+
+
Shares
टेलिभिजन :

‘नेपाल्स नेक्स्ट टप मोडल’को जजमा अस्मी र अनुपविक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १४:५८
पूर्वमिस नेपाल अस्मी श्रेष्ठ (बायाँ) र अभिनेता अनुपविक्रम शाही (दायाँ) ।

काठमाडौं । फेसन र मोडलिङ सम्बन्धी टेलिभिजन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’को जजमा पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र अभिनेता तथा मोडल अनुपविक्रम शाही जोडिएका छन् ।

हिमालय टिभीले केही दिनअघि आयोजना गरेको समारोहमा यी दुई सेलिब्रेटीलाई निर्णायकको रुपमा चिनाइएको हो । शोका ४ जजमध्ये बाँकी दुई जज यसैसाता टुंग्याइने टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जनाए ।

अस्मी चाहिँ यसमा जजसहित होस्टको रुपमा पनि देखिनेछिन् । ‘यसमा होस्ट पनि जजकै रुपमा हुनेछ’ कँडेलले भने, ‘बाँकी जजहरू यो साता टुंग्याइनेछ ।’ साथै, कार्यक्रमको डिजिटल अडिसन पनि सुरु भएको छ ।

१६ वर्ष नाघेका, नेपालीमूल वा नेपालीभाषी इच्छुकले एक महिनासम्म आवेदन दिन सक्ने जनाइएको छ । बैशाखदेखि प्रसारण लक्ष्य राखिएको यो शो नेपालको पहिलो फेसन तथा मोडलिङ रियालिटी हुनेछ ।

‘विभिन्न विधाका संसारभरका नेपाली युवालाई जोड्ने हिमालय टिभीको प्रयत्नस्वरुप कार्यक्रम हुन लागेको हो’ कँडेलले भने, ‘फेसन, मोडलिङ र स्टाइल युवाको आकर्षण हुने क्षेत्र हो । नेपालमा त्यो वर्ग छ जसले फेसन डिजाइनिङ र मनोरञ्जनमा रुचि राख्छ । साथै, महिला सशक्तीकरण यसको उद्देश्य हो ।’

यो शोलाई ‘भ्वाइस अफ नेपाल’का निर्देशक समेत रहेका लक्ष्मण पौड्यालले निर्देशन गर्नेछन् । कुल २० भागको हुने शोमा १४ भागको ‘वान टाइम’ सुटिङ हुनेछ भने बाँकी दर्शकको मत र जजको निर्णयको आधारमा विजेता छनोट हुनेछन् ।

‘नेक्स्ट टप मोडल’ रियालिटी शोको सुरुवात अमेरिकाबाट भएको हो । टायरा ब्यांक्सले सिर्जना गरेको ‘टप मोडल’को अवधारणा अहिले विश्वका विभिन्न मुलुकमा फ्रेन्चाइजको रुपमा प्रसारण हुँदै आएको छ । भारतमा मलाइका अरोराले भारतीय संस्करण सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?