+

तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि

२०८१ चैत  ९ गते २०:५६ २०८१ चैत ९ गते २०:५६
तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि

९ चैत, काठमाडौं । तेन्जिङ राई र स्वस्तिका चौधरीले ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को उपाधि जितेका छन् ।

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिवार सम्पन्न भएको प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने । च्याम्पियन दुवैले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुषतर्फ च्याम्पियन तेन्जिङ राईले समग्रमा १८०५ अंक जोडे । बोल्डरमा १ हजार अंक स्कोर गरेका तेन्जिङले लिडमा ८०५ अंक मात्र जोडेपनि समग्रमा धेरै अंक जोडेर च्याम्पियन बने ।

यस्तै पेम्बा छेवाङ शेर्पा राई १६९० अंक स्कोर गर्दै दोस्रो भए । पेम्बाले बोल्डरमा ६९० अंक मात्र जोडेका थिए । तर लिडमा १ हजार अंक जोडेपछि उनले समग्रमा दोस्रो धेरै अंक जोडेर दोस्रो बनेका हुन् । पमेबाले नगद ३० हजार मेडल र प्रमाण पत्र पाए ।

रोनक उप्रेती तेस्रो भए । बोल्डरमा ८०५ अंक स्कोर गरेका रोनकले लिडमा ६९० अंक स्कोर गर्दै समग्रमा १४९५ अंक स्कोर गरेर तेस्रो भए । रोनकले नगद २० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुषतर्फ कूल १३ खेलाडी सहभागि भएका थिए । जसमा क्वालिफिकेसन राउण्डबाट अन्तिसम चरणमा ८ खेलाडी छनोट भएका थिए । अन्तिम चरणमा छनोट भएका ८ खेलाडीले शनिबार प्रतिस्पर्धा गरेका थिए । त्यसबाट विजेताहरू छनोट गरिएको हो ।

यसैगरी महिलातर्फ भने स्वस्तिकाले दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै अन्य प्रतिस्पर्धीमाथि हावी बनेकी थिइन् । स्वस्तिकाले लिड र बोल्डर दुवैमा एक हजार अंक स्कोर गर्दै समग्रमा २ हजार स्कोर गर्दै च्याम्पियन बनेकी हुन् ।

यस्तै रुशा प्रधान दोस्रो र मनिषा बुढा मगर तेस्रो भए । रुशाले लिड र बोल्डरिङ दुवैमा समा ८०५ अंक स्कोर गर्दै समग्रमा १६१० अंक स्कोर गरिन् । यस्तै मनिषाले दुवै विधा समान ६९० स्कोर गर्दै १३८० अंक जोडिनन् । दोस्रो भएकी रुशाले ३० हजार तथा तेस्रो भएकी मनिषाले २० हजार मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

महिलातर्फ शीर्ष तीनसँगै तेन्जिङ खान्डो तामाङ, पञ्चमाया तामाङ र सन्तोषी मगर गरी ६ खेलाडीले मात्र सहभागिता जनाएका थिए । तेन्जिङ चौथो, पञ्चमाया पाँचौ र सन्तोषी छैटौं भए ।

६ वर्षपछि पहिलो पटक क्लाइम्बिङ स्पोर्टको नेसनल च्याम्पियनसिप आयोजना भएको हो । यसअघि पछिल्लो पटक सन् २०१९ मा च्याम्पियनसिप भएको थियो । त्यसपछि कोरोना महामारी र अन्य कारणले गर्दा लामो समय च्याम्पियनसिप हुन सकेको थियो ।

अहिले संघमा नयाँ टिम आएपछि पहिलो पटक च्याम्पियनसिप आयोजना भएको हो । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका कार्यवाहक अध्यक्ष रमेश पौडेलले लामो समयपछि च्याम्पियनसिप आयोजना गर्न सफल भएको र यो सुरुवात भएको बताए ।

‘हाम्रो टिम र स्पोनसरको साथ र सहयोगले पहिलो पटक च्याम्पियनसिप सम्पन्न गरेका छौँ । यो सुरुवात मात्र हो । हाम्रो लक्ष्य भनेको नेपाली क्लाइम्बिङ स्पोर्टका खेलाडीहरूलाई ओलम्पिकसम्म पुर्‍याउने हो’ पौडेलले भने ।

नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिप आयोजना भएपछि अब अन्य खेलाडीहरूका लागि समेत अवसर हुने उनले बताए ।

यस्तै अब हरेक वर्ष नेसनल च्याम्पियनसिप गर्ने र नयाँ खेलाडीहरू समेत यसमा आकर्षित हुने र पर्यटन प्रवर्द्धन र साहसिक खेलकुदमा समेत यसले टेवा पुर्‍याउने पौडेलले दावी गरे ।

यस्तै प्रदेश खेलकुद विकास परिषद बागमतीका सदस्य सचिव दिपक लामाले क्लाइम्बिङ स्पोर्टमा सहयवग गर्न बागमती प्रदेश तयार रहेको र यसको सम्भावना धेरै रहेको बताए ।

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय