+

औषधीय गुणले भरिपूर्ण दालचिनी, धेरै खानु हानिकारक

२०८१ चैत  १० गते ११:४३ २०८१ चैत १० गते ११:४३
औषधीय गुणले भरिपूर्ण दालचिनी, धेरै खानु हानिकारक

दालचिनी हाम्रो भान्सामा सहजै उपलब्ध हुने मसला हो । मासु वा तरकारीको स्वाद बढाउन होस् वा चियाको, दालचिनी सबैमा उपयोगी हुन्छ । यसको आफ्नै मिठो स्वाद हुन्छ । साथसाथै बास्ना पनि । तर, स्वादका लागि मात्र नभई दालचिनी विभिन्न रोगका लागि घरेलु उपचारको औषधि पनि हो ।

नेपालमा रूखको पातलाई तेजपात र बोक्रालाई दालचिनी भन्ने गरे पनि यसका थुप्रै प्रजाति रहेको वनस्पति विज्ञ मित्र पाठक बताउँछन् । उनका अनुसार विशेषतः भारतमा दालचिनी भनेको फरक प्रजाति, सिनामम्मम् भेरम (पर्यायवाची सिनामम्मम् जेलेनिकम) हो भन्ने मान्यता छ ।

‘फरक–फरक देशमा दालचिनीलाई फरक–फरक नामले चिनिन्छ’ पाठक भन्छन्, ‘जस्तो सिलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी ।’

दालचिनीमा धेरै प्रकारका पोषकतत्व हुने कन्सल्टेन्ट आयुर्वेदिक चिकित्सक डा. विसुनदयाल प्रसाद पटेलले जानकारी दिए ।

पटेलका अनुसार दालचिनीमा भिटामिन ए, भिटामिन बी, क्याल्सियम, आइरन, म्याग्नेसियम र फाइबर हुन्छ ।  साथै दालचिनीमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट तत्व समेत पाइने उनको भनाइ छ ।

‘दालचिनीको सेवन मस्तिष्कको क्षमता बढाउन वा स्मरण शक्ति बलियो बनाउन उपयोगी हुन्छ’ डा.पटेल भन्छन्, ‘ब्लड सुगर नियन्त्रण गर्न समेत दालचिनी उपयोगी हुन्छ ।’

अन्य उपयोगिता

-पाचन तन्त्र सुर्धाछ

दालचिनीको उपयोग पाचन तन्त्र सुधार्नका लागि हुन्छ । अदि अपच भएमा, पेट फुलेमा दालचिनीलाई जीरा र सुकुमेलसँग मिसाएर सेवन गर्दा लाभ मिल्छ । यसैगरी दालचिनीलाई मरिच र महसँग मिसाएर सेवन गर्दा पनि पेट सफा हुन्छ । कब्जियत, ग्याष्ट्रिक र वान्ता भएका बेलामा समेत दालचिनीको सेवन उपयोगी हुने डा. पटेल बताउँछन्।

-मधुमेह नियन्त्रण गर्छ

सन् २०२२ मा हेल्थ जर्नल ‘न्यूट्रिएन्ट्स’ मा प्रकाशित एक अध्ययनअनुसार दालचीनी मधुमेह नियन्त्रणका लागि निकै उपयोगी छ ।

यसले शरीरमा इन्सुलिन जस्तै काम गर्छ। धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि, यसको नियमित सेवनले रगतमा चिनीको स्तर सुधार गर्न सकिन्छ ।

दालचीनीको चिया मधुमेह भएकालाई निकै फाइदाजनक हुन्छ । एक कप पानीमा दुईवटा दालचीनी वा एक चम्चा धुलो हालेर १० मिनेट उमाल्ने र पानीको रङ खैरो भएमा त्यसलाई पिउन सकिने डा. पटेलले बताए।

-मुटु रोगको जोखिम कम गर्छ

२०१७ मा नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार दालचीनीले हृदयरोगको जोखिम कम गर्छ । यसले ट्राइग्लिसराइड र कोलेस्टेरोलको स्तर घटाउँछ । यी दुईको स्तर बढ्नु हृदयरोगका लागि सबैभन्दा ठूलो जोखिम हो ।

सन् २०२० मा पब मेडमा प्रकाशित एक अध्ययनका अनुसार यदि रक्तचाप बढेको छ भने दैनिक एक चम्चा दालचीनी खाँदा पनि रक्तचाप कम हुन्छ।

-मुखको स्वास्थ्य राम्रो राख्छ

आयुर्वेदिक चिकित्सक डा. पटेलका अनुसार दालचीनीको तेलले मुखको स्वास्थ्य राम्रो राख्छ । यसले सासको दुर्गन्ध हटाउँछ र मुखको संक्रमणका लागि जिम्मेवार ब्याक्टेरियाबाट बचाउँछ । दालचीनीको तेलले दाँतलाई कमजोर बनाउने ब्याक्टेरियासँग लड्छ र सम्पूर्ण मुखको स्वास्थ्यलाई राम्रो बनाउँछ ।

-क्यान्सरबाट बचाउन सक्छ

युरोपेली जर्नल अफ मेडिसिनल केमिस्ट्री २०१९ मा प्रकाशित एक अध्ययन अनुसार दालचीनीमा एन्टी–इन्फ्लेमेटरी गुण हुनुका साथै क्यान्सर प्रतिरोधी गुण पनि हुन्छ ।

दालचिनीमा क्यान्सरसँग लड्ने इन्जाइमका साथै एन्टीअक्सिडेन्ट, एन्टीइन्फ्लामेट्री र एन्टीमाइक्रोबियल गुण हुन्छ । दालचिनीमा यी सब गुण हुनु भनेको शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउनु हो ।

यसमा पाइने एन्टीअक्सिडेन्ट इन्जाइम एक्टिविटीलाई बढाउँछ, जसले क्यान्सरलाई रोक्न मद्दत गर्ने डा.पटेल बताउँछन् ।

– फंगल संक्रमण कम गर्छ

दालचीनीको धुलो महमा मिसाएर पेस्ट बनाउने यसलाई छालाको संक्रमित ठाउँमा लगाउनाले आराम मिल्ने पटेलले बताए । उनी भन्छन् ‘दालचीनी फंगल संक्रमणको उपचारमा धेरै प्रभावकारी हुन्छ ।

कुनै पनि प्रकारको घाँटीको संक्रमणबाट छुटकारा पाउन यसको चिया पिउन सकिन्छ । यसका लागि दालचीनीका दुई टुक्रा उमालेर पिउन सकिन्छ ।’

-स्मरण शक्ति बढाउँछ

नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार दालचीनीको सेवनले स्मरणशक्तिलाई पनि बलियो बनाउँछ । दैनिक २ देखि ६ ग्राम दालचीनी खाँदा स्मरणशक्ति बढ्छ ।

धेरै सेवन गर्नु हानिकारक

दालचीनीको सेवन गर्दा यसको मात्रामा विशेष ध्यान दिनुपर्छ । धेरै मात्रामा सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्ने आयुर्वेदिक चिकित्सक डा.पटेल बताउँछन् । ‘धेरै मात्रामा दालचिनीको सेवन गर्दा पखाला लाग्ने, एलर्जी हुने, मिर्गौला खराब हुने, कलेजो खराब हुने, रगत जम्ने र गर्भपतन हुने जोखिम हुन्छ त्यसैले दैनिक २ देखि ६ ग्राम मात्रै दालचिनीको सेवन गर्नु राम्रो हुन्छ ।’

कस्तो अवस्थामा दालचीनी खानु हुँदैन ?

दालचिनीको सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउँछ । तर, केही विशेष अवस्थमा यसको सेवन हानिकारक पनि हुन सक्छ ।

यी अवस्थामा दालचिनीको सेवन नगर्न डा.पटेल सुझाउँछन्

–महिनावारी हुँदा महिलाले दालचीनी खानु हुँदैन । यसले रक्तश्रावको समस्या बढाउन सक्छ ।

–यदि कसैलाई शल्यक्रिया पछि रगत बग्ने समस्या छ भने उसले पनि दालचीनीको सेवन गर्नु हुँदैन ।

–दिउँसो दालचीनी खानु हुँदैन किनभने यसले पित्त बढाउँछ र घाममा पर्दा सनस्ट्रोक हुनसक्छ ।

–गर्भवती महिलाले पनि यसको सेवनबाट बच्नुपर्छ । खानै परे अन्य खानेकुरामा मिसाएर खानु उपयुक्त हुन्छ ।

दालचिनी
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय