+

महिला सशक्तीकरण प्रोत्साहित गर्दै काठमाडौं पिंक केयराथन सम्पन्न

२०८१ चैत  ९ गते १४:४५ २०८१ चैत ९ गते १४:४५
महिला सशक्तीकरण प्रोत्साहित गर्दै काठमाडौं पिंक केयराथन सम्पन्न

९ चैत, काठमाडौं । लिजर पोर्ट नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं पिंक केयराथन आयोजना गरेको छ। महिला स्वास्थ्य र सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा झण्डै २ हजार महिलाहरूको सहभागिता रहेको थियो।

ललितपुरको जावलाखेलमा सम्पन्न कार्यक्रम जुम्बा सत्रबाट सुरु भई वाक तथा रनमा परिणत भएको थियो। सहभागीहरूका लागि ३ किलोमिटर, ५ किलोमिटर, १० किलोमिटर र २१ किलोमिटर दूरीका दौड समावेश गरिएको थियो।

२१ किलोमिटर दूरीमा सुनसरी रोकायाले पहिलो स्थान हासिल गरिन् भने पुष्पा भण्डारी दोस्रो र निर्मला केसी तेस्रो भए। १० किलोमिटर दौडतर्फ निशा शार्की विजयी भइन् भने आशा रावत दोस्रो र सुमित्रा चौधरी तेस्रो स्थानमा रहे।

५ किलोमिटर दौडमा सरस्वती भट्टराई प्रथम भइन्, अनुश्रिया तण्डुकार दोस्रो र ममिता धामी तेस्रो भए। ३ किलोमिटर दूरीमा सम्झना राईले उपाधि जितिन् भने गायत्री श्रेष्ठ दोस्रो र शुपृता थापा तेस्रो स्थानमा रहे।

२१ किलोमिटर दूरीका विजेताले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार प्राप्त गरे। १० किलोमिटर दौडका विजेताले ३१ हजार, २१ हजार र ११ हजार नगद जिते।

३ र ५ किलोमिटरका विजेताहरूले मेडल, प्रमाणपत्र तथा काठमाडौं लाजिम्पाटस्थित दुसिट प्रिन्सेस होटलमा दुई दिन एक रातको प्याकेज प्राप्त गरे। साथै, १३ जना विजेताले मेटलाइफको तर्फबाट इन्सुरेन्स प्याकेजसमेत पाएका छन्।

सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई स्वास्थ्यप्रति सचेत बनाउनु तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको लिजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए।

काठमाडौं पिंक केयराथनले स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा तथा समग्र जीवनशैली सुधारको प्रतिबद्धता व्यक्त गर्दै आएको छ।

सन् २०१७ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम महिलाहरूको जीवनशैली परिवर्तनको माध्यम बनेको आयोजक संस्थाको भनाइ छ।

काठमाडौं पिंक केयराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय