१० चैत, काठमाडौं । गोर्खाली फिटनेसका उमेश राईले १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्दै उपाधि रक्षा गरेका छन् । काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगितामा उनले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै ओभरअल उपाधि जिते।
उनले नगद १२ लाख, ११ किलोको ट्रफी, मेडल, प्रमाणपत्र, चीन भ्रमण अवसर र अन्य उपहार प्राप्त गरे। धिमाल उपविजेता बन्दै ६ लाख नगद जिते भने तेस्रो स्थानमा दाङका माधव सुवेदी रहँदै ३ लाख पाए।
राई धर्मश्रीको उपाधि दुई पटक जित्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि नरेश महर्जन र सानु गुरुङले पनि दुई पटक जितेका थिए। नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको प्रतियोगितामा ८० केजी माथिको समूहमा राई र ८० केजी समूहमा धिमाल प्रथम हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए।
६ तौल समूहका विजेताबीच भएको अन्तिम प्रतिस्पर्धामा चौथो स्थानमा मसल्स एन्ड फिटनेसका अशिम बाबु गरुङ (२ लाख), पाँचौंमा प्लाटिनियमका बिनोद सुनुवार (१.८ लाख) र छैटौंमा नर्भ द फिटनेसका सिद्धान्त जसरोटिया (५० हजार) रहे। तौल समूहमा दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार नगदसहित मेडल र ट्रफी प्राप्त गरे ।
महिला बडी बिल्डिङ खुला प्रतिस्पर्धामा भक्तपुर डिस्पिराडोकी तारा खाइजु प्रथम भइन् । कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे दोस्रो तथा डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठ तेस्रो भइन् ।
मास्टर्स खुलातर्फ नेपाल व्यायाम मन्दिरका किशोर शाहीले उपाधि जिते । काठमाडौं जिमबाट राज कुमार शाही दोस्रो तथा नेपाल ब्यायाम मन्दिरकै कृष्ण सिंह शाही तेस्रो भए ।
पुरुष स्पोर्ट्स फिजिक १७० सेमी मुनि पावर फिजिकल फिटनेसका आकाश श्रेष्ठ विजयी भए । एनवाइएफसीका निरल थापा दोस्रो, त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो तेस्रो भए । १७० सेमी माथि गोल्ड्स जिमका रमन तुलाधर प्रथम भए । आरएनएफसीका नुर बहादुर कुँवर दोस्रो, नेपाल ब्यायाम मन्दिरका शिभ कुमार सिंह तेस्रो भए ।
पीएल सिंह मेन्स एथलेटिक फिजिक ओभर र अन्डर तथा महिला बडी बिल्डिङका विजेताले समान २ लाख, उपविजेताले १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार, पाँचौंले ४० हजार र छैटौंले ३० हजार नगद पुरस्कार पाए। ५० वर्षमाथिका मास्टर विजेताले १ लाख जिते।
विजयी खेलाडीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, प्रवक्ता नवीन मानन्धर, विभिन्न वडाका अध्यक्ष, कलाकार, समाजसेवी, खेलकर्मी लगायतले पुरस्कार वितरण गरे।
मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व. पीएल सिंहको नाममा समर्पित गरिएको थियो। प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं महानगरपालिका रहेको छ।
प्रतिक्रिया 4