमा पनि धर्मको प्रचार भएको छ भने तिब्बती राजालाई छोरी दिन सक्छु अन्यथा दिन सक्तिनँ भन्नुहुन्छ । नेपाल–तिब्बतबीचको भौगोलिक दूरी टाढा भएकाले आउन–जान कठिन हुने बुझी तिब्बती मन्त्रीले आफ्नो राजाका तीन वटा सन्देश–पत्रहरू एकैपटक साथमा बोकेर आउनुभएको थियो ।

जसमध्ये पहिलो स्वर्णाक्षरको सन्देश–पत्रले यदि भृकुटीलाई तिब्बती राजासँग विवाह गराउन तिब्बत पठाइदिनुहुन्छ भने तिब्बती राजाले नेपालमा जस्तै भोट तिब्बतमा पनि “दश कुशल धर्म” र “बुद्ध धर्म संघ” स्थापना गरी फैलाइदिन्छु भन्नुहुन्छ (गमपो, ‘मणि कावुम भोलुम क’ : पृ. एक्स १५–१८) । “दश (१०) कुशल धर्म (शिल)” चिनौं :

शरीरबाट निस्कने ३ शिलहरू : हत्या, हिंसा नगर्ने । चोरी नगर्ने । परपुरुष–परस्त्री गमन नगर्ने ।

मुखबाट निस्कने ४ शिलहरू : झुटो नबोल्ने । सानो कुरालाई ठूलो बनाएर नबोल्ने अर्थात् नभाँड्ने, नबिगार्ने, द्वेष नफैलाउने । अपव्याख्या, अपशब्द नबोल्ने । अनावश्यक कुरा, फजुल गफ वा व्यभिचार नगर्ने ।

मनबाट निस्कने ३ शिलहरू : मनमा नराम्रो नसोच्ने । लोभ, लालच, मोलाहिजा नगर्ने । कर्मा अर्थात् बुद्धको सिद्धान्त विपरित नसोच्ने (थापा, ‘भृकुटी’, वि.सं. २०७८ : ३९) ।

रजताक्षरको दोस्रो सन्देश–पत्रले यदि भृकुटीलाई रानी बनाउन पाएँ भने तिब्बतमा ५ हजार बुद्ध मूर्ति बनाउने, भृकुटीको माइती देश दक्षिण नेपालपट्टि ढोका फर्काई १०८ विहारहरू स्थापना गर्ने खबर लेखी पठाउनुभएको छ । यो खबरले उदयदेवलाई तिब्बती राजा प्रतापी रहेछन् भन्ने बोध गराउँछ ।

एशियाली नर–नारीहरू विश्वको जुनसुकै देशमा रहेतापनि यी हाम्रा गौरवशाली नैतिक कल्याणकारी आशीर्वादमूलक उदयोपदेशहरूलाई मन, वचन, कर्ममा राख्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा बसेर विश्वशान्तिको कामना गरिरहेका छौं

प्रत्युत्तरमा उदयदेवले पनि तिब्बती मन्त्रीहरूलाई आफ्नो देशमा कश्यप बुद्धका पालादेखि अविच्छिन्न रूपले चलिआएको रीतिस्थिति, वंश–परम्पराको गौरव सुनाउँदै पञ्चेन्द्रिय तृप्तिका लागि पाँच कामना पूर्ण पार्ने धन प्रशस्त भएकाले यदि तिब्बतमा पनि यस्तै हुन सक्छ भने भृकुटी दिन सक्छु, नभए नदिने भन्नुहुन्छ ।

तिब्बती मन्त्री गार तोङ्सेनले दिएको आफ्ना राजाको तेस्रो–सन्देश पत्रले यदि भृकुटीलाई तिब्बतकी रानी बनाउन पाएँ भने अन्य देश–देशान्तरका राजाहरूलाई पनि पुग्ने प्रशस्त सुन, चाँदी र विविध रत्नका खानीहरू तिब्बतमा खोलिदिनेछु भन्ने प्रतिज्ञा पढेपछि उदयदेवलाई भोटका यी राजा सिद्धपुरुष, निर्माणकाय रहेछन् भन्ने लाग्छ ।

