
९ चैत, बुटवल । नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले संकटबाट बाहिर निस्कन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकठाउँमा उभिन आग्रह गरेका छन् ।
राजनीतिले सही दिशा लिन नसक्दा पुनरुत्थानवादी शक्तिहरू सलबलाएको टिप्पणी गर्दै उनले राजनीतिक हस्तक्षेपको बेला आएको बताएका छन् ।
यी तिनै दलका शीर्ष नेताहरूले आफ्नो दम्भ र घमण्ड त्याग्नुपर्ने भुसालको भनाइ छ ।
बुटवलमा आयोजित पार्टीको रुपन्देही जिल्ला कमिटीको दशौं अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिलेको संकट यतिकै जानेवाला नभएको बताए । अन्यथा देशमा दुर्दशा हुने खतरा रहेको भुसालको भनाइ छ ।
‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन’, पूर्वराजाका गतिविधिप्रति लक्षित गर्दै भुसालले भने, ‘रोजगारी र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने एजेन्डामा आउनुस् ।’
आफ्नो पार्टीले भने अस्तव्यस्तबाट बाहिर निकाल्नका लागि आह्वान गरेको आन्दोलनमा सहभागी उनले भुसालले आग्रह गरे ।
राष्ट्रिय एजेन्डामा आउन आग्रह गर्दै भुसालले १० वर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पुँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्नेगरी सर्वदलीय सम्मेलनको प्रस्ताव पनि उनले गरेका छन् ।
तर, अहिले यी तीनै नेताले नसुन्ने र अराजनीतिक मान्छेहरूले लखेट्न थालेपछि बल्ल बुझ्ने भुसालको भनाइ थियो । ‘यिनीहरूले अहिले सुन्दैनन्, दम्भ, घमण्डले सुन्दैनन् । जब अराजनीतिक मान्छेहरूले लखेट्न थाल्छन् बल्ल बुझ्छन् ।’
जनतामा मुख्य समस्या गरिबी र बेराजगारीले जन्माएको भुसालको भनाइ थियो ।
‘राजनीतिले राजनीति, राज्यले दायित्व बिर्सेपछि उल्का हुने गर्छ,’ भुसालको भनाइ छ, ‘रोजगारी र सुशासन नै अबको आन्दोलन हो, हामी त्यसैका लागि आन्दोलनको मैदानमा होमिएका छौं ।’
आन्दोलनको मैदानमा सबैलाई आउन आह्वान गरेको, हण्डर ठक्कर खाएपछि सबै एकै ठाउँमा आउने उनको ठहर छ ।
भुसालले राजतन्त्र घाटमा सेलाइसकेकाले त्यो ब्युँझिएर आउन सम्भव नभएको जिकिर गरे ।
‘कुशासन र बेरोजगारी समस्याका कारण पुनरुत्थानवादी र पपुलिस्ट शक्तिहरूको स्वर चर्को भएको हो’, सम्बोधनको क्रममा भुसालले भनेका छन्, ‘यसमा सरकार र मुख्य राजनीतिक दलहरू जिम्मेवार हुनुपर्छ ।’
उनले कुनै समय आफ्नै अध्यक्ष रहेका ओलीको विषयमा बोल्न नसकिने अवस्था भएको भए पनि आज त्यस्तो दिन नभएको बताए ।
‘कुनै जमाना यस्तो थियो, ओली जी रिसाएर हेर्दा मान्छे जलेर भष्म हुन्थे । तर आज बोल्न त नसक्ने दिन आयो, झ्याल खोलेर हेर्न पनि नसक्ने अवस्था भयो, यो सामान्य कुरा होइन ।’
यस्तै, पार्टीका उपमहासचिव मेटमणी चौधरीले संविधानको रक्षाका लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए ।
पार्टीका सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरूको भएको बताए ।
अधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादी पोलिटब्युरो सदस्यहरू नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खान, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुलले आफूहरूको एजेन्डा ठिक भएकाले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4