+
+
Shares
नाटक :

पोखरा, बेलबारी र चितवनमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १३:५०

काठमाडौं । पोखरा, चितवन र बेलबारीमा पनि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु भएको छ । शनिबारदेखि पोखरामा, आइतबारदेखि चितवन र बेलबारीमा निटफेस्ट सुरु भएको हो ।

काठमाडौंमा जारी महोत्सवकै समानान्तर कार्यक्रमको रुपमा ३ सहरलाई लिइएको महोत्सव संयोजक केदार श्रेष्ठले बताए । पोखराको गैह्रपाटनस्थित गन्धर्व थिएटरमा सुरु महोत्सव चैत १३ गतेसम्म चल्नेछ । पोखरा महानगरप्रमुख धनराज आचार्यले महोत्सव उद्घाटन गरे ।

पोखरा थिएटर आयोजक रहेको महोत्सवमा ५ देशका ६ नाटक मञ्चन हुनेछन् । नेपाललगायत चीन, जापान, ट्युनिसिया र नर्वेको संयुक्त प्रस्तुतिमा तयार भएका नाटक मंचनसहित फेस्टिभलमा सांस्कृतिक झाँकी, सांस्कृतिक परेड, कार्यशाला र अन्तक्रिया गतिविधिसमेत समेटिनेछ ।

महोत्सवमा निटफेस्ट काठमाडौंमा प्रदर्शन हुने केही विदेशी नाटक पनि पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि मञ्चन हुनेछन् । संयोजक केदार श्रेष्ठले भने, निटफेस्टले काठमाडौंबाहिरका रंगकर्मीसँग सहकार्य गरी समानान्तर महोत्सव गर्ने अभ्यास निटफेस्टको पहिलो संस्करणदेखि नै सुरु गरेको थियो ।’

आइतबार चितवन र बेलबारीमा पनि निटफेस्ट

बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले गरे । चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन चाहिँ भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी र कलाकार विजय बरालले गरे ।

तीन दिनसम्म चल्ने यी महोत्सवमा पनि नेपाली र विदेशी नाटक मञ्चन हुनेछन् । बेलबारीमा नेपाल, भारत र जापान तीन देशका ६ नाटकसँगै स्थानीय र विद्यार्थी समूहका नाटक पनि मञ्चन हुने महोत्सव निर्देशक विकास बुढाथोकीले जानकारी दिए ।

चितवनमा नेपाल, भारत, जापान, इरान र लिथुवानीयाका नाटक गरी ५ विदेशी नाटक मञ्चन हुनेछन् । चितवनमा पनि आयोजक संस्था र स्थानीय नाट्य संस्थाका नाटक मञ्चन हुने महोत्सव निर्देशक प्रदीप अन्जानले बताए ।

दुवै महोत्सवमा चित्रकला, कविता, सांस्कृतिक प्रदर्शनी र अन्तक्र्रियात्मक छलफल पनि समेटिएको छ । बेलबारी महोत्सव बेलबारी प्रज्ञा प्रतिष्ठानले गरेको हो । चितवन महोत्सव तीन संस्था कर्मी चौतारी, नारायणी कला मन्दिर र तरंग नाट्य समूहले एकसाथ गरेका हुन् ।

बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सवका कार्यक्रमहरु तमु बुद्धिष्ठ गुम्बा, बेलबारी १ मा आयोजना हुँदैछ । प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सवका सम्पूर्ण गतिविधि नारायणी कला मन्दिर परिसमा हुनेछन् ।

काठमाडौंमा आइतबार के हुँदैछ ?

काठमाडौंमा जारी निटफेस्टको आइतबार पाँचौ दिन हा । मण्डला थिएटरमा जारी महोत्सवमा मध्यान्ह जापानको ‘मास्टर शोको एन्ड मार्गरिटा’, भारतको ‘तमासा’, प्लेब्याक थिएटर विस्डम अफ लाइफ, आउटडोर पर्फमेन्सहरु साउन्ड्स अफ मन्डल र म्याक अफ म्याजिक मञ्चन हुँदैछन् ।

हरेक दिन छलफल कार्यक्रमसमेत हुँदै आएको महोत्सवमा अपरान्ह ‘राजनीतिमा कलानीति’ शीर्षकमा छलफल पनि हुनेछ । विभिन्न दलका नेताहरू सुदन किराँती, रामकुमारी झाँक्री, ठाकुर गैरे र प्रतिमा गौतम वक्ता रहेको अन्तक्र्रिया स्वतन्त्र पत्रकार प्रभाकर गौतमले सञ्चालन गर्नेछन् ।

महोत्सवको हरेक दिनको समापन सन्ध्याकालीन संगीत, नृत्य वा कविताबाट हुँदै आएको छ । मण्डला थिएटरको आयोजनामा बुधबारदेखि राजधानीमा सुरु भएको निटफेस्ट चैत १२ सम्म चल्नेछ ।

तस्वीरहरू : पोखरा थिएटर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?