
९ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्गहरू अवरुद्ध हुन नदिन वैकल्पिक सडकको विकास र विस्तार गरिने बताएका छन् ।
शनिबार ललितपुरका विभिन्न ग्रामिण क्षेत्रका सडकहरूको निरीक्षणका लागि पुगेका मन्त्री दाहालले वैकल्पिक सडकहरूको विकास र विस्तार गरी ग्रामिण क्षेत्रमा समेत सडकको पहुँच स्थापित गरिने जिकिर गरे ।
महांकाल गाउँपालिका कार्यालयमा आयोजीत अन्तरक्रियामा उनले वैकल्पिक सडकहरुको विकास र विस्तारले ग्रामिण क्षेत्रमा सडक सञ्जाल स्थापित हुनका साथै राष्ट्रिय राजमार्गहरूको विकल्प समेत तयार हुने बताए ।
जनप्रतिनिधी एवम् स्थानीयवासीहरूले राखेको लेले–चन्दनपुर–फापरवारी सडक निर्माण र विस्तारको मागलाई सम्बोधन गर्दै उनले पूर्वी नेपाल र संघीय राजधानीलाई जोड्न यो सडक नयाँ विकल्प हुनसक्ने भएकाले आवश्यक अध्ययन गरिने जानकारी गराए ।
सो क्रममा उनले उक्त सडकको सम्भाव्यता अध्ययन गर्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेलाई निर्देशन दिएको उनको सचिवालयले बताएको छ ।
भेटमा पूर्व सांसद नवराज सिलवालले सो सडक खण्डलाई चतारा–धरान सडकमा जोड्न सके पूर्वी नेपाल जोड्ने वैकल्पिक रुट तयार हुने बताए ।
प्रतिक्रिया 4