
काठमाडौं । ‘वसन्त’ अर्थात वर्ण व्यवस्थाले सदियौंदेखि न्याकिएको एउटा तप्का !
प्रकाश सपुत निर्देशित फिल्मले ट्रेलरमार्फत फिल्मलाई यसरी चिनाएको छ । फिल्म ‘वसन्त’को ट्रेलरमा के मात्र छैन ? यसमा वर्ण व्यवस्थाको जाँतोमा थिचिएका पात्रको आहत छ । प्रेम सम्बन्ध, सपना र सामाजिक अन्तरविरोधको कथ्य छ । त्यो भन्दा पनि यसमा मानवीय मर्म छ ।
बागलुङको धम्जा गाउँको आञ्चलिकतामा छायांकन गरिएको फिल्मको ट्रेलरले दर्शकलाई त्यो नोस्टाल्जियामा लैजान्छ जहाँ जातीय विभेद हटाउन भन्दै केही युवा बन्दुक समातेर जंगल पसे । गणतन्त्र आएको डेढ दशक बितेपनि जातीय समानता र क्रान्तिका अभिभारा पुरा नभएकोप्रति निर्देशकले तत्कालिन सशष्त्र विद्रोहका नेतृत्वकर्तालाई प्रश्न गरेका छन् ।
हुन त, ‘वसन्त’भित्र धेरै उपकथा र लेयर छन् । यसको केन्द्रीय द्वन्द्व चाहिँ विपन्न दलित युवकको लेखक बन्ने सपना र उसको संघर्ष हो । ट्रेलरले चरित्र चित्रण र कथावस्तुबारे संक्षिप्त प्रकाश पारेको छ । अन्तर्जातीय विवाहलाई नस्वीकारेपछि स्वस्तिमा खड्का सशष्त्र विद्रोही बनेको दृश्य मर्मस्पर्शी लाग्छ ।
यो फिल्मको पटकथा, निर्देशन र संगीत सपुतकै छ । मोहन विश्वकर्मा र विन्दु बोहराको लगानी रहेको फिल्मलाई गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा प्रकाश र स्वस्तिमासहित अनुप बराल, माओत्से गुरुङ, प्रभात पाल, खड्गबहादुर पुन लगायतको अभिनय छ । प्रकाशको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो । ‘वसन्त’ चैत २२ गते प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4