+
+
Shares

सुशासन विधेयकमाथि संशोधन प्रस्ताव खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १४:४६

१० चैत, काठमाडौं । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि संशोधन प्रस्ताव राख्ने समय खुला भएको छ ।

प्रतिनिधिसभाबाट  पारित भएर राष्ट्रिय सभामा गएको यो विधेयकलाई राष्ट्रिय सभाले पनि अघि बढाएको हो ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल सकाएको छ । सैद्धान्तिक छलफल सकाएपछि सभामा प्रस्तुत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । योसँगै विधेयकमाथि संशोधन राख्ने समय खुला भएको हो ।

राष्ट्रिय सभा नियमावली अनुसार ७२ घण्टाभित्र सांसदहरूले संशोधन प्रस्ताव राख्न सक्नेछन् ।

यो विधेयक अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विधेयक हो । २९ पुसमा जारी अध्यादेश यसअघि सभाबाट स्वीकृत भएसँगै सरकारले विधेयक ल्याएको थियो । प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको हो ।

राष्ट्रिय सभाले पनि विधेयक पारित गरेर अगाडि बढाएको खण्डमा विभिन्न १२ वटा ऐनलाई संशोधन गर्ने गरी प्रस्तुत विधेयकले कानुनको रूप लिने प्रक्रिया अवलम्बन गर्ने छ ।

राष्ट्रिय सभाबाट पारित भएपछि पुनः प्रतिनिधिसभामा जान्छ । सभामुखमार्फत राष्ट्रपति समक्ष पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनमा रूपान्तरित भएर लागु हुन्छ । यसका लागि संघीय संसद्‍लाई यही १९ चैतसम्मको समय छ । किनभने अध्यादेश प्रतिस्थापन विधेयक संघीय संसद्‍को अधिवेशन सुरु भएपछि ६० दिनभित्र ऐनमा रूपान्तरित भइसक्नुपर्छ ।

संघीय संसद्‍को हिउँदे अधिवेशन गत १८ माघमा सुरु भएको थियो । सोही दिन सरकारले दुवै सभामा संसद्‍ अधिवेशन नरहेका बेला जारी गरेर अध्यादेशहरू टेबल गरेको थियो ।

#यसअघि विधेयक स्वीकृत हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?