त्यसपछि राजा उदयदेवले आफ्नी छोरी भृकुटीलाई तिब्बतका राजा (व)स्रोङ(व)त्सन(स) गमपोकी रानी बन्न जानको लागि सम्झाई–बुझाई गर्नुहुन्छ । तर भृकुटीले बुवालाई भोट देशको अनभिज्ञ परिस्थितिको बोध गराउँदै म कसरी जाऊँ ? भन्ने प्रश्न गरेपछि जवाफमा बुवाले छोरी भोट देशका राजा ठूलाबडा, सिद्ध भएकाले उहाँलाई चिढ्याउनुहुन्न, तिमी शान्तपूर्वक राजीखुशीले जानू भनी सम्झाउनुहुन्छ ।

भृकुटीले बुवाको आग्रहलाई नकार्न सक्नुभएन । तर तिब्बत जानका लागि अक्षोम्य (इष्टदेव महाकरुणामय स्वयम्भू शाक्य बुद्ध मूर्ति), धर्मचक्रप्रवर्त मैत्रेय बुद्ध र चन्दनको आर्यताराको मूर्ति, रत्न, न्याना वस्त्रकपडा, कश्यप बुद्धद्वारा प्रतिष्ठापित धर्मचक्रप्रवर्त, मैत्रेय चन्दनघोषिका तारा र देवराज इन्द्रले पुजिएका स्वयम्भू बोधिभद्र शाक्यमुनिका मूर्तिहरू साथमा लिएर जान राजी हुनुभयो । बुवा पनि सहमत हुनुभयो (गमपो : पृ. एक्स १५–१८) ।

यसरी छोरीको तिब्बती राजासँग बिहे गर्ने इच्छा भइसकेपछि भृकुटीलाई अन्माउनुपूर्व बुवा राजा उदयदेवले यस्तो उपदेश दिनुहुन्छ, जुन आज पनि हाम्रा महान् एशियाली विवाहित नारीहरूका लागि अमूल्य वरदान सावित हुन सक्छन् । आज पनि आ–आफ्ना सौभाग्यवती छोरीहरूलाई विवाहमा अनमाउने बेलामा भृकुटीले पाउनुभएका यी नैतिक आचार, विचार, व्यवहार हस्तान्तरण गर्ने परिपाटी, रीतिस्थितिको विकास गर्न सकियो भने गृहस्थ जीवन गुणधर्म कल्याणकारी, नीतिसंगत, न्यायसंगत हुन सक्छ ।

छोरी भृकुटीलाई बुवा उदयदेवले आशीर्वादको रूपमा दिनुभएका उदयोपदेशहरू यस्ता छन् : छोरी तिमीले हेर्ने दृष्टिकोण आकाशभन्दा खुला राख्नु । कहिल्यै नहड्बडाउनु, हतार नगर्नु । आफ्नो सिद्धान्तपूर्ण उद्देश्यलाई हिमालभन्दा उँचो राख्नु । हाँस्दा कमलको फूल खुले जस्तो गरी हाँस्नु, तिम्रो कार्य कपटरहित कमल जस्तो स्वच्छ रहोस् ।

अनि मानव जीवनलाई सार्थक बनाउने काम गरे । उठ्दा, बस्दा आफ्नो शरीरलाई कुप्रो नपारी (गर्धन, ढाड) सिधा राखे । तिम्रो चरित्र सुदृढ वस्त्रग्रन्थि जस्तै नखुस्कने दृढ रहोस् । तिम्रो स्वभाव मसिनो मलमल जस्तो कमलो होस् । मनलाई सेतोभन्दा सफा राखे, तिम्रो बुद्धि नैनसुत जस्तो स्वच्छ रहोस् । बोल्दाखेरी औषधिले काम गरे जस्तो गरी मीठो, मसिनो बोल्नु । मौरीले जस्तै बचत गर्ने बानी बसाल्नु ।

अनि आफ्नो श्रीमान्सँग मनलाई उज्यालो बादल जस्तो सफा राख्नु । छोरी तिमीले सिक्ने, सुन्ने आफ्नो बल, बुद्धिमानीपूर्ण क्षमतालाई सागरभन्दा गहिरो विशाल क्षमता राख्नु । हात कमलको फूलभन्दा सफा राखे, ती हातहरू वैद्यराजको झोला झैं जे चाह्यो त्यो दिन सक्ने परोपकारी रहुन् । आफूभन्दा सानालाई छोराछोरी जस्तो माया गर्नु, दीन–दुःखीजनप्रति छोराछोरीलाई जस्तो कल्याण गर्नु ।

असल मान्छेहरूलाई देवता समान मान्नु । खाना खाने बेलामा औषधि खाएको जस्तो गरी ठिक–ठिक मात्रा मिलाएर खानु । औषधिले जस्तो अरूको कल्याण गर्नु । सूर्य–चाँद जस्तो उज्यालो सफा व्यवहार गर्नु । धार्मिक, नैतिक विधि–व्यवहारको पालना गर्नु (गमपो : पृ. एक्स १९ र २०) ।

यस्तै पृथ्वी जस्तो (सहनशील) क्षमाशील हुनु । तिम्रो पढाइ लेखाइ बिजुली जस्तो तेजिलो रहोस् । आफ्ना साथीसंगीलाई समादर, सत्कार गर्नु । सज्जनहरूमा स्वामीलाई जस्तैगरी मान राख्नु । प्राणी मात्रमा मातृत्व व्यवहार गर्नु । पापकर्मलाई विष जस्तो गरी त्यागिदिनु । कुशल कर्ममा बाबुले झैं (चाँडै) लाग्नु । पाश्र्ववर्तीजनसँग विवाद नगर्नु ।

यस्तै आफ्ना दाजुभाइ बन्धु सबैको प्रिय बन्नु । परोपकारमा लागिरहनु (नेपाल ज्ञानमणि, ‘नेपाल–भोट चीन सम्बन्धका केही सांस्कृतिक पक्ष’, वि.सं. २०४५ः ११–१२) । त्यसपछि बेहुली भृकुटीलाई वि.सं. ६८९ चैतको तेस्रो हप्ता ताका नेपाल (खोपासी) बाट अन्माइन्छ । वि.सं. ६९० असारको तेस्रो हप्ता तदनुसार सन् ६३३ को जून/जुलाई ताका भृकुटीलाई ल्हासा पुर्‍याएको अध्ययनबाट देखिन्छ (थापा, ‘भृकुटी’ ः ३३) ।

नेपालकी राजकुमारी तिब्बतकी महारानी भृकुटीले बुवाका यी आशीर्वादहरूलाई उच्चशिरमा राखी भोट, तिब्बतमा आफ्ना प्यारा राजासँग मिलेर जीवनभरि गृहस्थ राजकीय धर्म सम्पादन गरिलिनुभएको इतिहास एशियाली नेपाल–चीन (तिब्बत) सामु साक्षी, विश्वसामु चिरपरिचित रहँदै आएको स्मृति भुल्न सकिंदैन ।

निष्कर्षः यसरी हाम्रो वर्तमान १३९१ वर्ष अगाडिको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक संगठनको गहिरो शक्तिशाली जगमाथि उभिएको छ । त्यसकारण नेपाल–भोट (चीन) सम्बन्धको सेतु कमजोर छैन । एशियाली सभ्यताको बीजारोपणलाई समयक्रमसँगै मलजल गरी अगाडि बढ्दैछौं ।

त्यसकारण एशियाली नर–नारीहरू विश्वको जुनसुकै देशमा रहेतापनि यी हाम्रा गौरवशाली नैतिक कल्याणकारी आशीर्वादमूलक उदयोपदेशहरूलाई मन, वचन, कर्ममा राख्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा बसेर विश्वशान्तिको कामना गरिरहेका छौं । यसरी बुद्ध, भृकुटीदेवी जन्मभूमि नेपालका नेपाली मूल्य, मान्यता, विश्वास प्रणाली ब्रह्माण्डभरि गुञ्जायमान छन् ।

(लेखक भृकुटी स्मृति प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता हुनुहुन्छ ।) 
राष्ट्रिय अभिलेखालयमा सुरक्षित (व)स्रोङ(व)त्सन(स) गमपोद्वारा लिखित ‘मणि काबुम भोलुम क’ का केही सान्दर्भिक पेचाहरू प्रस्तुत छन्, जसमा (व)स्रोङ(व)त्सन(स) गमपो र भृकुटीसँग सम्बन्धित तथ्य तथ्यांकहरू भेटिएका छन् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?